भोलिदेखि पोखरामा लेखनाथ महोत्सव «

भोलिदेखि पोखरामा लेखनाथ महोत्सव

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पोखराको तालचोकमा भोलि (बिहीबार)देखि १८औं संस्करणको लेखनाथ महोत्सव हुने भएको छ । महोत्सवमा ३ सय ३७ वटा स्टल रहने छन् ।

१८ पुससम्म सञ्चालन हुने उक्त महोत्सवमा फुड फेस्टिबल, औद्योगिक व्यापार मेला, अटोमोबाइल प्रदर्शनी, वित्तीय, सेवामूलक, स्थानीय क्षेत्रमा उत्पादित वस्तु, सुन्तला, माछा, मौरी, कफि, दुग्ध उत्पादनसहित विभिन्न व्यापारिक स्टल रहने महोत्सवस्थल तालचोकमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

महोत्सवमा शिक्षा, स्वास्थ्य, खेलकुदका सामग्रीका साथमा सूचना प्रविधि तथा सञ्चार उपकरण पर्यटन र लेखनाथ क्षेत्रका गतिविधिसमेत समेटिने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताए । १२ दिनसम्म चल्ने महोत्सवमा दुई लाख ५० हजार दर्शक भित्र्याउँदै १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष आत्रेयले बताए ।

सगरमाथा इस्न्योरेन्स कम्पनीको मुख्य प्रायोजनमा हुने उक्त महोत्सवले कोभिड–१९, रुस र युक्रेनबीचको युद्धले प्रभावित भएको अर्थतन्त्रलाई थोरै भए पनि चलायमान बनाउन आफूहरूले अपेक्षा गरेको उनले जनाए । राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजनमा सञ्चालन हुने महोत्सवमा घरेलु तथा नेपाली परम्परागतका हस्तकला एवं उद्योगलाई प्रवर्द्धन गर्न करिब १० वटा स्टल निःशुल्क व्यवस्था मिलाएको महोत्सवका प्रचारप्रसार संयोजक राजेन्द्र ओझाले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिस्कृत र परिमार्जन गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको संघले जनाएको छ । महोत्सवबाट ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भई १० लाख बचत हुने संघले अपेक्षा गरेको छ ।

बचत रकमबाट प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताललगायतका पर्यटकीय स्थलको प्रवर्द्धननमा खर्च गरिने योजना रहेको प्रचार संयोजक ओझाले बताए । महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरी यस क्षेत्रको आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघुघरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्ने योजना रहेको उनले जनाए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरूको प्रवद्र्धन, जातीय, भेषभूषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरी आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने समेत लक्ष्य लिएको छ । महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिको सम्मानमा लोप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहने छन् ।

महोत्सवमा ख्याति प्राप्त हास्यव्यंग्य कलाकारको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट थप आकर्षणका रूपमा रहने छन् । पोखराको सडक महोत्सवसँग लेखनाथ महोत्सव एकै समयमा पर्ने गर्दा असर पर्छ कि भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष आत्रेयले कवि लेखनाथको जन्मको अवसरमा, तमुहरुको महान पर्व ल्होछार पर्व र क्रिसमस पर्व लक्षित आफूहरूले यसै मितिमा गर्नुपर्ने बाध्यता रहेको बताए । पोखरा सडक महोत्सव गर्ने रेवान पोखरासँग आफूहरूको सहकार्य हुने गरेको एक अर्काेलाई सहयोग भएको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्