अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती

आजभोलि नेपालका गल्लीगल्लीमा या त राजनीतिक विषयमा छलफल हुने गरेको पाइन्छ, या त अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा । यस लेखमा राजनीतिक विषयको चर्चा नगरीकन नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाको बारेमा विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा प्रायः जताततै नकारात्मक टिप्पणी गरेको सुनिन्छ ।
तर, हाम्रो अर्थतन्त्र जतिसुकै जटिल र कठिन अवस्थाबाट गुज्रिँदा पनि पूर्ण रूपमा धराशायी हुनबाट भने जोगिएको देखिन्छ । ठूला राजनीतिक आन्दोलन एवम् तत्पश्चात्का राजनीतिक परिवर्तन हुँदा होस् वा सीमा नाकामा अवरोध भई आपूर्ति शृंखला अवरुद्ध हुँदा होस् वा कोभिड–१९ जस्तो महामारीसँग जुध्दा होस् वा विश्वव्यापी आर्थिक मन्दी हुँदा होस्, हाम्रो अर्थतन्त्र धराशायी हुनबाट जोगिएको छ । तर, विडम्बना, हाम्रो अर्थतन्त्र धाराशायी हुनबाट जोगिए पनि तंग्रिएर सबल एवम् सुदृढ बन्न भने सकेन ।
कोभिड–१९ बाट थलिएको अर्थतन्त्र रूस-युक्रेन युद्धका कारण सिर्जित समस्याले थप जटिलतातर्फ धकेलिन पुग्यो । कठिन अवस्थाबाट गुज्रेको अर्थतन्त्रलाई सबल बनाउन थुप्रै नीतिगत प्रयास पनि गरिए । तर, मल्टि अर्गन फेलियरको नजिक पुगेको अर्थतन्त्र छोटो अवधिमै तंग्रिएर सही सलामत अवस्थामा आइपुग्न भने सकेन ।
यसै सन्दर्भमा, हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७९ असोज महिनाको आर्थिक तथा वित्तीय स्थितिको विवरणले भने थोरै मात्रामा भए पनि केही पक्षमा सुधारको सकारात्मक अवस्था प्रस्तुत गरेको छ । यद्यपि, अझै पनि नेपाली अर्थतन्त्रले थुप्रै चुनौती र जटिलताहरूसँग जुध्न परिरहेको देखिन्छ । यस लेखमा अहिले नेपालको अर्थतन्त्रले संकेत गरेका सकारात्मक पक्षहरू र अझै पनि जुध्नुपर्ने जटिल विषयहरू विश्लेषण गर्न खोजिएको छ ।
सरकारी राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था आउनुले सरकारी ढुकुटीमा ठूलो चाप सिर्जना भएको सजिलै अनुमान गर्न सकिन्छ ।
अर्थतन्त्रमा देखिएका केही सकारात्मक पक्ष
गत आर्थिक वर्षदेखि नै नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा जटिलताहरू थपिँदै जान थाले । खासगरी आयातमा भएको अनियन्त्रित वृद्धि र वैदेशिक मुद्रामा आएको संकुचनबाट बाह्य क्षेत्रले सन्तुलन नै गुमाउने पो हो कि भन्ने चिन्ता व्याप्त रहन पुग्यो । यस्तो जटिलतालाई समाधान गर्न नेपाल सरकारले महँगा गाडी, मोबाइल, मोटरसाइकललगायतका केही सामानहरूको आयातमा रोक लगायो ।
अर्थतन्त्रमा सुधारको संकेत नदेखिए पनि धैर्य नगुमाइकन सरकारले आयात नियन्त्रणको नीतिलाई निरन्तरता दियो । फलस्वरूप चालू आर्थिक वर्षको प्रथम तीन महिनामा वस्तुको आयातमा संकुचन हुन गई वस्तु व्यापारघाटामा १३.१ प्रतिशतले कमी हुन गएको छ । त्यसैगरी यस अवधिमा विप्रेषण आप्रवाहमा पनि उल्लेख्य रूपमा वृद्धि हुन पुगेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि हुन गई रु. २८१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको प्रथम तीन महिनामा रु. १ सय ४९ अर्ब ८१ करोडको चालू खाता घाटामा सुधार हुन गई चालू आर्थिक वर्षको सोही अवधिमा रु. ३४ अर्ब २८ करोडमा सीमित हुन पुगेको छ । यस अवधिमा शोधनान्तर स्थिति रु. १२ अर्ब ४३ करोडले बचतमा रहेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ८७ अर्ब ७१ करोडले घाटामा थियो । २०७९ असार मसान्तमा रु. १२ खर्ब १५ अर्ब ८० करोडको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा वृद्धि हुन गई २०७९ असोज मसान्तसम्म रु. १२ खर्ब ४६ अर्ब २२ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७९/८० को प्रथम तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.६ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । यी तथ्याङ्कहरूले हाम्रो अर्थतन्त्रको बाह्य पक्षमा सन्तोषजनक रूपमा सुधार हुँदै गएको देखिन्छ । राष्ट्र बैंकले दिएको पछिल्लो जानकारीले यही कुराको पुष्टि गर्छ ।
अर्थतन्त्रका जटिल पक्षहरू
यस अवधिमा मुद्रास्फीतिको अवस्था भने सोचेजस्तो राम्रो हुन सकेन । यसलाई समयमै नियन्त्रणमा ल्याउन सकिएन भने आगामी दिनमा जनताको दैनिक जीवनमा ठूलो संकट आउने सम्भावना देखिन्छ । असोज महिनाको मुद्रास्फीति दर ८.५ प्रतिशत देखिएको छ, जुन आफैंमा उच्च हो । यसका विभिन्न उपक्षेत्रहरूको समीक्षा गर्दा अझै डरलाग्दो अवस्था देखिन्छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूल क्षेत्रको १२.०६ प्रतिशत र मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत र स्वास्थ्य उपसमूहको १०.५४ प्रतिशत रहेको छ ।
त्यस्तै, निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.२७ प्रतिशत रहेको छ । यस खालको मुद्रास्फीतिले निरन्तरता पायो भने नेपालमा ठूलो नैराश्यता आउने, आर्थिक गतिविधिमा संकुचन आउने तथा जनताको दैनिक जीवन झनै कठिन हुने सम्भावना रहेको छ ।
नेपाली मुद्राको लगातार अवमूल्यनले क्रय क्षमतामा ह्रास आउन पुगेको छ । अहिले १ अमेरिकी डलरको खरिद विनिमय दर रु. १३१.४७ पुग्नु आफैंमा चिन्ताजनक अवस्था हो ।
वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूले अमेरिकी डलरमा आय आर्जन गरी नेपालमा पठाउँदा केही बढी आम्दानी भएजस्तो देखिए तापनि नेपाली मुद्राको निरन्तर अवमूल्यनले हाम्रो अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमतामा ठूलो ह्रास आएको छ । २०७९ असोज मसान्तसम्म चालू खर्च रु. २ खर्ब २३ अर्ब पुगेको देखिएको छ भने यस अवधिमा राजस्व जम्मा रु. २ खर्ब ८ अर्ब संकलन भएको देखिन्छ ।
२०७९ मंसिर २० गतेको तथ्याङ्क हेर्दा चालू खर्च रु. ३ खर्ब २४ अर्ब पुगेको छ भने राजस्व जम्मा रु. ३ खर्ब मात्र संकलन भएको देखिएको छ । सरकारी राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था आउनुले सरकारी ढुकुटीमा ठूलो चाप सिर्जना भएको सजिलै अनुमान गर्न सकिन्छ ।
यस अवधिमा बैंकिङ क्षेत्रको तरलतामा अस्वाभाविक रूपमा संकुचन आएको छ, जसले गर्दा ब्याजदरमा उच्च वृद्धि हुन गएको छ । ९१ दिने ट्रेजरी बिलको ब्याजदर १०.१४ प्रतिशत, अन्तरबैंक ब्याजदर ८.५ प्रतिशत, आधार दर १०.३४ प्रतिशत, निक्षेपको ब्याजदर ८.१६ प्रतिशत, कर्जाको ब्याजदर १२.१९ प्रतिशत रहेको छ । उच्च ब्याजदरका कारणले लगानीकर्ताहरूको लगानी गर्ने क्षमतामा ह्रास आएको छ ।
त्यसैगरी २०७८ असोज मसान्तमा २,६५७ रहेको नेप्से सूचकांक २०७९ असोज मसान्तमा घटेर १,८५८ कायम भएको छ । २०७८ असोजमा धितोपत्र बजार पुँजीकरण रु. ३७ खर्ब १९ अर्ब ७२ करोड रहेकोमा २०७९ असोजमा सो रकम घटेर रु. २६ खर्ब ७२ अर्ब ७९ करोड रहेको छ । यी तथ्याङ्कहरूले हाम्रो अर्थतन्त्रको आन्तरिक स्वास्थ्यमा जटिलता रहेको पुष्टि भएको छ ।
यसरी नेपालको अर्थतन्त्रको बाह्य क्षेत्रमा केही सुधारका संकेत देखिनु सकारात्मक रहेको भए तापनि आन्तरिक अवस्थामा थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको छ । यसका लागि मौद्रिक एवम् वित्त नीतिका उपकरणहरू बडो सुझबुझ एवम् होसियारीपूर्वक प्रयोग गर्नु जरुरी भएको छ ।