प्रभु लाइफ इन्स्योरेन्स छैठौं वर्षमा

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड छैठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ आज छैठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सोही अवसरमा कम्पनीले वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ ।
उल्लेखित उद्देश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय सञ्चालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलाई पाँच लाख रुपैयाँ रकम सहयोग प्रदान गरेको छ । समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा भएको कार्यक्रमबीच उक्त गुठीका कार्यकारी निर्देशक दिपक संजेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेलगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।