बिच्छाइएको पाइपलाइन प्रयोगमा नल्याउँदा चुहावट

मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छाइएको नयाँ पाइपलाइन लामो समयसम्म प्रयोगविहीन हुँदा खानेपानी चुहावटको समस्या देखिएको छ । नयाँ पाइपलाइनको सञ्जाल पाँच वर्षअघि नै बिच्छाइएको भए पनि मेलम्ची आयोजना सम्पन्न हुने मिति लम्बिँदा बिच्छाइएको पाइपलाइन प्रयोगविहीन भएको र उक्त पाइपलाइनबाट पानी वितरण हुन थालेपछि चुहावटको समस्या आएको हो ।
मनसुनजन्य विपत्तिको घटनाबाट आयोजनालाई बचाउन भन्दै वर्षायामको समयमा बन्द गरिएको मेलम्ची खानेपानी आयोजना शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याई उपत्यकाबासीलाई खानेपानी वितरण सुरु गरिएको छ । वर्षात्को समयमा बन्द र हिउँदको समयमा सञ्चालन गर्नुपर्ने आयोजनाको समस्या छ । आयोजनामा नै समस्या देखिरहेका बेलामा पाइपलाइन लिकेज भएर सडक अवरुद्ध भएको छ । नयाँ पाइपलाइन नै लिकेज हुन थालेपछि आगामी दिनमा अझै समस्या उत्पन्न हुनसक्ने भन्दै सरोकारवालाले निकायले चिन्ता जनाएका छन् ।
पाइपलाइन बिच्छाइए पनि लामो समयसम्म पाइपमा पानी नभर्दा पाइपको गुणस्तर खस्किँदै जानु, सडक, ढल निर्माण तथा विद्युतीय तार जडानलगायतका काम गर्ने क्रममा पनि पाइपलाइनमा क्षति पुगेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले जानकारी गराएको छ । ठेकेदार कम्पनीले राम्रोसँग पाइपको जोर्नी नकस्दा पनि समस्या भएको हुनसक्ने भन्दै पीआईडीले यदि ठेकेदारकै लापरबाहीका कारण क्षति भएको पाइएमा मर्मत गर्न लगाउने बताएको छ ।
निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले अन्य विकास निर्माणको काम गर्ने सरकारी निकायकै लापरबाहीले गर्दा पाइपलाइन ‘लिकेज’ को समस्या देखिएको बताएका छन् । “पाइपलाइन बिच्छाइएको त पाँच वर्ष नाघिसक्यो, योबीचमा सडक खन्दा, ढल निर्माण गर्दा, विद्युतसम्बन्धी काम गर्दा पाइपलाइनमा क्षति पुगेको हुनसक्छ, विस्तृतमा के भएको भन्ने अध्ययन भइरहेको छ,” उनले भने, “मेलम्चीको पाइप के कारणले फुटेको हो भन्ने विषयमा अझै कारण थाहा हुन बाँकी छ, लाजिम्पाटमा फुटेको पाइपलाइनबाट पहिल्यै पानी वितरण भएकाले ठेकेदारको लापरबाहीबाट भन्न मिल्दैन ।”
सापकोटाका अनुसार छिट्टै काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई आयोजना हस्तान्तरण गरिने र चुहावटको समस्या नियन्त्रण गर्ने जिम्मेवारी केयूूकेयलको हुनेछ । मेलम्ची खानेपानी विकास समितिका अनुसार हालसम्म १० करोड लिटर मेलम्चीको पानी वितरण गरिएको छ । दुई दिनभित्र १७ करोड लिटर नै खानेपानी वितरण गर्ने तयारी भइरहेको समितिको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाको १७ करोड लिटर पानी नआउँदा नयाँ पाइपलाइनमा नै समस्या देखिएको छ ।
दोस्रो चरणको आयोजना सम्पन्न भएपछि भने पुनः थप ३४ करोड लिटर पानी वितरण हुने सरकारको योजना छ । मेलम्चीको दुवै चरणको आयोजना सम्पन्न भएपछि काठमाडौंबासीले दैनिक ५१ करोड लिटर पानी पाउनेछन् । तर हाल बिच्छाइएको नयाँ पाइपलाइनमा देखिने समस्याका कारण चुहावट बढ्नसक्ने विज्ञहरूको भनाइ छ ।
नयाँ पाइपलाइन बिच्याइसके पनि परीक्षणमा ढिलाइ हुनु, परीक्षणका लागि आवश्यक पर्ने पानी अभाव र अन्य पूर्वाधार निर्माणका कारण पाइपलाइनमा पुगेको क्षतिले परीक्षणको काममा पनि कठिनाइ भएको निर्शेनालयको भनाइ छ । केयूकेयलले पनि सडक तथा ढल निर्माणमा गरिएको लापरबाही, ठेकेदारको कमजोरीलगायतका कारण मेलम्चीको पानी चुहावट भएर सडक जाम भएको प्रतिक्रिया दिएको छ ।
सरकारी निकायबीचकै समन्वय अभावका कारण आयोजना सञ्चालनमा समस्या हुने, बिच्छाइएका पाइपलाइनमा क्षति हुँदा पानीको चुहावटमा समस्या हुने र राज्यको लगानी खेर जाने गरेको बताउँछन्, सहरी विकासविद् राजेश सिंह । “नयाँ पाइपलाइनमा अहिल्यै नै समस्या देखिनु राम्रो होइन, पाइप जडानका क्रममा राम्रोसँग फिटिङ नभएर पाइप फुटेको पनि हुनसक्छ, अथवा ठेकेदारको लापारबाहीका कारण पनि समस्या आएको हुनसक्छ, पाइपमा पानीको चाप बढी भएको अवस्थामा पनि फुटेर सोमबार लाजिम्पाटको सडक जलमग्न भएको हुनसक्छ,” उनले भने, “मेलम्चीको पूरै पानी आउन थालेपछि झन् क्षति बढ्न सक्छ, अहिले त साना पाइप फुटेको छ, अझै झन् ठूलो पाइप फुट्यो भने बढी क्षति गर्छ, सडक बिग्रन्छ, प्रदूषण बढ्छ, खाल्डामा पानी जम्दा दुर्घटना हुनसक्छ, तसर्थ समयमै सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।”
निर्देशनालयका अनुसार यो मेलम्चीको नयाँ पाइपलाइन विस्तारको काम भने कालिका/रमण जेभीले गरेको थियो । यो पाइपलाइन सात सय एमएमको छ । यो पाइपलाइन डिस्ट्रिब्युसन नेटवर्क इम्पु्रभमेन्टअन्तर्गत निर्माण गरिएको थियो । काठमाडौं उपत्यकामा एक हजार ५० किलोमिटर खानेपानी वितरणका लागि पाइपलाइन विस्तार र ७७ किलोमिटर ट्रंकलाइन विस्तार गरेको छ ।