अलपत्र मालढुंगा-बेनी सडकको काम सुरु गर्ने सहमति

निर्माण व्यवसायीले काम रोकेपछि करिब दुई महिनादेखि अलपत्र बनेको राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–बेनी सडकको निर्माणकार्य अघि बढ्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतमा बुधबार बसेको सरोकारवालाको बैठकले तत्काल काम सुचारु गर्ने निर्णय गरेको हो । निर्माणकार्य अलपत्र हुँदा बाटोमा यात्रा गर्न निकै असहज भएको गुनासो चुलिएपछि जलजला गाउँपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसी तत्काल सुधार गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
निर्माण व्यावसायीलाई तत्काल काममा लगाउने र समस्या देखिएका ठाउँमा १५ दिनभित्र सुधार गरी बेनी–जोमसोम–कोरल्ला सडक आयोजना प्रमुख जगत प्रजापतिले जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने सहमति भएको छ । निर्माण सामग्री अभावका कारण काम रोक्नुपरेको बताएको ठेकेदार कम्पनीलाई जलजला गाउँपालिकाले आवश्यक सामग्री व्यवस्थापन गरिदिने सहमतिसमेत भएको उनले बताए । १३ किलोमिटर दूरीको सडक दुई लेनमा विस्तार गरी कालोपत्रे गर्न २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ठेक्का सम्झौता गरेको थियो ।
सडक चौडा पर्ने क्रममा जलजला गाउँपालिका–७ केराबारीनजिकै स्थानीयसँग सामान्य विवाद भएपछि असोजमा रोकिएको काम अझै अघि बढ्न नसकेको हो । निर्माण व्यवसायी र आयोजना कार्यालयका अनुसार सडक निर्माणका क्रममा आवश्यक निर्माण सामग्री (नदीजन्य पदार्थ) स्थानीय खोलानदीबाट निकाल्ने सर्त थियो । सोही सर्तबमोजिम ५२ करोड ८६ लाख रुपैयाँमा एपेक्स–खड्का–कृष्ण जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
तर, गत २९ असार २०७८ मा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै कालिगण्डकीको धार्मिक तथा ऐतिहासिक पहिचान बिथोलिने गरी नदीमा मेसिन लगाएर नदीजन्य पदार्थ निकाल्न रोक लगाइदियो । सर्वोच्चको यही आदेशकै कारण कालिगण्डकी नदीबाट नदीजन्य गिट्टी, बालुवा, ढुंगा निकाल्न नपाएपछि व्यवसायीले काम अघि नबढाउने बहाना खोजिरहेको थियो । कालिगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाए पनि सडक चौडा पार्ने क्रममा निस्किएका ढुंगा, माटोलगायत प्रयोग गर्न पाउने गरी स्थानीय प्रशासन, आयोजना कार्यालयले सहमति दिएको थियो ।
सहमतिअनुरूप व्यवसायीले जलजला–७ केराबारीस्थित सडकलाई आवश्यक पर्नेभन्दा धेरै ढुंगा उत्खनन् गरेको थियो । त्यहाँ रहेको ढुंगाखानी केही स्थानीयको निजी र केही सामुदायिक वनमा परेको भन्दै स्थानीयले विरोध गरेका थिए । विरोधका कारण व्यवसायीले निर्माण सामग्री नपाएको भन्दै काम रोकेको थियो । गत असोजमा रोकिएको काम दुई महिनासम्म सुचारु नहुँदा स्थानीयवासी र यो सडक हुँदै बेनी–जोमसोम–मुक्तिनाथसम्म आउजाउ गर्ने यात्रीहरू मर्कामा परेका छन् ।
सम्पर्कविहीन रहेको निर्माण कम्पनीलाई बोलाएर आयोजना प्रमुखसहित छलफल गरेर निर्माण सुचारु गर्ने सहमति गरिएको प्रजिअ सापकोटाले बताए । १३ किलोमिटर लामो यो खण्डमा म्याग्दीको बेनीदेखि छुटेका सवारीसाधन मालढुंगा पुग्न डेढ घण्टासम्म समय लाग्दा सुत्केरी, बिरामी तथा अत्यावश्यक यात्रीले दुःख पाउने गरेका छन् । सवारीचालक राजकुमार पुनले बेनीबाट मालढुंगा पुग्न आधा घण्टा समय लाग्ने गरेकोमा सडक विस्तार हुन लागेपछि डेढ घण्टा लागेको बताए ।
आयोजनाका अनुसार अहिलेसम्म २४ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ । आगामी चैत मसान्तसम्म योजना सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको थियो । तर ठेकेदार काम नै बन्द गरेर सम्पर्कविहीन भइदिँदा तोकिएको समयमा सडक निर्माणकार्य सम्पन्न हुन समस्या देखिएको आयोजना प्रमुख जगत प्रजापतिले बताए ।
“सुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो,” प्रजापतिले भने, “हामी पनि उत्साहित थियौं । अहिले लामो समय काम रोकिँदा समयमै सक्न मुस्किल पर्ने देखियो,” कालिगण्डकीबाट निर्माण सामग्री निकाल्न नपाएपछि दुई करोड खर्चेर क्रसर मेसिन जडान गरेको व्यवसायीले त्यो पनि चलाउन नपाउँदा समस्या भएको उनले बताए । बुधबार एकखालको सहमति भएकाले अब नियमित काम सुचारु हुने उनको भनाइ छ ।