महानगरको कर संकलन अभियान

विराटनगर महानगरपालिकाले स्थानीयस्तरमै पुगेर जनताका समस्या बुझ्नुका साथै कर संकलन अभियान सुरु गरेको छ । आन्तरिक आयलाई बलियो बनाएर विकास निर्माणका कार्यलाई गति दिन अभियान सञ्चालन गरिएको महानगरको भनाइ छ । अभियानको मंगलबार महानगरका मेयर नागेश कोइरालाले शुभारम्भ गरे ।
चालू आर्थिक वर्षमा ८७ करोड आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको विराटनगर महानगरपालिकाले कर संकलन अभियान सुरु गरेको हो । विराटनगर–४ स्थित ढाटबाट महानगरका मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे/नगरेको र फोहोरको सदस्य बने/नबनेको हेरिने राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।
पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र १० मा अभियान सञ्चालन हुनेछ । महानगरले सोचेजस्तो कर संकलन नभएका कारण अभियान सञ्चालन गर्नुपरेको मेयर कोइरालाले बताए । सबैको साथ र सहयोगले कर अभियान प्रभावकारी हुने उनको भनाइ थियो । “महानगरको अहिलेको जुन आन्तरिक आम्दानी छ त्यसबाट विराटनगरवासीको इच्छा र चाहना परिपूर्ति गर्न असम्भव छ,” उनले भने, “आन्तरिक राजस्व अभिवृद्धि गरी विकास निर्माणलाई तीव्रता दिन अभियान सञ्चालन गरेका हौं । यो अभियानलाई साथ दिन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछु ।”
उनले जनताबाट संकलित राजस्व एक पैसा पनि तल–माथि हुन नदिने प्रस्ट्याए । सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रमुखताका साथ लिएर अगाडि बढेको उनले बताए । कर संकलन नभएसम्म जनताको अपेक्षाअनुसार विकास निर्माण हुन नसकेको मेयर कोइरालाले बताए । उठ्नुपर्ने कर नउठेका कारण महानगरका तर्फबाट जनतालाई दिइनुपर्ने सेवा सुविधा दिन नसकेको उनले उल्लेख गरे ।
“बैंकिङ कारोबारका लागि मात्रै व्यवसायीहरू करको दायरामा आएको पाइयो,” उनले थपे, “अब सबैलाई करको दायरामा आउँछौं । खाली हामी कर मात्रै संकलन गर्दैनौं उठेको करलाई विकास निर्माणमा लगाउँछौं ।” मेयर कोइरालाले उठेको करलाई जनताकै सेवामा खर्च गर्ने प्रतिबद्धता पनि जनाए ।
उपमेयर कार्कीले अभियानअन्तर्गत जनताका समस्या पनि बुझ्ने जानकारी दिइन् । उनले खानेपानी, सरसफाइ, विद्युतलगायतका समस्या बुझ्ने र सम्भव भएसम्म तत्काल सम्बोधन गर्ने बताइन् । “यो अभियान कर संकलन गर्ने मात्रै होइन जनताका समस्या पनि बुझ्ने अभियान हो,” उपमेयर कार्कीले भनिन्, “आजै पनि विद्युतको समस्या टिपाउनु भएको थियो हामीले तत्कालै सम्बोधन गर्यौं ।” अभियानको पहिलो दिन मंगलबार ढाट आसपास सञ्चालित किराना पसलसहित विभिन्न व्यवसायको अनुगमन गरिएको थियो ।
सो क्रममा महानगरका कर्मचारीहरूले सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, दर्ता, नवीकरण, नक्सा पास गरे÷नगरेको, फोहोरको सदस्य बने/नबनेको हेरेका थिए । दर्ता र नवीकरण नगरेका पसल र व्यवसाय सञ्चालकलाई १५ दिनभित्र दर्ता गर्ने गरी पत्र दिइएको थियो । अभियानकै एउटै उद्देश्य राजस्व अभिवृद्धि गर्नु रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । अभियान महानगरका सबै वडामा सञ्चालन गरिने उनले जानकारी दिए ।
पहिलो दिन व्यवसायीबाट राम्रो प्रतिक्रिया आएको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । उनले भने, “व्यापारी र व्यवसायीबाट राम्रो रेस्पोन्स आएको छ । दर्ता र नवीकरण नगरेका व्यवसायीहरूले दुई–चार दिनमै गर्ने कमिटमेन्ट गर्नु भएको छ ।” अभियानअन्तर्गत सरसफाई, फोहोरको व्यवस्थापन, विद्युत, खानेपानीलगायतका समस्याका विषयमा समेत जानकारी लिइनेछ । महानगरको अभियान अत्यन्तै सकारात्मक भएको व्यवसायीहरूले बताएका थिए ।
महानगरको अभियानमा आफूहरूको साथ रहने व्यवसायी रञ्जित रोकाले बताए । “जनप्रतिनिधिहरूको अहिले नै कमेन्ट गर्ने समय भएको छैन,” रोकाले भने, “उहाँहरू जितेर गएको पनि धेरै भएको छैन । तर उहाँहरूले सुरुवात राम्रो गर्नु भएको छ । राम्रो कामका लागि व्यवसायीको सधैं साथ रहन्छ ।” गत आर्थिक वर्ष ४९ करोड ७८ लाख आन्तरिक राजस्व संकलन गरेको महानगरले चालू आर्थिक वर्षमा ८७ करोड संकलन गर्ने लक्ष्य राखेको छ ।