हस्तकला मेलामा १० करोडको कारोबार

नेपाल हस्तकला महासंघद्वारा आयोजित १९औं हस्तकला व्यापारमेला तथा १७औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् । मेलामा बिक्री तथा बुकिङसमेत गरी कुल १० करोड रुपैयाँ बराबरको हस्तकलाजन्य सामग्रीको कारोबार भएको मेला आयोजक समितिका संयोजक तथा महासंघ उपाध्यक्ष दिल्लीरत्न तुलाधरले जानकारी दिए ।
मेलाको गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गरेकी थिइन् । मंगलबार मेला तथा प्रतियोगिताको अन्तिम दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मेला अवलोकन गर्दै हस्तकला क्षेत्रमा योगदान पुर्याउने विभिन्न विशिष्ठ व्यक्तित्वसहित हस्तकला प्रतियोगितामा पुरस्कृत कलाकारलाई सम्मान र पुरस्कार प्रदान गरे ।
मन्त्री बडुले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत उत्पादनमा वृद्धि मुलुक विकास र समृद्धि विशेष अभियान सञ्चालन गरिरहेको उल्लेख गर्दै हस्तकला क्षेत्र यसको लक्ष्य प्राप्तिका माध्यम भएको धारणा राखे । उनले हस्तकला क्षेत्रका समस्या सम्बोधन गर्न तयार रहेको उल्लेख गर्दै व्यवसायीसँग सरकारी लक्ष्य प्राप्तिमा हातेमालो गर्न आग्रह गरेका छन् ।
मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, वागमती प्रदेशका पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलगायत नेपाल सरकार र प्रदेश सरकारका विशिष्ठ व्यक्तिले अवलोकन गरेका थिए । मेलामा १० ज्येष्ठ कलाकारलाई औषधिउपचार खर्चसहित सम्मान गरिएको थियो भने महासंघको स्थापनाकालदेखि हालसम्म बहालवाला ज्येष्ठ ५० जना सदस्यलार्ई पनि सम्मान गरिएको थियो ।
तुलाधर र श्रेष्ठ प्रथम
हस्तकला प्रतियोगिताअन्तर्गत मानव मुखाकृत गरुड अर्थात् बण्टेजको मूर्ति निर्माण विधामा कलाकार दिपकराज तुलाधर प्रथम भएका छन् भने रुपेश वज्राचार्य र मनोज शाक्य क्रमशः दोस्रो र तेस्रो भएका छन् ।
यस्तै, हस्तकला मफलर डिजाइनतर्फ चण्डेश्वरी श्रेष्ठ प्रथम भइन् भने चैत्यदेवी डंगोल र गीता पुटुवारले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । दुवै विधामा प्रथम हुने कलाकारले नगद ५० हजारसहित प्रमाणपत्र र दोस्रो तथा तेस्रो हुनेले नगद ३० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरस्कृत कलाकार पुरस्कृत व्यक्तित्वहरूलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा तथा महासंघ अध्यक्ष प्रचण्ड शाक्यलगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।