पुसदेखि ढल्केबर सवस्टेसन सञ्चालनमा आउने «

पुसदेखि ढल्केबर सवस्टेसन सञ्चालनमा आउने

४००/२२० केभीको सवस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच ९ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार हुने छ ।

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढ गर्दै नेपाल र भारतबीचको विद्युत् व्यापार सहज बनाउने उद्देश्यले धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सवस्टेसन आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ ।
स्वदेशी लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सवस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सवस्टेसन हो । सरकारले पनि बजेटमार्फत आगामी आर्थिक वर्षभित्रै ४०० केभीको ढल्केबर सवस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।
४००/२२० केभीको सवस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “सवस्टेसनको निर्माण सकिएपछि ठूलो क्षमताका प्रसारणलाइनमार्फत दुई मुलुकबीच विद्युत् आदानप्रदान गर्न सकिने छ, यसबाट अन्तरदेशीय विद्युत् व्यापार थप सहज बन्ने छ,” उनले भने ।
ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनलाई २२० केभीमा चार्ज गरी भारतबाट पिक समयमा दैनिक २२० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । अन्य विन्दूको तुलनामा मुजफ्फरपुरबाट आयात हुने विद्युत्को मूल्य सस्तो छ । ढल्केबरमा २२०÷१३२ केभी सवस्टेसन पनि सञ्चालित छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले शनिबार सवस्टेसन निर्माण प्रगतिको स्थलगत निरीक्षण गरी निर्धारित समयमै काम सम्पन्न निर्देशन दिएका छन् । घिसिङले यो सवस्टेसन सरकारको उच्च प्राथमिकताको आयोजना भएकाले कुनै पनि वहानामा निर्माणमा ढिलाइ गर्न नहुने बताए ।
सवस्टेसन निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एबीबीले ठेक्का सम्झौतामा निर्धारित समय अर्थात ३१ डिसेम्बर २०१९ भित्र सवस्टेसनको काम सकी चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । सवस्टेसनको इन्जिनियरिङको ९५ प्रतिशत, उपकरणको उत्पादन तथा आपूर्तिको ६० प्रतिशत र जडान तथा सिभिल कार्यको प्रगति ४० प्रतिशत छ । प्राधिकरण र कम्पनीबीच सवस्टेसन निर्माणका लागि ८ डिसम्बर २०१७ मा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले मकवानपुरको हेटौंडा र सुनसरीको इनरुवामा पनि ४००÷२२० केभीको सवस्टेसन निर्माण गरिरहेको छ । उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवद्र्धन लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीको विस्तार तथा सदृढीकरण गरिएको हो ।

सप्तरीमा वनको अवरोध अझै हटेन
डिभिजन वन कार्यालय सप्तरीले रुख काट्न नदिँदा करिब साढे दुई वर्षदेखि रोकिएको राष्ट्रिय महत्वको हेटौंडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारणलाइन आयोजनाको काम अझै खुल्न सकेको छैन । मन्त्रिपरिषद्ले आयोजनालाई वन क्षेत्रको जग्गा र त्यहाँ रहेका रुखविरुवा हटाउन अनुमति दिएको छ । तर, डिभिजन वन कार्यालयले विभिन्न वहाना बनाउँदै नियोजित रूपमा रुख कटानका लागि आदेश नदिँदा आयोजनाको काम रोकिएको हो । “मन्त्रिपरिषद्को निर्णय पेश गरेको २० दिनभन्दा बढी भयो, तर डिएफओले अझैसम्म रुख कटानको आदेश नदिँदा काम रोकिएको छ, विना कारण डेढ वर्षदेखि राष्ट्रिय महत्वको आयोजनाको काम रोक्ने डिएफओलाई नत सरुवा गरिन्छ न कारबाही नै,” प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।
रुख कटानको स्विकृति दिन आयोजनाले पटक–पटक गरेकोे ताकेतालाई डिएफओले अस्वीकार गर्दा सप्तरीमा पर्ने आयोजनाको १३ वटा टावर निर्माण नै रोकिएको हो । यो प्रसारणलाइनको निर्माण सकिएन भने ४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउने छ ।
हेटौंडा–ढल्केबर–दुहवी २८८ किलोमिटर प्रसारणलाइन आयोजनाले ७९२ वटा टावरमध्ये सप्तरीमा १४२ वटा पर्छ । त्यसमध्ये ११७ टावरको जग हालिएको छ । बाँकी २५ मध्ये १३ वटा वन क्षेत्रभित्र पर्छन् ।
नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैंकको नेपाल–भारत विद्युत् प्रसारण लाइन तथा व्यापार परियोजनाअन्तर्गतको सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको हो । आयोजनाले निर्माण गर्नुपर्ने ७९२ टारमध्ये ५७६ को जग हालिएको छ भने ५१२ खडा गरिएको छ । आयोजनाको निर्माण सन् २०२० को अप्रिलमा सक्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्