Logo

चेपे ‘ए’ निर्माणस्थलमा सुरक्षाको प्रत्याभूति दिन माग

गोरखा र लमजुङको सीमा चेपे खोलामा निर्माण भइरहेको चेपे ‘ए’ जलविद्युत आयोजना निर्माणस्थलमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन आयोजना सञ्चालक कम्पनीले माग गरेको छ । गत २४ मंसिरमा आयोजनामा तोडफोड र आगजनी भएपछि त्यसयता निर्माणका थप काम अघि बढाउन नसकेको भन्दै सञ्चालक कम्पनी चम्पावती हाइड्रोपावर लिमिटेडले सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेको हो ।

गोरखा सदरमुकाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा लगानी र भौतिक संरचनाको सुरक्षाको ग्यारेन्टी नभई आयोजनाको बाँकी काम सुरु गर्ने अवस्था नरहेको लिमिटेडका अध्यक्ष डा. हरिराम पराजुलीले बताए । “हामीलाई सुरक्षा थ्रेट छ,” उनले भने, “कर्मचारी बस्नसक्ने अवस्था छैन । मलाई त ज्यान मार्नेसम्मको टार्गेट रहेको बुझेको छु । लगानी गरेर मुलुकको आर्थिक विकासमा केही गरांैै भन्दा उल्टै धाकधम्की आउँछ । आयोजनामा तोडफोड आगजनी हुन्छ । कसरी काम गर्न सकिन्छ ?”

लमजुङको राइनासटार सिँचाइ आयोजनाको मुहान प्रभावित हुने गरी आयोजनाको पावर हाउस बनाउन थालिएको भन्दै सो क्षेत्रका बासिन्दाले तोडफोड र आगजनी गरेका थिए । राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल नेतृत्वमा आएको स्थानीय बासिन्दाको टोलीले तोडफोड र आगजनी गरेको आयोजना पक्षको भनाइ छ । आक्रोशित राइनासटारवासीले आयोजानको दुई वटा मिनीट्रक, एउटा एक्जाभेटर तथा कर्मचारीको अस्थायी आवासगृहमा आगो लगाइदिएका थिए ।

गोरखाको सिरानचोक गाउँपालिका–२ कुभिण्डेबेसीमा रहेको कार्यालयभित्रका फर्निचरमा पनि तोडफोड गरिएको आयोजनाको निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिका अध्यक्ष डा. हरिराम पराजुलीले जानकारी दिए । “यो घटनाबाट तीन करोड बढीको क्षति भएको छ,” उनले भने, “७ मेगावाट क्षमताको आयोजनामा तोडफोड र आगजनीका कारण भएको भौतिक क्षति, आयोजना निर्माणमा हुन जाने ढिलाइले गर्दा लागत बढ्ने तथा आम्दानी घटन गई झण्डै ३३ करोड ४० लाख रुपैयाँको क्षति रहने देखिन्छ ।”

चेपेखोलाबाट २०४९ सालदेखि सञ्चालन हुँदै आएको सिँचाइ आयोजनाको इन्टेक नै मासिने गरी आयोजना निर्माण गरिएको भन्दै राइनासका बासिन्दाले विरोध जनाउँदै आएका छन् । तर आयोजनाका अध्यक्ष पराजुलीले भने पावर हाउसबाट निकास हुने पानीले सिँचाइ आयोजनाको इन्टेकमा प्रभाव नपार्ने दाबी गर्छन् । “नहर संरक्षणका लागि आयोजना पनि संवेदनशील छ,” उनले भने, “राइनास नहरको मुहान चिल्ली खोला र चेपेखोलाको दोभानभन्दा तल छ ।

आयोजनाको डिजाइनअनुसार पावरहाउसको टेलरेसबाट निस्कने पानी चेपे खोला र चिल्ली खोलाको दोभानभन्दा माथि फाल्ने गरी बनाइएको छ । यसले राइनासको नहरमा जाने पानीको बहाब यथावत रहन्छ र नहरलाई कुनै असर पर्दैन ।” आयोजनाले आईईई रिपोर्ट र डीपीआरअनुसार काम नगरे विद्युत प्राधिकरणले बिजुली नकिन्ने भएकाले पनि प्राविधिक कमजोरी नहोस् भन्नेमा आयोजना सचेत रहेको डा. पराजुलीले बताए ।

तोडफोड र आगजनीमा संलग्न आठ जनाविरुद्ध आयोजनाले जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी पनि दिएको उनले बताए । स्थानीयका जायज विषयमा संवादका माध्यमबाट समाधान खोज्न सधै सकारात्मक रहेको उनले जानकारी दिए । आयोजनाको हालसम्म ६० प्रतिशत निर्माण कार्य पूरा भएको छ । आयोजनाको लागत एक अर्ब ३२ करोड रुपैयाँ अनुमान गरिएको छ ।

३० प्रतिशत स्वपुँजी रहेको छ भने ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिइएको पराजुलीले जानकारी दिए । जल विद्युत आयोजनाका संरचना भने लमजुङको दूधपोखरी र गोरखाको सिरानचोक गाउँपालिकामा बनिरहेको छ । प्रतिमेगावाट करिब १८ करोड ५० लाख रुपैयाँ पर्न जाने उक्त आयोजनाको हालसम्म करिब ७० प्रतिशत काम पूरा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्