कोरोना माहामारीपछि नेपालको पर्यटन

कोरोना महामारीपछि सबैभन्दा धेरै विदेशी पर्यटकको आगमन भएको भनेको गत अक्टोम्बर महिना हो । सो महिना एकै महिनामा ८८ हजार ५ सय ८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सन् २०१९ को डिसेम्बर अन्तिम ताका उत्तरी छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको प्रान्तीय राजधानी वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) फ्लुको महामारीले गर्दा नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटन आगमनमा गिरावट आएको थियो । हुन त कोरोेना महामारीले हालसम्म पूर्ण रूपमा विश्राम लिएको छैन । बरु विगतका दुई वर्षको अवधिमा विश्वभरि दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, सातौं, आठौं चरणसम्म कोरोना महामारी पैmलियो । त्यसो त पछिल्लो पटक भने खासै कोरोना फैलिएको छैन ।
फलतः चीनलगायत विश्वका धेरै देशले बन्दाबन्दी हटाएका छन्, आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपर्ने नियम पनि हटाएका छन् । साथै, चीनले ठूलठूला एयरलाइन्सहरू जस्तै- एयर चाइना, चाइना साउदर्न, इस्टर्न चाइना आदिलाई युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्टे«लिया, अफ्रिका, एसियालगायतका देशमा उडान गर्न दिने निर्णय गरिसकेको छ । गत दुई वर्षको तुलनामा सन् २०२२ मा विदेशी पर्यटक बढेसँगै नेपालमा रहेका हिमाल आरोहण गर्न आएका पर्वतारोहीको संख्या पनि केही बढेको देखिन्छ ।
सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ (अघिल्लो वर्षको तुलनामा लगभग ८२ प्रतिशतले कम) र २०२१ मा १ लाख ५० हजार ९ सय ६२ (अघिल्लो वर्षको तुलनामा लगभग ३४ प्रतिशतले कम) जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । जबकि सन् २०१९ मा हालसम्मकै बढी अर्थात् ११ लाख ९७ हजार ९१ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेको कीर्तिमानी तथ्यांक थियो ।
त्यस्तै, नेपाली पर्वतारोहण क्षेत्रको कुरो गर्नुपर्दा यो वर्ष (सन् २०२२) को वसन्त र शरद ऋतुमा विगतका वर्षहरूमा भन्दा केही बढी संख्यामा विदेशी पर्वतारोहीहरू नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका छन् । अझ सन् २०२२ को वसन्त ऋतुमा भन्दा शरद ऋतुमा धेरै विदेशी पर्वतारोही नेपालमा रहेका हिमाल आरोहण गर्न आएको देखिन्छ । त्यसैगरी नेपालको पर्वतारोहण क्षेत्रमा अरू वर्षको तथ्य-तथ्यांकभन्दा यो वर्षको तथ्य–तथ्यांकमा केही फरकपन पनि आएको देखिन्छ ।
खासगरी यो वर्ष मनास्लु हिमाल आरोहणका लागि विगतका वर्षमा भन्दा केही बढी पर्वतारोहीले अनुमति लिएको तथ्यांक छ । हुन पनि ठ्याक्कै मनास्लु हिमाल आरोहण गर्ने समयमै अकस्मात् हिमपहिरो आएकाले गर्दा तीन जना पर्वतारोहीले सो हिमपहिरोमा परेर आफ्नो ज्यान गुमाएका थिए । तीमध्ये दुई जना त थिए भने एक जना विदेशी (महिला) थिइन् ।
यसरी तथ्य-तथ्यांक हेर्दा यसपालिको शरद ऋतुमा नेपालका सानाठूला गरी ४१ वटा हिमाल आरोहणका लागि ७७ देशका १ हजार २ सय ३८ जना पर्वतारोही आएका थिए । स्मरणीय छ, नेपाल सरकारले हालसम्म नेपालका ४ सय १४ वटा हिमाल पर्वतारोहणका लागि खुला गरेको छ । त्यसो भए तापनि पुग-नपुग १ सय हाराहारी हिमालमात्रै विभिन्न देशका पर्वतारोहीले आरोहण गर्ने गरेको तथ्यांक रहेको देखिन्छ ।
नेपाली पर्यटनको सन्दर्भमा भन्नुपर्दा विदेशी पर्यटक आउन थालेको खासै धेरै समय भएको छैन । हुन पनि १ सय ४ वर्षे राणाशासन कालमा जोकोही विदेशी खुला रूपमा नेपाल आउन पाउँदैनथे । १ सय ४ वर्षे राणाशासनको अन्त्यपछि चाहिँ नेपालमा विदेशी नागरिकलाई खुला रूपमा भ्रमण गर्न दिन थालियो । यसरी राणाशासन कालमा विदेशीहरूलाई नेपालको भ्रमण गर्न बन्देज लगाएकैले गर्दा हालसम्म पनि नेपाली पयर्टनले राम्रोसँग फस्टाउने अवसर पाएन भन्दा अतिशय नहोला कि ? जसको असर हालसम्म पनि परिरहेकै छ ।
त्यसो त वि.सं. २००७ को राजनीतिक परिवर्तनदेखि २०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएन । त्यसो त राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कू’ पछि पनि केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको सुरुवात गरेका थिए । त्यसमा पनि बेलायती, जर्मन, जापानिज, स्वीस, रूसी, फ्रान्सिसी आदि विदेशी नागरिकले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा सुरुमा धेरै नै योगदान दिएका थिए ।
ती विदेशीहरू, जो नेपाल आएर बसेका थिए, उनीहरू सुरुमा शुद्घ पर्यटन व्यवसायीको रूपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल आएर बसेका थिए । जे भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय उत्पादनहरू बेच्न जस्तै- पदयात्रा, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, एथ्निक ग्रुप चिनाउने, नेचर, कल्चर, वन्यजन्तु आदिको बजार विस्तार गर्न विदेशी पर्यटन व्यवसायीहरूबाटै सुरु भएको हामीले स्विकार्नुपर्ने हुन्छ ।
तर, ३० वर्षे पञ्चायती शासनकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन । सन् १९८९/९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकको संख्याले पनि लाखको संख्या नाघ्न थाल्यो । प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्त्व पाउन थाल्यो भन्न सकिन्छ । बीचको प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटन विकास र विस्तारका लागि खासै गर्व गर्नलायक कामचाहिँ केही गरेन ।
हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्याफ्टिङ) मा जाने पर्यटकलाई अनुमति दिएबापत उनीहरूबाट मनग्य शुल्क असुल्ने काममा भने हेरविचार गरिएन । बरु उल्टै नषेधित क्षेत्रबाट झनै महँगो शुल्क लिने गर्यो । सरकारले अहिले पनि निषेधित क्षेत्रबाट त मनग्य शुल्क असुलिरहेकै छ । हो, पर्यटन क्षेत्रमा त्यो बेलाको सरकारले गरेको काम, जसलाई बाहिरबाटै देख्न सकिन्छ, त्यो भनेको ‘पर्यटन बोर्ड’को गठन हो ।
समग्रमा हेर्दा वि.सं. २०६२/०६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको थियो । त्यसो भए तापनि विदेशी पर्यटकले नेपालमा आएर गर्ने दैनिक खर्च र उनीहरूको प्रतिव्यक्ति प्रतिदिन नेपाल बसाइ भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यस्तै सन् २०१५ मा आएको प्राकृतिक विपत्ति (भूकम्प) र भारतको अघोषित नाकाबन्दीले नेपाली पर्यटन अरू थिलथिलो भएको थियो ।
हुन पनि नेपाल भ्रमणमा आएका विदेशी पर्यटक संख्याको तथ्यांक नै हेर्ने हो भने सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ जना विदेशी पर्यटक नेपाल आएका थिए । त्यस्तै सन् २०१५ मा चाहिँ जम्मा ५ लाख ३८ हजार ९ सय ७० जना विदेशी पर्यटक मात्रै नेपाल आए । सन् २०२२ लागेसँगै भने पर्यटन क्षेत्रले केही न केही गति लिएको छ । सन् २०२२ को ११ महिनामै नेपालमा ५ लाख ४६ हजार २ सय १३ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् । जुन सन् २०२० को तुलनामा दोब्बरभन्दा बढी र २०२१ को तुलनामा तेब्बरभन्दा पनि बढी हो ।
अबको एक महिनामा केही नभए पनि ६०/६५ हजार विदेशी पर्यटक नेपाल आउन सक्ने सम्भावना छ । यसरी हेर्दा सन् २०२२ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ६ लाख नाघ्न सक्छ । त्यसो त ‘कोभिड–१९’ महामारीपछि सबैभन्दा धेरै विदेशी पर्यटकको आगमन भएको भनेको गत अक्टोम्बर महिना हो । सो महिना एकै महिनामा ८८ हजार ५ सय ८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
त्यसैगरी २०२२ को जनवरीमा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५ सय ८९, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९ सय ५७, जुलाईमा ४४ हजार ४ सय ६२, अगस्टमा ४१ हजार ३ सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय १४ जना र नोभेम्बरमा ७२ हजार ६ सय ५३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । जे होस्, सन् २०२२ मा औसतमा हरेक महिना ५० हजार विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्, जुन हाम्रा लागि सुखद संयोग नै हो ।
आगामी वर्षहरूमा विदेशी पर्यटक आगमन दरलाई कम्तीमा पनि मासिक ८५/९० हजार हुँदै १ लाख ५०/६० हजारसम्म पुर्याउने लक्ष्य लिनुपर्नेछ । नेपाल आउने विदेशी पर्यटक संख्याको दर बढेको बढ्यै गरोस् वा कायमै रहोस् भन्ने सन्दर्भमा के भन्न सकिन्छ भने छिमेकी देशहरू भारत र चीनका खर्चालु पर्यटकहरूलाई पनि हामीले सक्दो आकर्षित गर्दै लानुपर्ने नीति लिनुपर्ने हुन्छ ।
किनभने, नेपालमा जतिसक्दो छिटो जत्ति पनि खर्च गर्न धक नमान्ने खर्चालु पर्यटक संख्या ठूलो पैमानामा नबढेसम्म नेपाली पर्यटन क्षेत्रमा सुधार हुने देखिँदैन । साथै, अर्बौं-अर्ब लगानी गरेर बनाइएका नेपालका तारे होटलहरूले तत्कालै कमाइ गर्ने सम्भावना नरहेको मात्रै होइन कि उनीहरूको खर्च धान्न पनि मुस्किल हुने देखिन्छ ।
कोभिड–१९ को महामारीअघि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको तथ्य-तथ्यांक हेर्दा नेपाल भ्रमण गर्न आउने प्रमुख पाँच देशमा छिमेकी देशहरू भारत र चीन नै पहिलो र दोस्रो स्थानमा रहने गरेका थिए भने कोरोना महामारीले विश्राम लिएपछि पनि भारत र चीनकै पर्यटकहरू नेपाल भ्रमण गर्ने पहिलो र दोस्रो विदेशी पर्यटकको स्थान ओगट्ने देश हुनेछन् ।