स्थानीय तहको प्राथमिकता पर्यटनमा

झरना नै झरनाको रूपमा रहेको सुन्द्रावतीमा पुग्नेको पनि लर्को नै छ । कालिञ्चोक गाउँपालिका र भीमेश्वर नगरपालिकाको सिमानामा रहेको सुन्द्रावती पुग्न दुवै स्थानीय तहले आ–आफ्नो ठाउँबाट काम गर्दै आएका छन् ।
दोलखाको जिरी नगरपालिका–१ पुम्पामा निर्माणाधीन स्टोन पार्कमा गुरु रेम्पोचे र महादेवको मूर्ति स्थापना भयो । नगरपालिकामा जनप्रतिनिधि आउने बित्तिकै खोला किनारमा रहेका ढुंगाहरुलाई थप सजाएर नगरपालिकाले स्टोन पार्कको रूपमा विकास गर्ने योजना बनायो । अहिले यही पार्कमा धेरै आन्तरिक पर्यटक घुम्न पुग्छन् । पार्कलाई थप सजाउने कार्यक्रमअन्तर्गत नै गुरु रेम्पोचेको प्रतिमा लकडाउनकै बीमा स्थापना भएको हो । सँगै पौडी पोखरी बनेको छ, बगैंचा निर्माण गर्ने काम जारी छ ।
पाँच वर्ष अघिसम्म अतिदुर्गमको सूचीमा परेको यो ठाउँ अहिले दोलखा, रामेछाप र तराईबाट पर्यटकको दैनिक घुइँचो लागेको छ । चलचित्र निर्माताहरूको रोजाइमा पनि यही आसपासको क्षेत्र परेको छ । आफ्नो वडामा धेरै काम भए पनि आफूलाई सन्तुष्ट लागेको काम यही भएको जिरी वडा नं. १ का वडाध्यक्ष आङपासाङ शेर्पाको भनाइ छ । जिरी नगरपालिका–३ माली डाँडामा बुद्धमार्गीहरूको एसियाकै ठूलो मूर्ति निर्माणको काम सुरु भएको छ । ११८ फिट अग्लो रेम्पोचेको मूर्तिसँगै एक हजार रोपनीमा बौद्ध विश्वविद्यालयकै संरचना निर्माण हुनेछ । यो पूरा हुँदा दैनिक सयौं पर्यटक जिरी ल्याउन सकिने जिरीबासीको अनुमान छ ।
जिरी र गौरीशंकर गाउँपालिकाको सिमानामा रहेको हनुमन्ते डाँडाको विस्तृत विकास गर्ने गरी गुरुयोजना बनेको छ । अहिले जिरी नगरपालिकातिरबाट हनुमन्तेडाँडासम्म पुग्ने पैदलमार्ग, खानेपानी, प्रतिक्षालयजस्ता पूर्वाधार तयार भएका छन् । दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पास्थित राङराङथलीमा गोलाकारमा तिलक पोखरी भ्रमण गर्नेहरू दैनिक बढ्दै गएका छन् । गोडर खोला र गुम्फा आपोको बीच भागमा पोखरी तयार भएको छ ।
पाँच वर्ष अघिसम्म अतिदुर्गमको सूचीमा परेको यो ठाउँ अहिले दोलखा, रामेछाप र तराईबाट पर्यटकको दैनिक घुइँचो लागेको छ । चलचित्र निर्माताहरूको रोजाइमा पनि यही आसपासको क्षेत्र परेको छ ।
थामी जातिको उद्गम थालो राङराङ थलीमा थामी संग्रहालय बनाउने प्रयोजनका रूपमा पोखरी निर्माण गरिएको हो । तर संग्रहालय बन्न सुरु नहुँदै पर्यटकहरू अहिले नै बढ्न थालेको भीमेश्वर नगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख सुरेश राउतले बताए । अहिले चरिकोट भ्यू टावरदेखि सिंढीसहित तयार गरिएको गोरेटो बाटो पनि पोखरीमै जोडिन्छ । यसले चरिकोटबाट भ्यूटावर पुग्नेहरुलाई थप एक घण्टा जंगलको बाटो झर्दा राङराङथली पुग्न सहज भएको छ । झरना नै झरनाको रुपमा रहेको सुन्द्रावतीमा पुग्नेको पनि लर्को नै छ ।
कालिञ्चोक गाउँपालिका र भीमेश्वर नगरपालिकाको सिमानामा रहेको सुन्द्रावती पुग्न दुवै स्थानीय तहले आ–आफ्नो ठाउँबाट काम गर्दै आएका छन् । विगू गाउँपालिका–४ भोर्लेमा रहेको झरना पनि अहिले आन्तरिक पर्यटकहरूको महत्वपूर्ण गन्तव्य बन्यो । सिंगटी–गोंगर सडक खण्डमा पर्ने झरना माथिबाट खसेर ठूलो हुँदा सडकभन्दा बाहिर तामाकोसी नदीसम्मै झर्छ । झरनालाई बाहिर पारेर गाडी ओहोरदोहोर गर्न सक्ने भएपछि लकडाउने फुर्सद भएका यो ठाउँ पुगेका हुन् ।
विगू गाउँपालिकाले विगू गुम्बा र लप्ची गुम्बासम्म सहज पहुँचका लागि सहज बाटो व्यवस्था गर्न लागेको छ । गौरीशंकर गाउँपालिकाले पर्यटन प्रवर्द्धनकै लागि नयाँ पदमार्गको खोजी गरेको छ । चंखु, र सुरी हुँदै बुर्मुचे, बुकुनी हुँदै पाँचपोखरी जट्टापोखरीसम्म यही बेला भ्रमण नै गरेर पदमार्ग पहिचान गरेको छ । गौरीशंकर गाउँपालिकाले मुख्य पर्यटकीय क्षेत्र रोल्वालिङ क्षेत्रको थप विकास गर्दै नयाँ पदमार्गको रुपमा खारे सोतली, मार्बू एलुङपास हुँदै च्छोरोल्पासम्म र हनुमन्ते, चेर्दुङको पदमार्ग विकासमा जोड दिएको छ ।
पर्यटन प्रवर्द्धनमा शैलुङ र मेलुङ गाउँपालिकाको होडबाजी
शैलुङ गाउँपालिकाले आफ्नो सबैभन्दा महत्वपूर्ण गन्तव्य सय थुम्का अर्थात शैलुङलाई लिएको छ । दोलखाको शैलुङ र मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकाको संगम हो । यसको अधिकाँश भूभाग शैलुङ गाउँपालिकामा पर्ने भएकाले महत्वपूर्ण धार्मिक स्थललाई गन्तव्यको रूपमा विकास गर्न लागेको छ ।
शैलुङ आउने पर्यटकका लागि खान बस्नका लागि सहज बनाउन होटल रिसोर्ट खोल्ने व्यवसायीलाई गाउँपालिकाले नै घडेरी बनाएर उपलब्ध गराउने र केही रकम अनुदानको समेत घोषणा गरेको छ । शैलुङ नजिक कालापानीसम्म पुग्ने १२ महिना चल्ने कालोपत्रे सडक निर्माण भइरहेको बेला होटल लजको राम्रो व्यवस्था गर्न सके मनोरम दृश्यावलोकनका लागि शैलुङमा दैनिक सयौं पर्यटक आउन सकने अध्यक्ष रिमलबाबु श्रेष्ठले बताए ।
कालापानीदेखि शैलुङसम्म मिनी ग्रेटवाल निर्माणाधीन अवस्थामा छ । शैलुङ महाभारत श्रृंखलाको सबैभन्दा अग्लो डाँडो हो । यहाँ सयभन्दा बढी थुम्का छन् । ३१३४ मिटरको उचाइमा रहेको यहाँबाट सयरमाथादेखि अन्नपूर्ण हिमश्रृंखलासम्म र दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायतका धेरै ठाउँहरु देख्न सकिन्छ । यसले शैलुङ आउने पर्यटक तान्ने अपेक्षा बढेको छ । शैलुङको विकास लागि मेलुङ गाउँपालिकाले पनि चासो देखाएको छ ।
शैलुङको फेद आफ्नो भूगोलमा गुरुयोजना बनाएरै काम गर्न लागेको अध्यक्ष हिराकुमार थोकरले बताए । योजना बनाउने सिलसिलामै मेलुङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले लकडाउनकै बीचमा पटक पटक भ्रमणसमेत गरेका छन् । दुवैले शैलुङमा रहेका जुरेढुंगा, गुफा, मन्दिरलगायतका धार्मिक महत्वका स्थलहरूको पहिचानमा जोड दिएका छन् । तर यसमा एकीकृत पहल हुन सकेको छैन ।