विकासको चाहना सधैं अधुरा

हिमाली जिल्लामा सूचीकृत म्याग्दी राजनीतिक पहुँच नपुगेकै कारण विकासमा पछि परेको जनगुनासो छ । धवलागिरि गाउँपालिका–१ गुर्जाको सिंगो वडा र अन्य दर्जनबढी बस्तीमा सडक सञ्जाल पुग्न सकेको छैन । भौगोलिक रूपमा दुर्गम र विकट बस्तीमा शिक्षा, स्वास्थ्यको अवस्था दयनीय छ ।
सहरदेखि गाउँसम्म नै खानेपानीको समस्या व्याप्त छ । संघीय संरचना तयार हुँदासमेत स्थानीय तहले जनताका आधारभूत आवश्यकताभन्दा डोजरे विकास ‘सडक विस्तार’ गर्ने कामलाई नै जोड दिएका छन् । सांसदप्रति जनमैत्री नीति निर्माणको भन्दा विकास निर्माणको चाहना जनताले राखेका छन् । अहिले निर्वाचित सांसदमा यो काम हेर्नै बाँकी छ ।
जिल्ला सदरमुकाम बेनीदेखि सिमखण्डको १२ किलोमिटर सडक, बेनी नगरपालिका–१ रत्नेचौरमा करिब १ किलोमिटर र बेनी–अर्थुङ्गे सडकको करिब ४ किलोमिटर सडक कालोपत्रेबाहेक म्याग्दीमा अन्य सडक जीर्ण र कच्ची छन् । कालोपत्रेका लागि योजना सुरु भएको दजर्न सडक अलपत्र छन् । जहाँ आपतविपतको समयमा एम्बुलेन्स जान सक्दैनन । स्वास्थ्य क्षेत्रको जिल्लाकै ठूलो ५० शैयाका अस्पताल भवन अलपत्र छ । सानो उपचारका लागि महँगो भाडा तिरेर पोखरा काठमाडौं उपचार गर्न जानुपर्ने बाध्यता छ ।
दुर्गम बस्ती कुइनेखानीका ७६ वर्षीय टिकाबहादुर विश्वकर्माले विकासको सुविधा नहुँदा गाउँ रित्तिँदै गएको बताउँदै निर्वाचनमा जनतासामु गरेका प्रतिबद्धता सांसदले पूरा गर्नुपर्ने बताउँछन् । ‘‘अहिलेसम्म आश्वासनमात्रै पाइयो, विकास पाइएन, अब पनि विकास नगर्ने हो भने गाउँखाली हुन्छ, न खानेपानी छ नत स्तरीय शिक्षा नै, हामीले विकासको आसा कहिलेसम्म गर्ने हो,” उनले भने ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका खमबहादुर गर्वुजा (खमवीर) विजयी हुँदा प्रदेश सभा (१) र (२) मा क्रमश ः नेकपा माओवादी केन्द्रका हरि भण्डारी र रेशम जुग्जाली विजयी भएका छन् । जीतपछि मतदातालाई धन्यवाद दिने कार्यक्रममा जनप्रतिनिधिले जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न पाँच वर्षको समयलाई भरपुर उपयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्वुजाले भने, “धेरै योजना अधुरा छन्, अलपत्र परेका छन्, यिनीहरूलाई तीव्रता दिनु पहिलो प्राथमिकता हो, जनताको घरदैलोमा जाँदा सबै समस्याबारे जानकार बनेको छु, अब दोष दिने ठाउँ छैन, जनताले अनुभूति गर्ने गरी विकास निर्माणलाई अघि बढाउन भूमिका खेल्नु मेरो दायित्व छ ।”
प्रदेश सभा (१) का सदस्य भण्डारीले रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा मतदातालाई धन्यवाददिने कार्यक्रममा विकासमार्फत् गाउँलाई नै सहर बनाउने आफ्नो एजेन्डालाई सार्थक बनाउन प्रदेश सभामार्फत् आवश्यक नीति निर्माण र बजेट व्यवस्थापनमा भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
सहरमा पाइने गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँच, शुद्ध खानेपानी, सिँचाइको उपलब्धता र गाउँमा उत्पादन भएका उपजको सहज बजारीकरणको बन्दोबस्त मिलाउन सकेमा बढ्दो बसाइँ सराइलाई न्यूनीकरण गर्ने योजना भण्डारीको छ । प्रदेश सभा (२) बाट निर्वाचित जुग्जालीले उम्मेदवार बनेर जनता माझ जाँदा गरेका प्रतिबद्धता नभुल्ने बाचा नै आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
‘जिल्लामा निर्माण व्यवसायीले गर्ने ढिलासुस्ती पनि विकास निर्माणमा देखिएको अर्को चुनौती छ । यसतर्फ समेत आफूहरूको ध्यान केन्द्रित रहने छ ।” जनताको चाहना अनुरुपभन्दा पनि कार्यकर्ता केन्द्रित टुक्रे योजनामा बजेट केन्द्रित हुदाँ जनताका चाहनाअनुसार विकास निर्माण नभएको देखिन्छ ।