Logo

१० वाणिज्य बैंकको लाभांश वितरण प्रभावित हुने

चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासमा १० वटा वाणिज्य बैंकको प्राथमिक पुँजी (सीसीएआर) १० प्रतिशतभन्दा कम देखिएको छ । जसका कारण उनीहरूको लाभांश वितरण प्रभावित हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार पहिलो त्रैमासमा एनआईसी एशिया बैंक, प्रभु बैंक, एनसिसि, कुमारी बैंक लगायत विभिन्न १० वाणिज्य बैंकको प्राथमिक पुँजी १० प्रतिशतभन्दा कम रहेको हो ।

यस्ता बैंकमा सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, मेगा बैंक, सनराइज बैंक र माछापुच्छ्रे बैंक पनि रहेका छन् । राष्ट्र बैंकले बैंकहरूको सबै प्रकारका पुँजी र विश्लेषणको आधारमा प्राथमिक पुँजीको गणना गर्दै आएको छ । पुँजी कोषलाई राष्ट्र बैंकले प्राथमिक पुँजी (सीसीएआर) र पूरक पुँजी (सीएआर)लाई गणना गर्ने व्यवस्था छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूले ८.५ प्रतिशत प्राथमिक पुँजी र २.५ प्रतिशत पूरक पुँजी (क्यापिटल कन्जरभेसन बफर) गरी ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ, जसअन्तर्गत प्राथमिक पुँजी अनिवार्य व्यवस्था हो । यस्तो अनुपात बैंकहरूले दैनिक रुपमै कायम गरेर व्यवसाय गर्नुपर्ने हुन्छ । यस्तै मासिक रूपमा राष्ट्र बैंकमा यसको रिर्पोटिङ गर्नुपर्ने हुन्छ ।

सोही व्यवस्थाअनुसार प्राथमिक पुँजी ८.५ प्रतिशत पुर्‍याउन नसकेका बैंकहरूलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउँदै आइरहेको छ । दैनिक तथा मासिक रूपमा पनि तोकिएको पुँजीकोष कायम नगर्ने बैंकहरू राष्ट्र बैंकको सुपरिवेक्षकीय कारबाहीमा समेत पर्ने व्यवस्था छ । राष्ट्र बैंकको विवरण अनुसार यस वर्ष पनि बैंकहरूको लाभांश वितरणमा धक्का पर्ने देखिएको छ । गत आर्थिक वर्षमा पनि कतिपय बैंकहरूले प्राथमिक पुँजीको सीमा नभेट्दा लाभांश वितरण गर्न पाएका थिएनन् ।

कुनको कति ?

तथ्यांकअनुसार एनआईसी एशिया बैंकले लगातार २ वर्ष लाभांश वितरण गर्न नपाउने भएको छ । प्राथमिक पुँजी पुर्‍याउन नसकेपछि राष्ट्र बैंकले यस बैंकलाई अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा लाभांश वितरण गर्न रोकेको थियो । यसवर्ष पनि एनआईसी एशिया बैंकले तोकिएको प्राथमिक पुँजीकोष अनुपात पर्‍याउन सकेको छैन । जसका कारण यस बैंकले चालू आर्थिक वर्षको मुनाफाबाट आगामी आर्थिक वर्षमा पनि लाभांश वितरण गर्न नपाउने निश्चितजस्तै भएको छ ।

सेयरधनीले गरेको लगानीभन्दा बैंकले लिएको दायित्वको अनुपात बढी हुँदा यस बैंकले लाभांश वितरण गर्न नपाउने देखिएको हो । बैंकको सीसीएआर ८.९५ प्रतिशत रहेको छ । असार मसान्तमा यस बैंकको सीसीएआर ८.९३ प्रतिशत रहेको थियो । यस्तै, माछापुच्छ्रे बैंकको लाभांश वितरणमा पनि रोक लाग्ने भएको छ । गत असार मसान्तमा यस बैंकको सीसीएआर ८.८१ प्रतिशत रहेकोमा अहिले केही सुधार भई सबैभन्दा कम ८.७१ प्रतिशत कायम भएको छ ।

लक्ष्मी बैंकको सीसीएआर ९.९३ प्रतिशत रहेको छ । सीसीएआर नपुग्दा यस बैंकलाई राष्ट्र बैंकले गत वर्षको मुनाफाबाट लाभांश वितरणमा रोक लगाइसकेको छ । यस्तै, सनराइज बैंकको सीसीएआर ९.१८ प्रतिशत, सिद्धार्थ बैंकको ९.१३ प्रतिशत, सानिमा बैंकको ९.०३ प्रतिशत, एनसीसी बैंकको ९.०५ प्रतिशत र कुमारी बैंकको ९.५६ प्रशित रहेको छ । मेगा बैंकको सीसीएआर ९.८९ प्रतिशत र प्रभु बैंकको ८.६६ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा औषतमा वाणिज्य बैंकहरूको प्राथमिक पुँजी १०.५९ प्रतिशतभन्दा माथि देखिएको छ ।

यद्यपि ११ वटा वाणिज्य बैंकहरूको यस्तो पुँजी १० प्रतिशतभन्दा कम छ । गत असार मसान्तसम्म ८ वाणिज्य बैंकहरूको सीसीएआर बोर्डर लाइन ८.८१ प्रतिशतदेखि ९.६६ प्रतिशतसम्म कायम छ । साउनदेखि असोजसम्म भने सीसीएआर ८.६६ प्रतिशतदेखि ९.८९ प्रतिशतसम्म रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको सीसीएआर १३.४५ प्रतिशत रहेको छ । गत मसान्तसम्ममा सीसीएआर १०.७६ प्रतिशत रहेको थियो ।

कति पुग्यो सीडी रेसियो ?

राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय बैंकहरूले निक्षेप संकलनमा सुधार गर्न सकेका छैनन् । जसका कारण कर्जा प्रवाह गर्न बैंकहरूलाई समस्या भइरहेको अवस्था छ । यद्यपि कर्जा निक्षेप अनुपात (सीडी रेसियो)मा बैंकहरूले गत आर्थिक वर्षमा भन्दा केही सुधार गरेका छन् । अहिले यस्तो अनुपात ८६/८७ प्रतिशतकै हाराहारीमा रहेको छ ।

गत असार मसान्तमा यस्तो रेसियो ९० प्रतिशतभन्दा माथि रहेको थियो । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको सीडी रेसियो ९०.५८ प्रतिशत रहेको छ भने नबिल बैंकको सीडी रेसियो ९०.४० प्रतिशत रहेको छ । अन्य बैंकहरूको भने यस्तो रेसियो ९० प्रतिशतभन्दा कम नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्