व्यवसायमा जोखिम मोल्ने क्षमता विस्तार गर्न सुझाव
समृद्धिका लागि आर्थिक क्षेत्र अब्बल हुनुपर्छः अध्यक्ष भट्ट

नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक पत्रिका कारोबार १४औं वर्षमा प्रवेश गरेको छ । २०६६ मंसिर ३० गतेदेखि प्रकाशन थालेको टीबीआई पब्लिकेसन्स प्रालि अन्तर्गतको कारोबार दैनिकले बिहीबार १३ औं वार्षिकोत्सव मनाएको छ । यस पब्लिकेसन्स अन्तर्गत कारोबार दैनिक पत्रिका, कारोबार अनलाइन, अनलाइन टेलिभिजन सञ्चालनमा छन् ।
वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा पब्लिकेसन्सका अध्यक्ष भवन भट्टले मुलुकको समृद्धिको सपनासहित पत्रिकाको प्रकाशन सुरु गरिएको स्मरण गर्दै आगामी दिनमा थप सशक्त रुपमा अर्थतन्त्रका सत्यतथ्य समाचार पाठकसमक्ष पस्किने बताए ।
“कारोबार दैनिकको सुरुवात गर्दाका समयमा राजनीतिक दल र सरकारले आर्थिक मुद्दाहरुलाई कमैमात्र उठाउँथे,” अध्यक्ष भट्टले भने, “अहिले सबैको प्राथमिकता आर्थिक विषयमाथि भएको छ । यो हुनुमा केही योगदान कारोबार दैनिकको पनि छ ।”

समग्र देशको समृद्धिका लागि आर्थिक क्षेत्र अब्बल हुनुपर्ने भन्दै त्यसका लागि पत्रिकाको योगदान महत्वपूर्ण रहेको उनले बताए । अध्यक्ष भट्टले कारोबार दैनिक स्थापना गर्नु पनि त्यतिबेला एक किसिमको जोखिम मोलेको स्मरण गरे ।
“जोखिम मोलेर गरेका कामले दिने सन्तुष्टि छुट्टै हुन्छ । त्यसबाट समाज परिवर्तनमा भूमिका रहन्छ,” उनले भने, “नेपालमा जसले जे गर्यो र सफल भयो, अरुले पनि त्यही व्यवसाय गर्ने चलन बढी देखिन्छ । तर केही जोखिम लिएर नयाँ क्षेत्रमा लगानी गर्न सके त्यसले अर्थतन्त्रमा दिने टेवा झनै महत्वपूर्ण हुन्छ ।”
नेपालमा मिडिया, पर्यटन, शिक्षा लगायतका आधा दर्जन बढी व्यवसायमा लगानी गरेका भट्ट निकट भविष्यमै अन्तर्राष्ट्रिय वायुयान सञ्चालन गर्ने अन्तिम तयारीमा छन् । “अन्तर्राष्ट्रिय वायुयान सञ्चालन गर्दा लगानी धेरै जोखिममा छ तर पनि सञ्चालनपछि यस व्यवसायले सन्तुष्टि दिनेमा विश्वस्त छु,” उनी भन्छन् ।
कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवालीले डेढ दशक अगाडिसम्म आर्थिक समाचारले पत्रपत्रिकामा खासै स्थान नपाउने गरेकोमा अहिले आर्थिक विषयवस्तुलाई समेटेर दैनिक पत्रिका नै सञ्चालनमा आउनुले यस क्षेत्रको महत्वलाई थप परिकृष्त गरेको बताए ।
सत्यतथ्य समाचार पस्किने सवालमा कारोबार दैनिकले कुनै कसर बाँकी नराख्ने भन्दै भविष्यमा थप परिस्कृत ढंगले पत्रिकालाई अगाडि बढाउने सम्पादक ज्ञवालीले प्रतिवद्धता जनाए । कार्यक्रममा बिबि होल्डिङ्सका उच्च अधिकारीहरुले कारोबार दैनिकको आगामी यात्राप्रति शुभकामना दिएका थिए ।