Logo

दोलखामा विज्ञान शैक्षिक प्रदर्शनी

दोलखामा विद्यालयस्तरीय विज्ञान शैक्षिक प्रदर्शनी भएको छ । ‘विज्ञान र प्रविधिमा लगानी विस्तार समुन्नति र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एक दिने प्रदर्शनीमा विद्यालय तहका विद्यार्थीले अध्ययनका सिलसिलामा बनाएका विज्ञानका शैक्षिक सामग्री राखिएको थियो ।

पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयको व्यवस्थापनमा शिक्षा विकास तथा समन्वय इकाई, दोलखाले प्रदर्शनीको आयोजना गरेको हो । प्रतियोगितात्मक रूपमा आयोजना गरिएको प्रदर्शनीमा दोलखाका आठवटा स्थानीय तहका नौ वटा विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री प्रदर्शन गरेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले दोलखाका नौ स्थानीय तहमध्ये हरेक स्थानीय तहका उत्कृष्ट विद्यालयले प्रदर्शनीमा भाग लिएको बताए । दोलखामा भीमेश्वर नगरपालिका दुईवटा विद्यालय सहभागी थिए भने जिरी नगरपालिकाका कुनै विद्यालयले भाग लिएनन् । विद्यालय तहदेखि विज्ञानका सामग्री निर्माणले भविष्यमा वैज्ञानिक बन्ने आधार तय गर्ने उनले बताए ।

परम्परागत रूपमा चल्दै आएका सामग्री आधुनिकतासँगै हराउँदै आएको छ । परम्परादेखि प्रयोगमा आएका सामग्री विज्ञानकै नमुना हुन् । देशलाई विकास गर्न वैज्ञानिक आविष्कारमै ध्यान दिनुपर्नेमा अवलोकनकर्ताहरूले जोड दिएका छन् । विद्यालय तहका विज्ञानमा पठाइ हुने भौतिकशास्त्र, मेकानिकल, जीव विज्ञानसँग सम्बन्धित स्काभेटर, भवन, सोलारबाट विद्युत उत्पादन प्रणाली, मुटुको भागलगायतका सामग्री विद्यार्थीले प्रदर्शनीमा राखेका थिए ।

विगतमा विज्ञान विषय पास गर्नका लागि पढ्ने र पढाउने गरिन्थ्यो । विगतमा पास मात्र गराउने गरी विज्ञान पढाइ हुँदा देशमा दक्ष जनशक्ति उत्पादन हुन सकेनन् । देशमा आवश्यक वस्तु विदेशीकै भर पर्नुपर्ने स्थिति आएकाले अब विज्ञान विषयलाई प्रतिस्पर्धी बनाउनुपर्ने भीमेश्वर नगरपालिकाका मेयर इश्वरनारायण मानन्धरको भनाइ छ । विज्ञान सामग्री प्रदर्शनीमा गाउँगाउँका सामुदायिक विद्यालयकै विद्यार्थी उत्कृष्ट भए ।

जिल्लाभरका उत्कृष्ट नौ वटा विद्यालयमध्ये एउटा मात्र निजी विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा त्रिभुवन मावि मेलुङ प्रथम, मोडर्न नेपाल चरिकोट दोस्रो, हनुमन्तेश्वर मावि काभ्रे दोस्रो र शान्ति आदर्श मावि लादुकले सान्तोना पुरस्कार प्राप्त गरेको छ । जिल्लाबाट उत्कृष्ट विद्यार्थीलाई प्रदेशस्तरको विज्ञान शैक्षिक सामग्री प्रदर्शनीमा भाग लिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्