Logo

कतार विश्वकप पूर्वाधार निर्माणमा क्षतिपूर्ति विवाद

विश्वले क्षतिपूर्ति माग्दा हामीसँग तथ्यांकै छैन

मध्यपूर्वको एउटा सुन्दर देश कतार अहिले दुई किसिमबाट चर्चामा छ । संसारको सबैभन्दा लोकप्रिय खेल विश्वकप फुटबललाई अहिले कतारले आतिथ्यता गरिरहेको छ । आइतबार बेलुका साविक विजेता फ्रान्स र अर्जेटिना उपाधिका लागि भिडदैछन् ।

विश्वकप फुटबल आयोजना गरेर चर्चामा आएको कतारले रंगशालालगायत विश्वकपका लागि पूर्वाधार निर्माण गर्दा श्रमिक एवं मजदुरलाई आर्थिक शोषण गरेको र कैयौंको ज्यान जाँदा पनि उचित क्षतिपूर्ति नदिएको भन्दै आलोचना खेपिरहेको छ । पश्चिमा मुलुकहरुले कतारलाई मानव अधिकार हनन् गरेको गम्भीर आरोप पनि लगाइरहेका छन् । विश्वकप फुटबल आइतबारदेखि सकिने छ ।

त्यसपछि यसको चर्चा क्रमशः सेलाउँदै जानेछ । तर संसारका धेरै मुलुकहरुले कतारमा श्रमिकमाथि भएको शोषणाको आवाज भने झनै बुलन्द बनाइरहेका छन् । कतारको रंगशाला लगायतका पूर्वाधार निर्माण गर्दा कैयौं नेपाली श्रमिकहरुको पनि ज्यान गएको छ । तर, सरकार अरु मुलुकले जस्तै उचित क्षतिपूर्तिको कडा माग राखेर प्रस्तुत हुन सकेको छैन । अझै विडम्बना, रंगशाला जस्ता पूर्वाधार निर्माणमा कति नेपालीले ज्यान गुमाए भन्ने आधिकारिक तथ्यांकसमेत सरकारसँग छैन ।

विदेशमा मृत्यु भएका श्रमिकलाई आर्थिक सहायता तथा उद्धारको काम गर्ने सरकारी निकाय वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले कुन देशमा कति श्रमिकको मृत्यु भयो भन्ने तथ्यांक सरकारसँग रहे पनि कतारमा रंगशाला लगायतका पूर्वाधार निर्माणमा कति नेपालीको मुुत्यु भयो भन्ने तथ्यांक नरहेको बताए । उनका अनुसार आव २०६५÷०६६ देखि गत आवसम्म कतारमा मृत्यु भएका नेपालीको संख्या २ हजार २ सय ७ पुगेको छ ।

कतारमा मृत्यु भएका धेरै श्रमिकलाई प्राकृतिक कारण वा हृदयघातले मृत्यु भएको जनाउँदै क्षतिपूर्ति दिन नसकिने जानकारी दिइएको छ । कतारको श्रम कानुनअनुसार रोजगारदाताले कामसँग सम्बन्धित कारणहरूले गर्दा मृत्यु र घाइते भएमा मात्र क्षतिपूर्ति तिर्न बाध्य हुने कानुनी आधार रहेको छ ।

ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेशनल, फेयरस्कायर र इक्विडेमलगायत मानव अधिकारवादी संस्थाले कतारले आप्रवासी कामदार र उनीहरूका परिवारलाई क्षतिपूर्ति दिन अस्वीकार गरेको आरोप लगाएका छन् । विश्वकप फुटबल आयोजना गर्ने संस्था फिफाले कतारलाई विश्वकप फुटबल आयोजना गर्न सन् २०१० मा अनुमति दिएको थियो । त्यसपछि कतारले खेल पूर्वाधार बनाउन सुरु गरेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार सन् २०१० यता ११ लाख नेपाली रोजगारीका लागि कतार गएका छन् । त्यसयता कतारमा ज्यान गुमाउनेको संख्या २ हजारभन्दा बढी पुगेको छ । यसमध्ये रंगशाला तथा खेलकुद पूर्वाधार बनाउँदा कति नेपालीले ज्यान गुमाए भन्ने अभिलेख सरकारसँग छैन ।

विभिन्न ४ वटा संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा कतारलाई विश्वकप खेल पूर्वाधार बनाउन अनुमति दिने फिफाले अझै पनि आफ्नो मानव अधिकारको जिम्मेवारी पूरा गर्न असफल भएको उल्लेख छ । फिफाले खेलकुद पूर्वाधार निर्माणमा मृत्यु, अंगभंग र तलब नपाएका नेपाली श्रमिकलाई क्षतिपूर्ति दिने जनाउँदै आएको छ । तर खेल सकिँदासम्म पनि प्रतिबद्धता पूरा गरेको छैन ।

इक्विडेम दक्षिण एसियाका निर्देशक रामेश्वर नेपालका अनुसार आफैंमा विश्वभर महत्वपूर्ण खेल मानिएको विश्वकप फुटबलमा अर्बौं मानिस रमाइरहेका बेला फिफाले क्षतिपूर्ति दिलाउन कतारलाई गरेको अनुरोध पूरा गरिएको छैन । नेपालले कारोबारसँग भने, “कतारले कानुनी रुपमा नै कफाला प्रणालीलाई हटाएको जनाए पनि व्यवहारिक रुपमा कार्यान्वयन नगरेको देखिन्छ ।”

नेपाल सरकारले रंगशाला निर्माणकै क्रमका मुत्यु भएका भनेर आफ्ना नागरिकको तथ्यांक राखेको छैन । कतार नेपालको प्रमुख श्रम गन्तव्य भएका कारण रंगशाला निर्माणका क्रममा धेरै नेपाली श्रमिकले ज्यान गुमाएको अनुमान छ । कतारमा रंगशाला बनाउने काममा नेपालबाट लगिएका श्रमिक सप्लाइ कम्पनी वा निर्माण कम्पनीमार्फत जाने गरेका कारण रंगशालामा कति नेपालीको मृत्यु भयो भन्ने सरकारलाई नै जानकारी छैन ।

खेल प्रतियोगिताको पूर्वसन्ध्यामा फिफाले श्रमिकलाई क्षतिपूर्ति दिनुको सट्टा लेगेसी फन्ड (बक्यौता कोष) घोषणामात्र गर्‍यो । लेगेसी फन्डले हाल कामदारहरूको क्षतिपूर्ति दिनुपर्छ भन्ने कुनै प्रावधान राखेको छैन । प्रतिवेदनमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पनि कतारमा विद्यमान संयन्त्रमार्फत कामदारले क्षतिपूर्ति पाउन सक्ने भ्रामक टिप्पणी गरे, जबकि यो संयन्त्र वास्तवमा मृत्यु, चोटपटक र ऐतिहासिक ज्याला चोरी सम्बन्धी कुनै अर्थपूर्ण मापदडण्मा क्षतिपूर्ति दिनको लागि स्थापना गरिएको थियो ।

फिफाले विज्ञप्ति जारी गर्दै कतारमा आप्रवासी कामदारहरू विरुद्धको गम्भीर दुव्र्यवहारलाई लुकाउनु विश्वव्यापी लज्जाको विषय भएको भन्दै मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिने आफ्नो प्रतिबद्धता भने दोहोर्‍याइरहेको छ । ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक तिराना हसनले फिफाले खेल आयोजना गरेर अर्बौं डलर संकलन गर्न जारी राखेको भए पनि मृतक श्रमिकको परिवारलाई एक सेन्ट पनि दिन अस्वीकार गरेको छ ।

२०२२ को विश्वकप सुरु हुनुअघिका महिनामा फिफाले सार्वजानिक रुपमा नै श्रमिकलाई क्षतिपूर्ति दिने योजना बनाएको थियो । यसमा फिफा आप्रवासी कामदारहरूलाई क्षतिपूर्ति दिन र स्वतन्त्र आप्रवासी कामदारहरूको केन्द्रलाई समर्थन गर्न खुला रहेको जनाउने सार्वजनिक जानकारी दिएको थियो ।

कतारमा गत अक्टोबर १३ मा काउन्सिल अफ युरोपको श्रम अधिकारसम्बन्धी मुद्दा सुनुवाइमा फिफाका उपमहासचिव अलास्डेयर बेलले विश्वकपमा काम गर्दा चोटपटक लागेका जो कोहीलाई कुनै न कुनै रूपमा क्षतिपूर्ति दिइन्छ भनेका थिए ।
ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेशनलले बारम्बार अनुरोध गरे पनि कतारी अधिकारीहरूले विदेशी श्रमिकलाई बक्यौता रहेको तलब दिन नसकेको रिपोर्टमा उल्लेख छ ।

कतारले विदेशी श्रमिकको क्षतिपूर्तिका लागि ३५० मिलियन डलर घोषणा गरेको थियो । कतारमा मृत्यु भएका धेरै श्रमिकलाई प्राकृतिक कारण वा हृदयघातले मृत्यु भएको जनाउँदै क्षतिपूर्ति दिन नसकिने जानकारी दिइएको छ । कतारको श्रम कानुनअनुसार रोजगारदाताले कामसँग सम्बन्धित कारणहरूले गर्दा मृत्यु र घाइते भएमा मात्र क्षतिपूर्ति तिर्न बाध्य हुने कानुनी आधार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्