Logo

हिमाललाई बढी प्राथमिकता दियौं

विमानस्थलजस्ता संवेदनशील ठाउँहरूमा ड्रोन चलाउन नदिनु ठीक हुन्छ । तर, नेपालकै पर्यटन प्रवर्द्धन गर्न र पर्यटक आकर्षण गर्नका लागि गरिने कार्यमा त रोक लगाउनु भएन नि !

नेपालको प्रचार-प्रसार गर्दा आजसम्म हामीले हिमाललाई बढी प्राथमिकतामा राखेर प्रचार गर्‍यौं । नेपाल हिमालै हिमालले भरिएको देश भएकाले यसलाई पनि प्राथमिकतामा राखिएको हो । प्रायः ८ हजार रेन्जका हिमालहरू पूर्वदेखि पश्चिमसम्म फैलिएका छन् । हिमाल आरोहण र ट्रेकिङ एड्भेन्चर माउन्टेन पर्यटनको अभिन्न अंग हो । यो पहिले पनि हाम्रो प्राथमिकतामा थियो र पछिसम्म रहिरहन्छ । तर, बजार हेरेर कुरा गर्नुपर्दा हाई माउन्टेन टुरिस्ट भनेको युवाहरूका लागि हो ।

अझ विशेष गरेर युरोप, अमेरिका, जापान, कोरियालगायत बाह्य पर्यटकहरूले यसमा बढी रुचि राख्छन् । अर्को हाम्रो मुख्य बजार भनेको चीन र भारत नै हो भन्ने कुरालाई भुल्नु हुँदैन । अहिलेको ट्रेन्ड हेर्दा चाइनिजहरू बढी बजार, परिस्कृत पूर्वाधार भएको ठाउँमा बस्न रुचाउँछन् । यस्तै, भारतीयहरू क्यासिनो र नाइट लाइफमा रमाउने खालका छन् । त्यसैले चिनियाँ र भारतीय बजारलाई हेरेर सोहीअनुसारको उत्पादनमा ध्यान दिन सकियो भने पर्यटकको संख्या वृद्धि हुन्छ ।

कतिपय मानिसहरू हिमाललाई प्राथमिकतामा राख्न नखोजेको हो कि भन्ने भ्रममा पर्छन्, त्यसो होइन । हिमाललाई पनि प्राथमिकतामा राखौं तर पर्यटकको रोजाइलाई ध्यानमा राखेर मध्यपूर्वका देशलाई अलि बढी फोकस (प्रचार–प्रसार)गरौं भन्ने हो । काठमाडौं, पोखराजस्ता सहरहरूमा हामीले धेरै काम गर्नुपर्ने देखिँदैन ।

पर्यटकलाई जोड्दै जान सकियो भने तीन तहको काम भयो । हाम्रो भौगोलिकहिसाबले पनि त्यही दिएको छ रयसरी काम गर्न सकियो भने अझै राम्रो हुन्छ । त्यसैले बजार हेरेर काम सुरु गर्नुपर्छ । भोलि प्रोडक्ट बनायो तर चलेन भने समस्या हुन्छ । बजार हेरेर हामीले पहिचान गरेका साइटहरूलाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार सबैले मिलेर लगानी गर्नुपर्छ ।

तर, बोर्डर क्षेत्रका १० देखि १५ किलोमिटर आसपासमा पर्ने गन्तव्यहरूलाई बढी फोकस गर्नुपर्छ । हामीले हिमाल, पहाड र तराईलाई तीन भागमा बाडेर हेर्नुपर्छ । हाई माउन्टेन भनेको एडभेन्चरको लागि हो । त्यहाँ ट्रेकिङलगायतमा जाने युवालाई बढी प्राथमिकतामा राखौं ।

अर्को मैले कुरा गरेको मध्यपूर्वी क्षेत्र जसमा हामीले पूर्वदेखि पश्चिमसम्म केही गन्तव्यहरू रोजेका छौं । जस्तो धनगढी, महेन्द्रनगरबाट भित्रिएका पर्यटकहरूलाई हुर्रेको डाँडा भन्ने गन्तव्यमा लैजान सकिन्छ । यो डाँडामा केबलकार जस्ता पूर्वाधारहरू विकास गरी प्रवर्द्धन गर्न सकिन्छ । यसले त्यो स्थानको प्रवर्द्धन हुन्छ नै, साथै त्यहाँबाट अपी सैपालजस्ता हिमालहरूको अवलोकन पनि गर्न सकिन्छ । अर्को कुरा यो ठाउँको वातावरण उपयुक्त छ ।

यस्तै, नेपालगन्जबाट हुर्रेको डाँडो पुग्न पनि त्यस्तै एक डेढ घण्टा जति लाग्छ । अर्को नरपानी पनि हिलस्टेसनका रूपमा विकास गर्न सकिन्छ । यता, वीरगन्जबाट आएकालाई इन्द्रसरोवरतिर लैजान सकिन्छ । इन्द्रसरोवरको अर्को लाभ भनेको वातावरण पनि उपयुक्त छ । त्यस्तै, विराटनगरबाट आएकालाई हिलेदेखि वसन्तपुरसम्म लैजान सकिन्छ । डडेलधुरा, कर्णाली प्रदेशको गुराँसे डाँडा हुँदै पोखरा काठमाडौंदेखि पूर्वतिरको तिनजुरे मिल्के डाँडामा पर्यटकलाई लैजान सकिन्छ । त्यसपछि इलाम, झापा हुँदै हिमालतिर लैजान सकिन्छ । यसरी पर्यटकलाई जोड्दै जान सकियो भने तीन तहको काम भयो ।

हाम्रो भौगोलिकहिसाबले पनि त्यही दिएको छ रयसरी काम गर्न सकियो भने अझै राम्रो हुन्छ । त्यसैले बजार हेरेर काम सुरु गर्नुपर्छ । भोलि प्रोडक्ट बनायो तर चलेन भने समस्या हुन्छ । बजार हेरेर हामीले पहिचान गरेका साइटहरूलाई स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकार सबैले मिलेर लगानी गर्नुपर्छ । यसमा निजी क्षेत्रलाई पनि सहभागी गराएर अघि बढयौ भने अबको ५,६ वर्षमा हिलस्टेसन पूर्णरूपमा निर्माण भइसक्छन् । यी सबै गन्तव्यको विज्ञापन कसरी गर्ने भन्नेचाहिँ नेपाल पर्यटन बोर्ड तथा सरकारी निकायहरूले मिलेर काम गरे अवश्य सकिन्छ । अहिलेको समय र बाटो नै यो हुनुपर्छ ।

दोस्रो पहुँचले पनि धेरै पर्यटक गतिविधिहरूमा फरक पर्दोरहेछ । काठमाडौंमा अन्तर्राष्ट्रिय विमानस्थल भएका कारण यो सबै कुराको पहुँच भएको ठाउँ बन्यो । यस्तै, लुम्बिनीलाई हामीले केही अन्य कुरासँग जोड्न सकेनौं भने विमानस्थलले मात्र चल्दैन । लुम्बिनीको कुरा गर्दा बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्नै पर्छ । नेपालगन्ज आफैंमा क्यासिनो सिटीको रूपमा परिचित छ । लुम्बिनीलाई पहिलो राष्ट्रिय निकुञ्ज, दोस्रो क्यासिनो सिटी र तेस्रो हिन्दू धर्मसँग पनि जोड्न सकिन्छ ।

यस्तै, पाल्पाको रानीमहललाई हिल स्टेसनको रूपमा जोड्न सकिन्छ । धार्मिक स्थलमा देवघाट, त्रिवेणी, बाल्मिकी आश्रमसँग जोड्न सकिन्छ । मायादेवी मन्दिर मात्र नभएर त्यहाँ भएका अन्य ठाउँहरूको आफ्नै छुट्टै इतिहास छ । ती ठाउँहरूलाई जोड्न सक्नुपर्छ । यसरी, लुम्बिनीभन्दा मायादेवी मन्दिर मात्र नभएर राष्ट्रिय निकुञ्ज, हिल स्टेसन, पर्यटकीय सीटीलगायतसँग जोड्न सकियो भने नयाँ उत्पादन दिन सकिन्छ । पोखरालाई हेर्दा त्यहाँको अवस्था अलि फरक छ ।

अन्तर्राष्ट्रिय विमानस्थल पनि तयारी हुने अवस्था रहेको छ । त्यहाँ हेलिकप्टर चार्टर गरेर हाइल्यान्डलाई फोकस गर्न सकिन्छ । अहिले पछिल्लो समय बुद्ध एयरलगायतले तराईका सहरहरूलाई जोड्ने माध्यम बनाएका छन् । यसले नयाँ कुरा सिकाएको, बुझाएको छ । संसारभरिका मानिसहरू पोेखरा जान त रुचाउँछन् नै तर हामीले दिल्ली, पन्जाव, गुजरात, लखनउलगायतका पर्यटकलाई जोड्न सक्यौं भने दैनिक सयौंको संख्यामा पर्यटक भित्र्याउन सक्छौं ।

अहिलेको संकटको अवस्थामा सबैभन्दा चाँडै पुनर्जीवित भएको र भारतीय पर्यटक देखिएको ठाउँ नै पोखरा हो । यसको कारण चितवन, धनगढी, नेपालगन्ज आदि ठाउँबाट बढाइएको कनेक्टिभिटीले गर्दा हो । आजभोलि काठमाडौंभन्दा बढी पोखरा रोज्न थालिएको छ । अर्को पोखरा भनेको लेकसाइड मात्र नभएर बेगनास तालजस्ता ठाउँले पनि भरिपूर्ण छ । त्यसपछि बाग्लुङमा अहिले बढिरहेको एड्भेन्चरका कार्यहरूलाई जोड्नुपर्छ ।

यसमा हामीले साना–साना कार्यका लागि प्याकेज बनाउन सक्छौं । अर्को पोखरा गएको मान्छेलाई मुक्तिनाथ पुर्‍याउन सकिन्छ । हाम्रो हिन्दू धर्म पर्यटनसँग पनि जोडिएको छ । मानिसले बिहान उठेर पूजा गरेपछि मात्र अन्य कार्यहरू गर्न चाहन्छ । मुस्ताङ क्षेत्रमा विकास गर्न सक्यौ भने जीव राइड, साइक्लिङ, बाइक राइडका लागि अत्यन्त सिद्ध ठाउँ हो । यसका लागि त्यस क्षेत्रमा जान प्रतिबन्ध लगाइएका ठाउँहरू विस्तारै खुला गर्ने र पर्यटकले लिनुपर्ने टिकटको मूल्य पनि समायोजन गर्नुपर्छ ।

आजको दिनमा प्रतिबन्धित क्षेत्रको धेरै भ्यालू पनि रहँदैन । विभिन्न प्रकारका ड्रोन क्यामेरा, स्याटेलाइट तथा प्रविधिहरू विकास भइसकेको अवस्थामा प्रतिबन्धित क्षेत्रको पहिलेको जस्तो प्रभाव रहँदैन । गुगल अर्थमा नै सबै जानकारी छन् । त्यहाँका तस्बिरहरू नै हाई रिजोलुसनका छन् । यी सबै कुरालाई ध्यान दिएर प्रचार–प्रसारमा लाग्यौं भने यसले हामीलाई निकै मद्दत पुर्‍याउँछ ।

अबको बाटो भनेको विशेष गरेर मिड हिल्स हो । यसलाई तीन भागमा छुट्याएर पहिले मिड हिल्सको विकास गरेपछि हिमालतिर लाग्दा ठीक हुन्छ । जस्तै पहिले चन्द्रागिरि गएर त्यहाँबाट हिमालको अवलोकन गर्न सकिन्छ । जसले गर्दा हिमालको प्रचार पनि हुन्छ र त्यसपछि मानिस त्यहाँ आफैं पुग्न पनि आतुर हुन्छन् । त्यसैले सबैतिर एकैपटक गर्छुभन्दा पनि पहिले योजना बनाएर, बजार हेरेर काम अघि बढाए नेपालमा धेरै अवसरहरू छन् ।

तराई

तराई क्षेत्रमा विशेषत निकुञ्जहरू छन् । यस क्षेत्रमा निकुञ्जलाई नै प्राथमिकतामा राखेर कार्यक्रमहरू बनाउनुपर्छ । शुक्लाफाँटादेखि पूर्वमा कोसीटप्पु वन्यजन्तु आरक्षण छ । यसमा पनि प्रत्येक ठाउँमा आउने मानिसहरू फरक–फरक छन् । जस्तै नेपालगन्जबाट आएकालाई बर्दिया सजिलो हुन्छ । यस्तै र्‍याफ्टिङका लागि पर्याप्त खोलाहरू छन् । जताबाट आएका पर्यटकलाई पनि यो सुविधा दिनसकिन्छ । मिडहिल्समा गर्ने क्रियाकलापमा पनि हामी फोकस हुनुपर्छ ।

मिड हिल्स्मा बच्चा, युवादेखि लिएर बूढाबूढीहरू पनि संलग्न हुन सक्ने पहुँच छ । त्यसमा बच्चाहरूलाई खेल्ने कुद्नेदेखि लिएर वयस्कलाई एडभेन्चर, नाइट लाइफ र बूढाबूढीका लागि त्यस्तै प्रकारका धार्मिक कार्यक्रमहरू ल्याउनुपर्‍यो । कतिपयले पर्यटनमा क्यासिनो र नाइट लाइफका बारेमा अलि आलोचना गरेको पनि देखिन्छ । तरमेरो विचारमा हामीले कि त पर्यटनको बारेमा सोच्दै सोच्नु हुन्न । यदि सोच्छौं भने अलि उद्धार हुन जरुरी छ । क्यासिनो, नाइट लाइफजस्ता कुराहरूमा उद्धार भएर लागेका देशहरूमा पर्यटन पनि बढेको देखेका छौं ।

त्यसैले, यसका लागि अलि उद्धार भएर लाग्नुपर्छ । हामी भन्न नचाहने तर लुकेर भने सबै गर्न चाहने प्रवृत्तिबाट बाहिर निस्किनुपर्छ । अहिले पनि धेरै जसो मानिसहरूले नेपाल मौसमी गन्तव्य भन्ने गर्छन् । मेरो विचारमा कुनै पनि देश मौसमी गन्तव्य भन्ने हुँदैन । मौसमी हामीले भनेर भएको हो । जाडो मौसमा हामीले आइस स्केटिङ, आइस हक्किजस्ता खेलहरू ल्याउन सक्छौं । नेपाल जस्तो देशमा हिमालहरू हेर्दै यी खेल खेल्नु र कृतिम ठाउँहरूमा खेल्नुमा धेरै फरक हुन्छ ।

त्यसैले प्रत्येकमहिनालाई फोकस गरेर हिमाली क्षेत्रदेखि मिड हिल्समा त्यहाँको लागि उपयुक्त कार्यक्रमको योजना बनाउन सक्नुपर्‍यो । केही निर्माण गर्‍यौ, सञ्चालन गर्‍यौं भने न सबै कुरा देख्न पाउँछौ । चन्द्रागिरि हिल्समा दिनहुँ हजारौं मानिसहरूले अवलोकन गर्छन् । यस्ता योजनाहरूमा हामीले प्याकेज नै चलाउन पनि सक्छौं । कुन चिजलाई कसरी बेच्ने भन्ने कुरा हो यो । अझ हामीले नबेचेको हाम्रो संस्कृति मात्र हो । नेपालको हरेक संस्कृतिको पछाडि आफ्नै कथा रहेको छ ।

तर, ती कथाहरूलाई हाइलाइट गरेर प्याकेजहरू बनाएर हामीले बेचेका छैनौं । दसैं र तिहारको बेलामानेपालमा प्रायः सबैको बिदा हुन्छ । त्यो समयमा हामीले फरक प्रकारको प्याकेज दिन सक्यौ भने पनि हुन्छ । तर, हालसम्म हामीले हाम्रो संस्कृतिलाई जोडेर कुनै पनि प्रकारको प्याकेजहरू बनाएका छैनौं । हामीले अझ चाडबाडको बेला पर्यटकहरू आए भने हामीलाई अप्ठ्यारो हुन्छ चाडबाड मान्न पाउँदैनौ भन्छौं । तर, यदि उनीहरूलाई पनि हाम्रो संस्कृतिको बारेमा बुझाएर उनीहरूलाई पनि हाम्रो परम्परमा सामेल गराएर चाडबाड मनाउन सक्यौं भने यो अझ एउटा महत्वपूर्ण कार्य हुनसक्छ ।

अर्को हामीले खाने परिकारहरू पनि छन् । माघेसंक्रान्तिमा हामीले खाने विभिन्न प्रकारका खानेकुरालाई पनि प्रोडक्ट बनाएर बेच्न सक्नुपर्‍यो । यी कुराहरूलाई अगाडि ल्याउन पर्यटनको नयाँ खाका बनाउन आवश्यक पर्छ जस्तो लाग्छ । फेरि यो योजना बनाएर मात्र हुँदैन । यसलाई प्रत्येक उद्योगका सरोकारवालाहरूले बुझ्न पनि उत्तिकै जरुरी छ । सबै ट्राभल एजेन्टहरूले त्यो प्याकेज बेच्न लागे भने उत्तम हुन्छ ।

नीतिगत सुधार आवश्यक

नीतिगत रूपमा भन्नुपर्दा आजको दिनमा नेपाललाई संसार भरमा देखाउनुपर्ने चिनाउनुपर्ने भनेको सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालमा फोटोहरू, भिडियोहरू राख्नुपर्‍यो । तर, यही कार्य गर्नलाई पनि निकै गाह्रो छ । नेपालमा एउटा ड्रोन उडाउनका लागि अनुमति लिन नै गाह्रो छ । एउटा ड्रोनोका लागि चार/पाँच ठाउँबाट अनुमतिको आवश्यक छ । त्यसैले चाहेर पनि गर्न नसक्ने अवस्था पनि छ । कतिपय नीति नियमहरू गर्न खोज्नेका लागि नैबाधक बनेको छ । त्यसैले यस्ता बाधक नीति नियमहरू नबनाउँदा नै ठीक हुन्छ ।

विमानस्थलजस्ता संवेदनशील ठाउँहरूमा ड्रोन चलाउन नदिनु ठीक हुन्छ । तर, नेपालकै पर्यटन प्रवर्द्धन गर्न र पर्यटक आकर्षण गर्नका लागि गरिने कार्यमा त रोक लगाउनु भएन नि ! राज्य आफैलाई पनि कतिपय नीति केका लागि बनाएको हो थाहा छैन । अनि जब त्यसलाई पुनर्निर्माण गर्न बस्छौं तब झन् कडा बनाएर लैजान्छौं । झन् दस तिरबाट अनुमति लिनुपर्ने जस्ता कानुन बनाउँछौं । त्यसले गर्दा प्रचारमा पनि यस्ता नियमले गर्दा चुकिरहेको अवस्था छ । अहिले टिकटक संसारभर चलेको सबैन्दा प्रमुख प्रचारको माध्य बनेको छ ।

तर, धेरैजसो पुराना सम्पदा स्थलहरूमा यसलाई प्रतिबन्ध लगाइएको छ । त्यो भनेको त यसको प्रचार नगर भनेको नै हो नि ! कि त लुकाएर नै राख्नुपर्‍यो । फेरि त्यस्ता कार्यले गर्दा अन्य घुम्न अवलोकन गर्न आउनेलाई समस्या हुन्छ भने बरु ठाउँ तोकिदिँदा उपयुक्त हुन्छ । त्यस्तो कार्यलाई प्रतिबन्ध लगाउनुभन्दा बरु त्यसका लागि छुट्टै ठाउँ ािर्माण गरिदिनुपर्छ । अहिलेको ट्रेन्ड हेर्‍यौ भने कतिपय रेष्टुरेन्टहरूले सानो टिकटक बनाउने ठाउँ र झुलाहरू राखिदिए कै भरमा व्यापार वृद्धि गरिरहेका छन् । अहिले जमाना प्रचारको छ ।

यसलाई सरकारले बुझेर अंगीकार गर्नुपर्छ । अर्को ठमेलका होटल व्यवसायीलाई किन समयअवधि लागू गर्ने । पर्यटकहरू आउँछन्, घुम्न चाहन्छन्, पैसा खर्च गर्छन् भने रातभर पनि व्यवसाय खोल्न दिनुपर्छ । यसले रोजगारीको अवसर पनि खोल्छ । संसारका धेरैजसो पर्यटकीय शहरहरू रातभर खुला रहन्छ भने नेपाललाई मात्र कि दस, एघार बजेको समय लागू गर्नु । बरु राज्यले यसमा दिनुपर्ने सुरक्षा, नीति नियम बनाओस् । घुम्न आउँनेदेखि लिएर व्यवसायीलाई आफ्नो दायित्व प्रतिसजग गराऔं । समस्या भयो भनेर सबै बन्द गर्नतिर होइन ती समस्या समाधानका बाटोहरू पहिल्याउन लागि पर्नुपर्छ ।

कोरोनापछि पर्यटन पुनरुत्थानको ५० प्रतिशत लयमा

सुरुको महिनाहरूमा कम थियो । ३० हजार ३५ हुँदै बढ्दै गएर अहिले हामी औसतमा ६०/६५ हजारको पर्यटन आगमनमा छौं । पहिलेको नोभेम्बर र अहिलेको दाज्नु पर्दा ६५ को रेन्जमा पुगेका छौं । यो सकारात्मक संकेत हो । पछिल्लो महिनामा यो बढ्दै गएको छ । मेरो विचारमा अर्को वर्षमा पहिलेकोहवस्थामा पुगिसक्छौं । अहिले मानिसहरू कृतिम कलाकृति अवलोकनभन्दा पनि प्राकृतिक पर्यटनमा बढी रुचि राख्छन् । यो नेपालका लागि सकारात्मक कुरा हो । यसमा नेपालले नेतृत्व गर्न सक्छ ।

क्यान, नेपाल एयरलायन्स जस्ता क्षेत्रले हामीलाई साथ दिएन भने त्यो सोचेजस्तो सम्भव पनि हुँदैन । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी निकायमा परिमार्जन गर्नुपर्छ । बाहिर अन्य देशहरूमा निगरानी गर्ने र परिचालन गर्ने दुई फरक संस्था छ । तर, नेपालमाभने सेवा दिने र नियमजन गर्ने एकै निकाय हुँदा प्राधिकरणले प्रभावकारी कार्यान्वयन गर्न नसकेको अवस्था छ । युरोपमा उडान भर्न सकेमा मात्र गुणस्तरीय पर्यटकहरू भिœयाउन सकिन्छ ।

एकै संस्थाले दुवै अधिकार राख्दा आजको दिन सम्म यूरोपियन युनियनको कालोसूचीमा सूचीकृत रहेको छ । प्राधिकरणको विषयमा धेरै विवाद आइरहेको अवस्थामा पनि सरकारले ठोस निर्णय गर्न सकेको छैन । सरकारले विगतको बजेट वक्तव्यमार्फत सेवा प्रदायक र नियमनकारी निकाय बनाएर संस्थालाई विशिष्टीकृत गर्दै लाने भने पनि लामो समयदेखिको योजना कार्यान्वयन गर्न सकेको छैन ।

नेपाल नागरिक उड्डयन विधेयक-२०७८ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक-२०७८ राष्ट्रियसभाले परिमार्जनसहित सर्ब सहमतिले पारित गरेको भएपनि प्रतिनिधि सभाबाट पास हुन बाँकी छँदै संसद् विघटन भएको थियो । अब भने सरकारले यसमा ढिलाइ गर्नु हुन्न । यही समस्याले गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने वायुयान कम्पनीलाई उडान भर्नको लागि आकर्षित गर्न सकेका छैन ।

सबैभन्दा पहिले हवाई सुरक्षा सरकारको पछिलो प्राथमिकता हुनुपर्छ । पर्यटन बजारमा उडान भर्नुपर्ने तर श्रम बजारमा मात्र जोडिएका छौं । लुम्बिनी विमानस्थलश्रम बजारलाई जोड्न मात्र खोलेको त होइन । हामीले त थाइल्यान्ड, श्रीलंका, कम्बोडिया र मेनमार सबैबाट उडान ल्याउन सक्नुपर्ने । यदि श्रम बजारमा मात्र जोडिएको हो भने त्रिभुवन विमानस्थल नै पर्याप्त थियो । सरकारले पनि यो कुरालाई बुझुनुपर्‍यो । लुम्बिनी विमानस्थल विशेषतः बुद्ध जन्मेको ठाउँ भनेर पर्यटन विकासका लागि बनाएको हो । त्यसो हुँदा संसाररभरका बुद्धिस्ट देशहरूलाई फोकस गर्ने कि मुस्लिम देशहरूलाई ? ती बुद्धिस्ट देशहरूलाई ल्याउनलाई सुरक्षाको प्रत्याभूति त दिनुपर्‍यो नि !

(रेग्मी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत हुन्)

प्रतिक्रिया दिनुहोस्