नयाँ मन्त्री पनि पुरानै निवासमा

संघीय तथा प्रदेशसभाको आवधिक निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन हुने क्रममा छ । तर, नयाँ मन्त्रीहरुले पनि ललितपुरको भैंसेपाटीमा निर्माण भइरहेको मन्त्री निवासमा प्रवेश नपाउने भएका छन् ।
मन्त्रिहरुका लागि भैंसेपाटीमा निर्माण भइरहेको भवनको ७८ प्रतिशत भौतिक र ६५ प्रतिशत वित्तीय प्रगति मात्र पूरा भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले बनाउन लागेको यो भवन लामो समय देखि अधुरो छ । यही कारण नयाँ मन्त्रिहरु पनि पुल्चोकको पुरानो भवनमा नै बस्न बाध्य हुनेछन् ।
समन्वय कार्यालयका उपनिर्देशक दीपक श्रेष्ठका अनुसार आगामी चैतसम्ममा बल्ल पहिलो चरणको काम पूरा हुनेछ । हाल पुलचोकमा रहेको मन्त्री निवासलाई स्थानान्तरण गर्ने सरकारको निर्णयबमोजिम ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा मन्त्री निवास बनिरहेको हो ।
नयाँ मन्त्री तत्काल नयाँ भवनमा बस्न नपाउने भए पनि ४ महिनापछि निवास तयार हुने आयोजना उपनिर्देशक श्रेष्ठले बताए । उनले भने, “सिभिल वर्क पूरा भएर फिनिसिङको काम भइरहेको छ । थप निर्माण गर्नुपर्ने भित्रि साजसज्जाको लागि पनि काम भइरहेको छ ।”
२०७६ कात्तिक २७ गते सुरु भएको मन्त्री निवासको काम २०७९ कात्तिकमा पूरा गर्नुपर्ने थियो । तर कोभिड–१९का कारण आगामी चैतसम्म म्याद थप गरिएको छ । दोश्रो चरणको निर्माणको क्रममा रहेको स्विमिङ पुल, हेल्थ क्लब र सुरक्षाकर्मी बस्ने भवन भने चालू आर्थिक वर्षमा नै निर्माण थालिएको आयोजना उपनिर्देशक श्रेष्ठले बताए । दोस्रो प्याकेजको काम भने २०८० सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
९६ रोपनी १० आना जग्गामा निर्माण भइरहेको भवनमा २४ वटा मन्त्री निवाससहित राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि पनि भवन बन्दैछन् । आयोजनाले निर्धारित समयसीमाभित्र नै भवन निर्माणको काम सम्पन्न हुने गरी काम अघि बढाएको आयोजना उपनिर्देशक श्रेष्ठले बताए । प्रदेश प्रमुख/मुख्यमन्त्री निवास तथा सम्पर्क कार्यालय, मन्त्री निवाससँगै सात वटै प्रदेशका प्रदेश प्रमुख/मुख्यमन्त्रीहरुका लागि निवास तथा सम्पर्क कार्यालय निर्माणको काम पनि एकसाथ अघि बढेको छ ।
आयोजना उपनिर्देशक श्रेष्ठले भने, “प्रदेश प्रमुख र मुख्यमन्त्री भवन करिब ८५ प्रतिशत सम्पन्न भएको छ भने आर्थिक प्रगति ६५ प्रतिशत भएको छ । बिलहरु पास हुने त्रममा रहेकाले गर्दा मन्त्रिपरिषद्, प्रदेश प्रमुख, मुख्यमन्त्रीका भवनको वित्तीय प्रगति कम देखिएको हो ।” बाँकी काम पनि समयसीमाभित्र नै सम्पन्न गर्नेगरी काम अगाडि बढाइरहेको आयोजना निर्देशनालयले जनाएको छ ।
सैंबु आवास क्षेत्रमा निर्माणाधिन मन्त्री निवास नेपालको मौलिक कलाकौशल र संस्कृति झल्कने गरी निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय मार्फत निर्माणाधिन मन्त्री निवासलाई मौलिक शैलीमाा निर्माण गरिएको छ । निर्माणाधिन २७ वटै भवनको स्ट्रक्चरको काम सम्पन्न भएको छ ।
हाल भवनको फिनिसिङको काम तीव्र गतिमा अघि बढेको छ । मन्त्री निवास १ अर्ब ३ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण भइरहेको छ । तीन तला रहेको प्रत्येक भवन नेपाली परम्परागत शैलीमा निर्माण गरिएका छन् । सबै भवनमा डाँछी इँट्टा र छानोमा मौलिकता झल्कने टायल लगाइएको छ । हरेक भवनमा मौलिकता झल्कने आँखीझ्याल राखिएको छ । श्रीको हनुमान जेभीले जिम्मेवारी पाएको निवासमा आधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको छ ।
भवनभित्र सुरक्षा व्यवस्थालाई जोड दिएर आधुनिक पूर्वाधारसहित निर्माण गरिएको सबै भवन भूकम्प प्रतिरोधी रहेका छन् । कुल क्षेत्रफलमध्ये १२ रोपनी क्षेत्र भवनले ओगट्ने छ भने ३८ रोपनी ८ आना हरियालीकरणका लागि प्रयोग गरिने जनाइएको छ । २१ रोपनी क्षेत्र आवासभित्रको आन्तरिक सडकले ओगट्ने छ भने ११ रोपनीमा हेल्थ क्लब बन्नेछ ।
निवास परिसरभित्र एक सय सवारी साधन अटाउने पार्किङ स्थल समेत निर्माण हुनेछ । पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरी फिनिसिङको काम अगाडि बढाइएको छ । मन्त्री निवासको दोस्रो चरणमा सिभिलको काम भइरहेको आयोजना उपनिर्देशक श्रेष्ठले भनाइ छ । हरियाली पार्क, सुरक्षाकर्मी बस्ने तीन वटा ब्यारेक, स्विमिङ पुल, बहुउद्देश्यीय सभा हल, हेल्थ क्लब लगायतका संरचना निर्माणको काम भइरहेको छ ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तीन तलाका भवनहरु २७ रोपनी १३ आना क्षेत्रफलमा निर्माण गरिएको छ । १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा एवं पोखरी र चार रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्रले ओगटेको छ । कार्यालयको प्रत्येक ब्लकमा दुईवटा भवन रहेका छन् । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुने छन् । निर्माणधिन भवन निर्माणको जिम्मेवारी केसी÷समानान्तर जेभीले करिब ७३ करोड लागतमा निर्माण गरिएको हो ।
संघीय राजधानी काठमाडौं आउँदा प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुको कार्यसम्पादनमा सहजीकरणका लागि निवास सुविधा दिन भवन निर्माण गरिएको हो । सात वटै भवनको अगाडि सुरक्षाकर्मी बस्ने सानो भवन निर्माण गरिएको छ । प्रदेश प्रमुख÷मुख्यमन्त्री निवास तथा सम्पर्क कार्यालय, सात वटै प्रदेशका प्रदेश प्रमुख/मुख्यमन्त्रीहरुका लागि निवास तथा सम्पर्क कार्यालय निर्माणको काम पनि एकसाथ अगाडि बढाइएको छ ।
यसैबीच, सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् । शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरीक्षण गरी उनले समयमा निर्माण सम्पन्न निर्देशन दिएका थिए ।