भाडा वृद्धि फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

औद्योगिक क्षेत्रभित्र गरिएको भाडा वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनरत व्यवसायीले भाडा वृद्धिसम्बन्धी निर्णय फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले भाडा वृद्धि फिर्ता नभए मुलुकका १० वटै औद्योगिक क्षेत्रमा सशक्त आन्दोलनका कार्यक्रम गरिने बताए ।
मंगलबार पाटन औद्योगिक क्षेत्र कल्याण तथा सुरक्षा समितिले आयोजना गरेको कार्यक्रममा महासंघ अध्यक्ष पाठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नाफामुखी बनेको उल्लेख गर्दै एकतर्फी र अन्यायपूर्ण विभेदकारी भाडा वृद्धिको सशक्त विरोध गरिने बताए ।
कार्यक्रममा कल्याण तथा सुरक्षा समितिका अध्यक्ष शैलेन्द्रलाल प्रधानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक क्षेत्रको भाडा वृद्धिसम्बन्धी विषयमा उदासिनता देखाएको भन्दै आलोचना गरेका छन् । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडा वृद्धिको मापदण्ड बनाएर प्रत्येक पाँच वर्षमा भाडा वृद्धि गर्नुपर्नेमा नियम विपरित २०७२ र २०७४ सालमा १५/१५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको भन्दै व्यवसायी आन्दोलित छन् ।
२०७५ सालमा एकै पटक ८ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने कार्य नियमावली विपरित रहेको र यो कार्यान्वयन हुन नसक्ने महासंघ अध्यक्ष पाठक बताउँछन् । २०७५ सालदेखि स्थगित रहि आएको यो विषयलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हालको सञ्चालक समितिले जबरजस्ती कार्यान्वयन गराउन खोज्ने कुरा आफूहरुलाई मन्जुर नभएको उनको भनाइ छ ।
महासंघले गत वर्षको ३ साउनमा १० सुत्रीय माग र १५ दिनको अल्टिमेटमसहित निवेदन पेश गरेकोमा १५ साउनमा उद्योगमन्त्री, सचिवसहितको उपस्थितिमा औद्योगिक क्षेत्रको भाडालगायत तत्कालीन तथा दीर्घकालीन समस्या समाधान गर्न समिति गठन गरेको थियो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा गठित उक्त समितिले प्रतिवेदन नबुझाइ सकेको अवस्थामा पुनः रकम भुक्तानी गर्न ताकेता पत्र उद्योगमा पठाउने गरिएको व्यवसायीको भनाइ छ । व्यवसायीहरुको तालुक मन्त्रालयबाट पनि औद्योगिक क्षेत्रको समस्या हाम्रो होइन भन्ने जस्ता गैह्रजिम्मेवारीपूर्ण जवाफ पाएको व्यवसायीहरु बताउँछन् ।