Logo

पेट्रोलियम पाइपलाइन परीक्षण सुरु

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप बिछ्याउने काम सकिसँगै यसको परीक्षण (टेस्टिङ) सुरु भएको छ । पाइप बिच्छ्याउने काम सकिएसँगै परीक्षण सुरु गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
अहिले पाइपलाइनको हाइड्रो टेस्टिङ भइरहेको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । विशेषगरी यसमा लिकेज छ कि छैन, नट जडानहरू राम्रोसँग भएको छ कि छैन भन्ने कुराको परीक्षण गरिएको उनले जानकारी दिए । पाइपलाइनको परीक्षण गर्न एक महिनासम्म लाग्ने उनको भनाइ छ । पाइपलाइनसम्बन्धी प्राविधिक ज्ञान लिनका लागि निगम कर्मचारी भारतको लखनउ गएका छन् । परीक्षणपश्चात् पाइपलाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ ।
भारतको मोतीहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)को ऋण सहयोगमा निर्माण भइरहेको पाइपलाइनको पहिलो चरणअन्तर्गत पाइप बिछ्याउने काम सकिएको हो । मोतीहारी–अमलेखगन्ज रुटमा ६९.९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सोलसम्म ३२.६५ किलोमिटर छ ।
नेपालतर्फ रक्सोलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ । यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको हो । नेपालतर्फ ३.६ किलोमिटरमा ड्रिलिङ गरेरसमेत पाइप राखिएको छ । परवानीपुरमा २ किलोमिटर र जितपुरमा १.६ किलोमिटर बजार क्षेत्रमा ८ देखी १६ मिटरसम्म जमिनुमनि ड्रिलिङ गरी पाइप बिछ्याइएको छ । बाँकी ठाउँमा सिमेन्टको क्यानल बनाएर पाइप राखिएको छ ।
पाइपलाइन परीक्षणका लागि निगमका कार्यकारी निर्देशक सरेन्द्रकुमार पौडलसहितका प्रतिनिधि सोमबार अमलेखगञ्ज गएका छन् । निर्माण सम्पन्न भएपछि अब व्यवस्थापनको काम अघि बढाइने भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडान तथा परीक्षण, भण्डारणको निर्माणको काम सम्पन्न हुने निगमले जनाएको छ । असार १५ गतेसम्म निर्माण कार्यका सम्पूर्ण काम सम्पन्न भइ पाइपबाट तेल ल्याउने तयारी गरिएकोे प्रवक्ता गोइतको भनाइ छ ।
परीक्षणपछि तेल ल्याउने मिति नेपाल र भारतबीचको छलफल र समझदारीबाट तय गरिने भएको छ । अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणका लागि संरचना निर्माण अन्तिम चरणमा छ । १ लाख किलोलिटरका दुई र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्यांकी तयारी अवस्था रहेको निगमले जनाएको छ ।
भारतीय आयल कर्पाेरेसन (आइओसी) र निगमको संयुक्त लगानीमा निर्माण भएको छ । भारतको २ अर्ब र निगमको ७५ करोड भारु लागतमा सम्पन्न सो परियोजना सम्पन्न भएको हो । पाइपलाइनबाट तेल आयात गर्दा वार्षिक रूपमा झन्डै २ अर्ब रुपैयाँ बचत हुनेछ । बरौनी र रक्सोल नाकाबाट इन्धन ढुवानी गर्दा अहिले २ अर्ब ३५ करोड लागत लाग्ने गरेको छ । पाइपलाइनबाट तेल ल्याउँदा ढुवानीबापतको २ अर्ब रुपैयाँ बचत हुनेछ । साथै ढुवानी खर्च वचत भएपछि उपभोक्ताले सस्तो मुल्यमा तेल पाउनेछन् । रक्सोलदेखि अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन ढुवानी गर्दा प्रतिलिटरमा ६० पैसा कम हुने गर्छ । तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच २०७२ भदौ ७ मा पेट्रोलियम पाइपलाइन परियोजनाको सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्