अनुगमनका नाममा गलत प्रचार नगराऊ: नाडा «

अनुगमनका नाममा गलत प्रचार नगराऊ: नाडा

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुसन्धानकै क्रममा अनावश्यक प्रचार गरेकोप्रति नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । पछिल्ला दिनमा सवारीसाधन बिक्री गर्ने व्यावसायिक फर्ममा भइरहेको अनुगमन र कारबाहीले व्यवसायीलाई हतोत्साहित गर्ने काम गरेको नाडाले उल्लेख गरेको छ । सरकारी टोलीलाई अनुगमनका लागि सहयोग गर्ने र मिडियालाई बहकिएर समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । सत्यतथ्य बाहिर नआई त्यस्ता समाचारले समाजमा भ्रम सिर्जना गर्ने भएकाले त्यसो नगर्न नाडाले आग्रह गरेको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट अनुगमन हुँदा कालोबजारी ऐन, २०३२ बमोजिम बढी मुनाफा भयो भन्ने सम्बन्धमा अनुसन्धान गरिरहेको छ । केही मिडियाले अनुसन्धानको क्रममा रहेको विषयलाई प्रभाव पार्ने गरी समाचार बनाएर समाजमा भ्रम उत्पन्न गराएको भन्दै यसो नगर्न अनुरोध गरेको हो ।
नाडाले विज्ञप्तिमा भनेको छ, “नेपाली नागरिकले स्वतन्त्र रूपमा व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हकको संरक्षण होस् र सर्वसाधारणमा कुनै पनि किसिमको भ्रम उत्पन्न नहोस् भन्ने हाम्रो आशय हो ।” नेपालमा आयात हुने सवारी साधनमा लाग्ने भन्सार, अन्तः शुल्क, मूल्य अभिवृद्धि करलगायतका राजस्व तिरी कारोबार हुदै आएको छ । त्यसमा लाग्ने प्रत्यक्ष लागत खर्च, बैंकको ब्याज, प्रशासनिक खर्च, बजारीकरण खर्चलगायतका नियमित खर्च जोडी लागत गणना गर्ने प्रचलित सर्वमान्य लेखाको पद्धतिबमोजिम गणना गरी सामान्य मुनाफा जोडी बिक्री मूल्य कायम गर्ने गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक ऐनबमोजिम यसरी गणना गरिएको बिक्री मूल्य प्रत्येक चार–चार महिनामा प्रकाशित गरी सरोकारवाला सबैलाई सुसूचित गराउँदै आएको नाडाले दाबी गरेको छ । यसरी कारोबार गर्दै आएका हाम्रा केही सदस्य प्रतिष्ठानहरूको अनुसन्धान हुँदै गर्दा २०३२ सालमा बनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवाला दिँदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजाय गर्न प्रहरीलाई लेखी पठाएको भन्ने सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्