माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पाइपमा अड्कियो ४५६ मेगावाट विजुली «

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पाइपमा अड्कियो ४५६ मेगावाट विजुली

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पाइपमा अड्कियो ४५६ मेगावाट विजुली दिलबहादुर केसी दोलखा, १ असार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम लगभग पूरा भएको छ । लामाबगर पुग्ने जो कोहीले सजिलै भन्न सक्छ अब त विजुली बल्न धेरै दिन कुर्नु नपर्ने रहेछ । हेर्दा धेरै काम पूरा भएको छ । लामाबगर पुगेपछि प्रायः सबैको प्रश्न हुन्छ विद्युत् उत्पादन हुने मिति कुन हो ? केही वर्षदेखि सोधिने प्रश्नको जवाफ अनुसार अहिलेसम्म मिति भेट्न नसकेपछि आयोजनामा धेरै वर्षदेखि दिनरात खटिने अधिकारीहरू आफैं अन्योलमा छन् । बाहिरबाट देखिने सबै काम पूरा हुँदासम्म पनि अब कुन दिनदेखि विद्युत् उत्पादन हुन्छ भन्ने स्पष्ट जवाफ उनीहरूसँग पनि छैन । आयोजनाको विद्युत् उत्पादन गर्ने उपकरणहरू जडान भएको ६ महिना पूरा भयो । विद्युत् गृहभित्रको टर्वाइन, जेनेरेटर, एमएसओभी जडान गरी ड्राइ परीक्षण सफल भइसकेको छ । “यी उपकरणले ६ महिनादेखि पानी मात्र पर्खिरहेका छन्,” आयोजनाका योजना तथा अनुगमन प्रमुख विमल गुरुङले भने, “अहिले त मेसिनमा खिया लाग्ला भनेर दैनिक रूपमा सुख्खा चलाउँदै राख्नु परेको छ ।” काम पूरा भएर पनि विद्युत् गृहभित्र मेसिन चलाएर राख्न मात्र केही कर्मचारी ठेकेदार कम्पनी एन्द्रिज हाइड्रोले राख्नुपरेको छ । सबैमा कम्प्युटर जडान छन् । तर ती उपकरण लामो समयसम्म नचल्दा बिग्रेला भन्ने चिन्ता छ । समस्या पाइपमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादनमा पेनस्टक पाइप जडानमा नै देखिएको छ । २७ टनसम्मका ठूला पाइप ढुवानी कठिनाइका बाबजुद पूरा भए पनि अहिले जडान र त्यस वरपर कंक्रिटमा समस्या देखिएको छ । पाइपकै कारण ६ महिनाअघि नै ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने ६ वटा युनिट बेकामे बनेका छन् । विद्युत् गृहसम्म पानी ल्याउने बाटो लामाबगरबाट ८ किलोमिटर सुरुङपछि ८ सय मिटर पेनटक पाइप छ । यी पाइपको ब्यास ३.६ मिटरका छन् । पानी आउने बाटो सुरुङको काम अरु पूरा भए पनि त्यही पाइपमा नै अहिलेसम्मको सबै प्रगति अड्किएको छ । लामाबगरमा निर्माण भएको नदी फर्काएपछि आउने सुरुङबाट ३१० मिटर र ३७३ मिटरको २ वटा ठाडो सुरुङ निर्माण भएको छ । ती दुवैमा पेनस्टक पाइप जडान गर्नुपर्छ । तर ती दुवै ठाडो सुरुङमा अहिलेसम्म पाइप जडान कार्य सुरु हुन सकेको छैन । दुवै ठाडो सुरुङ वेन्ड पाइप जडान पूरा भएको छ । पाइप जडानका लागि सुरु गर्दा कहिले तार खुस्किएर नयाँ फेर्नुपर्ने त कहिले अन्य समस्या आउँछ । यी समस्या र काम देख्दा सानो तर अत्यन्तै जटिल भएको गुरुङले बताए । “६ महिना अघिसम्म सडकका कारण पाइप ढुवानीमा समस्या थियो,” उनले भने, “अहिले पाइप सबै साइडमा आइसके, तर जडानमा छ, यसमा पनि आयोजना र ठेकेदारले सबै उपाय लगाइरहेका छौं ।” नेपालमा ठाडो सुरुङ अहिलेसम्मकै लामो र ठूलो भएकाले पनि यसबारे नेपालमा अनुभव नभएकाले पनि समस्या जटिल बनेको छ । पाइप ढुवानी र जडानका लागि भारतीय कम्पनीले टेक्सम्याकोले जिम्मा पाएको थियो । उसको काम ढिला भएपछि गत पुसमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणकै पहलमा आयोजनाकै पहलमा पावर हाउसको उपकरण जडान गर्ने अष्ट्रियन कम्पनी एन्द्रिज हाइड्रोसँग सम्झौता भएको छ । तर उसले पनि ५ महिना वितिसक्दासम्म खासै प्रगति हासिल गर्न सकेको छैन । दुवै ठाडो सुरुङमा शनिबारदेखि पुनः पाइप जडानको काम सुरु भएको छ । यसअघि बिग्रेको क्रेन समेत व्यवस्था गरिएको छ । तर त्यसले ढिला काम गरेकाले चाँडो गराउन प्रयास जारी छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले भने, “जडानको गति जति चाँडो हुन्छ, त्यति चाँडो विद्युत् उत्पादन हुन्छ ।” २ हप्ता जतिको काम हेरेपछि कुन गतिमा काम हुन्छ भनेर भन्न सकने उनले बताए । आयोजनाबाट उत्पादित विद्युत् प्रसारण हुने प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । ४७ वटा टावर मध्ये एउटा मात्र उठाउन बाँकी छ । तार तान्ने काम पनि ९ किलोमिटर मात्र बाँकी छ । त्यो पनि २ महिनाभित्र पूरा हुने प्रवक्ता डा. न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्