Logo

बागमतीका औद्योगिक क्षेत्रमा आठ खर्ब कर्जा लगानी

बागमती प्रदेशमा बैंक तथा वित्तीय क्षेत्रले गत आर्थिक वर्षमा ६ प्रतिशत कम औद्योगिक कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले आठ खर्ब ४२ अर्ब ६६ करोड रुपैयाँ औद्योगिक कर्जा प्रवाह गरेका हुन् । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले बागमती प्रदेशमा गरेको अध्ययन प्रतिवेदनले सो क्षेत्रमा कर्जा प्रवाह बढेको देखिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा यस्तो कर्जा प्रवाह २५.७ प्रतिशतले वृद्धि भई आठ खर्ब ९६ अर्ब ४२ करोड रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकको प्रतिवेदनअनुसार, यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३२.१ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी ८९.८ प्रतिशत अर्थात् सात खर्ब ५७ अर्ब पाँच करोड रुपैयाँ प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

यस प्रदेशअन्तर्गत रसुवामा सबैभन्दा कम कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । प्रदेशभर प्रवाह गरिएको कुल कर्जा लगानीमध्ये रसुवामा ०.०३ प्रतिशत अर्थात् २६ करोड रुपैयाँमात्रै लगानी रहेको देखिएको छ । अधिकांश औद्योगिक प्रतिष्ठानको केन्द्रीय कार्यालय काठमाडौंमा रहेकाले औद्योगिक कर्जाको उच्च हिस्सा काठमाडौंमा रहेको अध्ययनको निष्कर्ष छ ।

प्रतिवेदनका अनुसार कुल औद्योगिक कर्जामध्ये खानी उत्पादनसम्बन्धी उद्योगमा ११३.१ प्रतिशतले वृद्धि भएको छ भने निर्माणमा ४९ प्रतिशतले ह्रास आएको छ । यसैगरी, विद्युत, ग्यास तथा पानीमा २०.२ प्रतिशतले, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगमा १०.४ प्रतिशतले र गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ९.८ प्रतिशतले कर्जा बढेको छ । कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा भने कर्जा ११.२ प्रतिशतले घटेको प्रतिवेदनले देखाएको छ ।

निक्षेप बढ्यो

बागमती प्रदेशमा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा भने वृद्धि गरेका छन् । यस प्रदेशबाट संकलन गरेको कुल निक्षेप २०७८ असार मसान्तको तुलनामा ९.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार, बागमती प्रदेशमा गत असार मसान्तमा ३५ खर्ब नौ अर्ब ९४ करोड रुपैयाँ कुल निक्षेप संकलन भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा यस्तो निक्षेप १९.२८ प्रतिशतले वृद्धि भएको थियो । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा ११.४ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार, गत असार मसान्तसम्ममा २६ खर्ब २१ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको प्रतिवेदनले देखाएको छ ।

अघिल्लो वर्ष यस्तो कर्जा २८.५ प्रतिशतले वृद्धि भएको थियो । गत असार मसान्तमा कर्जा निक्षेप अनुपात ७४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७३.३ प्रतिशत रहेको थियो । गत असार मसान्तसम्म कुल कर्जाको तुलनामा पुनर्कर्जाको हिस्सा १.६ प्रतिशत रहेको छ । प्रतिवेदनका अनुसार, कुल ४१ अर्ब आठ करोड रुपैयाँ पुनर्कर्जा प्रवाहित भएकोमा साधारण पुनर्कर्जाको हिस्सा ८४.६३ रहेको छ ।

विशेष पुनर्कर्जाअन्तर्गत निर्यात, महिला उद्यम, प्राकृतिक प्रकोप र अन्य गरी चार प्रकारका रहेका छन् । जसमा कुल पुनर्कर्जाको १२.१९ प्रतिशत हिस्सा प्रवाहित भएको प्रतिवेदनले देखाएको छ । लघु, घरेलु तथा साना उद्यममा ३.१८ प्रतिशत रकम प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्