विद्युतमा आत्मनिर्भर बन्दै जुम्ला

जुम्लामा एकपछि अर्को ठूला जलविद्युत आयोजना निर्माण तथा सौर्यऊर्जा जडानका काम भइरहेका छन् । बत्तीमुनिको अँध्यारोबाट गुज्रिरहेका जुम्लाका सबै ग्रामीण बस्ती झिलिमिली हुन अब धेरै समय कुर्न नपर्ने देखिन्छ । आठ स्थानीय तह रहेको जुम्लामा २ सय १८ वटा गाउँ छन् । जसमध्ये ६० प्रतिशत गाउँ भने हालसम्म टुकीकोभरमा दिनगुजरा गर्न बाध्य छन् ।
अबको २/३ वर्षमा जुम्ला पूर्ण उज्यालो जिल्ला बन्ने सम्भावना देखिएको छ । विद्युत अभावले उद्योग कलकारखाना नहुँदा स्थानीय उत्पादन कुहिने अवस्थामा छ । श्रमअनुसारको मूल्य पाइएको छैन भने सम्भावना भएर पनि बेरोजगारी बढ्दो छ । तर पछिल्लो समय जुम्लाले विद्युत विकासले लिएको गतिलाई हेर्दा केही वर्षमा विद्युतबाटै आत्मनिर्भर जिल्ला बन्ने देखिन्छ ।
चुकेनी विद्युत आयोजना धमाधम निर्माण
जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिका–१ गडीगाउँमा अवस्थित ९ सय ९८ किलोवाट क्षामताको ‘चुकेनी जलविद्युत आयोजना’ निर्माणको ६० प्रतिशत काम सकिएको छ । अबको ६ महिनाभित्र बत्ती बाल्ने गरी आयोजनाको काम द्रुत गतिमा भइरहेको छ । हालसम्म विद्युतगृहको ड्याम साइड, नहर, विद्युतगृहको भवनको प्रारम्भिक निर्माणकार्य सकिएको छ भने विद्युतगृह निर्माण र पाइपलाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ ।
अब पावर हाउसलगायतका संरचनाको फिनिसिङको काममात्र बाँकी रहेकाले ६ महिनाभित्र बत्ती बाल्ने लक्ष्य रहेको चुकेनी विद्युत सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले बताए । यो जिल्लाकै गौरवको आयोजना हो । उनले भने, “यस आयोजनामा पालिकाको पनि सेयर लगानी छ । आयोजना निर्माणमा ४६ करोड लाग्ने अनुमान छ । आयोजना निर्माणपछि जुम्लाका ग्रामीण बस्ती उज्यालिने छन् भने पातारासीका तीन हजार ३ सय २० र चन्दननाथका चार हजार २ सय ७१ घरधुरी लाभान्वित हुनेछन् ।” वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट २५ करोड ९९ लाख ३ हजार बजेट छुट्याएको समेत अध्यक्ष बुढाले जानकारी दिए ।
साथै चुकेनी जलविद्युत आयोजना निर्माणका लागि पातारासी गाउँपालिकाले दुई करोड सेयर लगानी गरेको पातारासीका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए । पालिकाका तीन हजार ३ सय २० घरधुरीको नाममा सेयर लगानी गरिएको उनको भनाइ छ । ६ महिनाभित्रै बत्ती बाल्ने लक्ष्यअनुसार पोल गाडेर तार लैजाने पावरहाउसका लागि जेनेरेटर, टर्बाइन सेट, प्यानल बोर्ड, ओभरहेड क्रेनलगायतका मेसिन ल्याइसकिएको मेगा हाइड्रो इन्जिनियरिङका सबइन्जिनियर चन्द्रबहादुर मगरले जानकारी दिए ।
संघीय ऊर्जा मन्त्रालयको ३५ अर्ब लगानीमा १५० मेघावाट क्षमताको (जवा–तिला) जलविद्युत आयोजना निर्माणको प्रक्रियासमेत अघि बढेको छ । यसले समग्र जुम्लाका आठै पालिकामा पर्याप्त विद्युत पुगेर कर्णाली र मुलुकलाई नै विद्युत निर्यात गर्न सकिने छ ।
पातारासीमै डेढ दर्जन विद्युत आयोजना
जिल्लाका आठ स्थानीय तहमध्ये पातारासी विद्युतमा आत्मनिर्भर पालिका हो । स्थानीय सरकार सञ्चालनमा आएदेखि पातारासीमा नयाँ–पुराना १५ देखि १ सय किलोवाटसम्मका १६ वटा लघुजलविद्युत आयोजना सञ्चालनमा छन् । निकट भविष्यमै जिल्लाकै पहिलो उज्यालो पालिका घोषणाको तयारीमा रहेको पातारासीका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।
पालिकाका ३४ सय घरधुरी नै हाल विद्युतीय पहुँचमा पुगेका छन् । विद्युतीय विकासमा दुर्गम पातारासीले सुगमलाई पनि चुनौती दिएको छ । उनले भने, ”हाल सञ्चालित १६ वटा विद्युत आयोजनाको मर्मतका लागि पालिकाले आवश्यक बजेट छुट्याइएको छ । विकासको मेरुदण्ड मानिने विद्युत विकासमा जोड दिँदा साना उद्योगी, विद्यार्थीलगायत उपभोक्तालाई राहत भएको छ ।”
जसमा पातारासीमा ५८ किलोवाटको बिउरेनी विद्युत आयोजना, २५ किलोवाटको लुम विद्युत आयोजना, २५ किलोवाटकै तल्फी जलविद्युत आयोजना, ४५ किलोवाटको त्रिवेणी जलविद्युत आयोजना सञ्चालित छ । साथै, २५ किलोवाटको माथि लोर्पा विद्युत आयोजना, रिनीमा ९ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत आयोजनालगायत १६ वटा नयाँ–पुराना आयोजना सञ्चालनमा छन् । १६ वटा आयोजनामध्ये ११ वटा आयोजनाबाट मात्रै सदरमुकामको भन्दा ठूलो करिब २ सय ५० किलोवाटको बत्ती नियमित बलिरहेको छ ।
सौर्य उर्जा विकासमा जोड
जुम्लामा राष्ट्रिय प्रसारणलाइन पुगे पनि दूरी लामो भएकाले भरपर्दो छैन । जलविद्युत उत्पादननै उत्तम विकल्प हो । तर जुम्लामा जलविद्युतको विकाससँंगै सौर्यऊर्जाको विकासमा पनि फड्को मारेको देखिन्छ । जुम्लाको गुठिचौर गाउँपालिका–२ मा पर्ने मुडुरी गाउँलगायत वडाभरिका करिब २ सय बढी घरधुरी विद्युतको पहुँचमा पुगेका छन् ।
करिब ५० किलोवाट क्षमताको सौर्यऊर्जामा तीन करोड ५६ लखा रुपैयाँ लगानी गरिएको छ । सौर्यऊर्जाले ग्रामीणस्ती झिलिमिली भएपछि नागरिक खुसी छन् । त्यस्तै, तिला गाउपालिका–७ को पोख्रीगाउँमा पनि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तीन करोड ३४ लाख ९६ हजार तिलाको ३० लाख रुपैयाँ लगानीमा सौर्यऊर्जा जडान भएपछि त्यहाँका १ सय २० घरधुरी विद्युतको पहुँचमा पुगेका छन् ।
जुम्लामा निर्माण भइरहेका, सञ्चालनमा आएका र निर्माण प्रक्रियामा रहेका साना ठूला जलविद्युत तथा सौर्यऊर्जा आयोजना निर्माणले जुम्ला विद्युत विकासको अग्रपंक्तिमा रहेकाले विद्युतमा आत्मनिर्भर बन्ने सम्भावना बढेको छ ।