हाम्रो प्रतिबद्धता

नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक पत्रिका कारोबार १३ वर्ष पूरा गरी आजदेखि १४ औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो एक वर्षले मुलुकको सामाजिक-आर्थिक क्षेत्रमा सुखद् सन्देश दिन सकेन । कोभिड महामारीपछि अर्थतन्त्रको बाह्य क्षेत्रमा आएको समस्या र राजनीतिक खिचातानीमा अल्झिएपछि मुलुकको विकास र समृद्धिको सपना अधुरै रह्यो ।
तथापि अनिश्चयका बाबजुद यो वर्ष तीनै तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिको छनोट भएको छ । स्थानीय तहमा जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् भने प्रदेश र संघमा नयाँ सरकार गठनमा राजनीतिक दलहरू लागेको अवस्था छ । विकास र समृद्धिको आश्वासन देखाएर सत्तामा पुगेका दल र तिनका नेताहरूले जनताको विश्वासलाई फेरि भत्काउने छैनन् भन्ने हामीले विश्वास लिएका छौं ।
मुलुकमा लगानीको वातावरण बनाई अर्थतन्त्रको विकासमा सहयोग पुर्याउने एकमात्र विशुद्ध लक्ष्य लिएर १३ वर्षअघि कारोबार पत्रिका प्रकाशनको सुरुवात गरिएको थियो । यसका साथै कानुनी राजको शासन, मानव अधिकार, अन्याय एवं अत्याचारमा परेका सर्वसाधारण नागरिकलगायतका मुद्दामा पैरवी गर्ने सञ्चार संस्थाको कर्तव्य र दायित्वलाई पनि हामीले बिर्सेका छैनौं ।
करिब डेढ दशक लामो यात्रामा हामी आफ्नो यी लक्ष्यमा कति सफल भयौं भन्ने विषय श्रद्धेय पाठकले मूल्यांकन गर्नुभएकै छ । आगामी दिनमा पनि मुलुकमा लगानीको वातावरण सिर्जना गराएर विकास र समृद्धितर्फ लैजान सरोकार पक्षलाई घचघच्याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दछौं ।
कारोबार दैनिकको यहाँसम्मको यात्रामा महत्त्वपूर्ण सहयोग गर्नुहुने हाम्रा अभिभावक, पाठक, विज्ञापनदाता, शुभचिन्तक एवं मित्रजनहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोग पाउने अपेक्षा राखेका छौं ।