प्रहरी महानिरीक्षकद्वय र वीउवासंघबीच छलफल
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुले आज एक समारोहका बीच संघकै बैठक कक्षमा भेटघाट तथा छलफल गरेका छन् ।
संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरुको उपस्थितिमा भएको यस छलफल तथा भेटघाट कार्यक्रमले वीरगञ्ज लगायत पर्सा बाराको बहुआयामिक महत्व र उपादेयतालाई एक पटक पुनः पुष्टि गरेको बताए ।
डा. गुप्ताले वीरगञ्ज पर्सा बारा क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने, सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा हुनुपर्ने, औद्योगिक सुरक्षा बलको पुनर्स्थापना हुनुपर्ने, वीरगञ्जमा बस्ने बाहिरी व्यक्तिहरुको विवरण संकलन गरी डाटाबेस तयार गर्नुपर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि बजेट विनियोजन गर्नुपर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कार्य सम्पादनमा समन्वय हुनुपर्ने लगायतका विषयहरु राखेका थिए ।
प्रहरी महानिरीक्षकद्वयले वीउवासंघद्वारा उठाइएका विषयवस्तुहरुलाई आफूहरुले गम्भीरतापूर्वक लिएको बताए । उनीहरुले वीरगञ्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन दुवै प्रहरी संगठन प्रतिबद्ध रहेको बताउँदै व्यवहारिक कठिनाइहरुलाई निरुपण गर्न आ-आफ्ना मातहतका अधिकृतहरुलाई निर्देशन दिइ सकेको बताए ।
कार्यक्रममा वीउवासंघका पूर्व अध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, का.स.स. हरि पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक मसाऊद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्ति राज गुरुङ्ग, प्रहरी अधिकृतहरु, महासचिव मनोजकुमार दास, सचिव आशीष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल लगायत उद्योगी, व्यवसायीहरुको वृहत उपस्थिति रहेको सो कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै संघका उपाध्यक्ष हरि गौतमले औद्योगिक सुरक्षा बलको पुनस्र्थापना अपरिहार्य रहेको विषय माथि पुनः जोड दिएका थिए ।