Logo

‘अतिक्रमण हटाउने अभियान सुरु गर्छौं’

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अतिक्रमण हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौँ साधारणसभामा बोल्दै नगर प्रमुख केसीले अतिक्रमण भएका सार्वजनिक ठाउँको पहिचान गरिएको ठाउँबाट व्यवसायी सबैलाई हटाएर संरक्षण गर्ने अभियान नगरले सुरु गर्ने बताएका हुन् ।

कालीपुल, जिल्ला प्रशासन कार्यालय अगाडि र नगरपालिका अगाडिको मोटरेबल पुलको अतिक्रमण हटाउन सार्वजनिक सूचना जारी गरेको र अब केही दिनमै अतिक्रमण गरेर बसेका व्यवसायी र बनेका पूर्वाधारलाई हटाउने प्रतिबद्धता साधारण सभामा बताए । संघीयतालाई बलियो बनाउन स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत पहिचान गरी जनतालाई भार नपर्ने गरी आयस्रोत बढाउनुको विकल्प नभएको बताए ।

पछैलाई केन्द्र बनाएर बेनीको पर्यटन विकासको योजनाका लागि निजी क्षेत्रसँग पनि समन्वय गरेको नगर प्रमुख केसीले बताए । ‘अतिक्रमित जग्गा खाली गराउन व्यवसायीले अटेर गरेपछि नगरले ३५ दिने सूचना जारी गरिएको छ, मिडिया, प्रशासन, सुरक्षा निकायको सहयोगमा प्रक्रिया अनुसार नभएपछि डोजर चलाएर हटाउँछौं’, मेयर केसीले भने । ‘विरेन्द्रचोकदेखि नगर गेटसम्मका सबै टहरा, व्यवसायीक टंकी र ठेला हटाएर नालीसहित सडक फराकिलो बनाउने र ढलान गर्ने नगरको योजना छ ।’

मेयर केसीले आम्दानी स्रोत कम हुँदा सोचे जस्तो काम गर्न गाह्रो भएको छ । नगरभित्रका सबै वडा गाउँपालिकाभित्रको वडा जस्तो छ । संघ, प्रदेश र नगरभित्रको आम्दानीको सहकार्यले यहाँ नगरको सडक, शिक्षा, स्वास्थ्य लगायतको सेवासुविधा प्रभावकारी बनाउने योजना रहेको साधारणसभामा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्