चियाको ‘इनोभेटिब बिजनेस’मा युवाको आकर्षण «

चियाको ‘इनोभेटिब बिजनेस’मा युवाको आकर्षण

मध्य बानेश्वरबाट थोरैभित्र जाँदा जीवन खड्का र गोविन्द साउदले साझेदारीमा दुई वर्षअघि सुरु गरेको चिया पसलले अहिले राम्रो आम्दानी दिन थालेको छ । आम्दानीमात्र नभएर लगानीकर्तासहित पाँच जनालाई रोजगारी पनि दिएको छ । परम्परागत तरिकाले चिया पसल गरेर जीविकोपार्जन गर्ने कमै होलान् तर त्यही चिया बेच्ने शैली परिवर्तन गर्दा दैनिक हजारौं आम्दानी भइरहेको छ ।

मध्य बानेश्वरमा खडका र साउदले गरे जस्तो ‘इनोभेटिब’ चिया व्यापार अहिले सबैका लागि अनुकरणीय बन्दै गइरहेको छ । कोरोना संक्रमणपछि रोजगारी गुमाएका उनीहरूले बीचमै पढाइ छोडर चिया व्यापारमा लागेर राम्रो आम्दानी गरेको बताउँछन् । “केही प्रगति होला र कमाउँला भन्ने लागेको थिएन तर व्यवसाय सोचेभन्दा राम्रो भएको छ,” जीवन खड्काले भने, “जाडो मौसममा तातो र छिटो खाउँ भन्नेका लागि तन्दुरी ‘क्याफे’ सबैको रोजाइमा परेको छ ।”

हामीहरूले चिया पसल सुरु गर्नु अघि कृषि, तरकारी पसल र विभिन्न थरिका व्यापार व्यवसाय सोच्यौं, तर हामीलाई चिया पसल नै भरपर्दाे लागेको उनीहरूको भनाइ छ । पसल गर्न लागेको दुई वर्ष पुग्न लाग्यो । भविष्यमा थप ठाउँमा शाखा खोल्ने योजना बनाएको उनीहरू बताउँछन् । दुई वर्षको अवधिमा चियाको प्रचलन पहिलाभन्दा धेरै बढेसँगै व्यापारसमेत बढेको उनीहरूको दाबी छ ।

“पछिल्लो समय चियाको परिकार पनि स्वादअनुसार आएको छ । पहिला चियाभन्दा कालो, दूधको हुन्थ्यो अहिले मट्का, तन्दुरी, मसला, सादा, कठा चिया, फिका कालो, हरियो चिया विभिन्न थरिका छन् । तर कसलाई कुन मन पर्छ कसलाई कुन तर मट्का तन्दुरी नयाँ र अत्यधिक मिठो भएकाले यो मन पराउने धेरै छन्,” साउदले भने ।

कोरोनाकालमा यसको अवस्था निकै नाजुक थियो तर अहिले अवस्था फेरिएको छ । चिया व्यापारमा यसको लगानी, अवस्था, परिकार र स्थानमा निर्भर रहन्छ । “व्यापारका लागि लगानी यति त्यति भन्न सकिँदैन किन भने यो व्यापार सानो थर्मसमा पनि सय, हजारदेखि करोडसम्म गर्न सकिने काम हो,” उनीहरूले भने, “तर हाम्रोजस्ता चिया क्याफेका लागि १० देखि १५ लाखसम्म आवश्यक पर्छ ।” उनीहरूले दिनमा आठ हजारदेखि बढीमा २० हजारसम्म आम्दानी हुने गरेको बताउँछन् ।

यस्तै गौरीघाटका अविनाश चौलागाईंले विगत तीन महिनादेखि चियामान्डू नेपाल नामको चिया क्याफे खोलेर सञ्चालन गर्दै आएका छन् । अष्ट्रेलिया जान भनेर ठिक्क परेका उनले विदेशमा काम गर्नुभन्दा स्वदेशमा नै केही गरूँ भनेर चियाको स्वाद पस्कन थालेको बताए । अहिलेका चिया पारखी स्वास्थ्यमा सजक रहेको भन्दै उनले विभिन्न फलफूलका स्वादमा चिया दिने भएकाले मानिसहरू बढी आकर्षित भएको उनको दाबी छ । उनले अहिले तीन जनालाई रोजगारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्