अर्थ मन्त्रालयबाट ५ करोड विनियोजन
सिंजाका जीर्ण सडक स्तरवृद्धि गरिँदै

गत असोज महिनाको १९ देखि २३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लाको सिंजा क्षेत्रमा ठूलो जनधनको क्षति भयो । बाढी पहिरोका कारण सिंजाका ५१ घर पूर्णरुपमा भत्किए भने, १ सय २० घर जोखिमपूर्ण परे । १० किलोमिटर ग्रामिण सडक बाढीपहिरोले क्षतिग्रस्त भयो । जसका कारण सवारी आवागमन ठप्प भएको छ ।
ग्रामीण सडक अवरुद्ध हुनुका साथै ३५ काठेपुल बगाएको थियो । नाग्म सिंजा हुँदै राराताल तथा विभिन्न गाउँ जोड्ने सडकको १० किलोमिटर खण्ड पहिरोले अवरुद्ध बनाएपछि आवतजावतमा समस्या भएको थियो । एक गाउँदेखि अर्को गाउँसम्म पुग्न कठिन छ । बाढीले अवरुद्ध ग्रामीण सडकदेखि नाग्म–गमगडी राजमार्गसम्म जोडिएका सडकहरुको पुनर्निर्माण तथा स्तरोन्नतिको काम सिंजा गाउँपालिकाले थालेको छ । संघीय अर्थमन्त्रालयबाट बजेट सुनिश्चित भएपछि विपद्ले भत्किएका सडक स्तरोन्नति गर्न थालिएको हो ।
सिंजा क्षेत्रका राजमार्गमा जोडिएका तथा अन्तरगाउँ र पालिका जोड्ने क्षतिग्रस्त सडकहरुको स्तरोन्नतिका लागि संघिय अर्थ मन्त्रालयबाट ५ करोड बजेट विनियोजन भएको सिंजा गाउँपालिका अध्यक्ष पुर्णप्रसाद धितालले बताए । उनले भने, “पहिरो पन्छाउने, आंशिक सडक खोल्ने काम पालिकाले पनि गरेको थियो । अर्थमन्त्रालयबाट ५ करोड बजेट छुटाएपछि सहरी विकास इकाई कार्यालय सुर्खेतले निर्माण गर्ने गरी प्रक्रिया अघि बढेको छ ।” सोमबार खुला प्रतिस्पार्धाको माध्यमबाट बोलपत्र प्रकाशित गर्दै सहरी विकास इकाई सुर्खेतले सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाएको अध्यक्ष धितालले जानकारी दिए ।
विपद्ले सिंजाली जनतालाई दिएको पीडामा अर्थमन्त्री जनार्दन शर्माले मलम लगाएकोमा अध्यक्ष धितालले धन्यवाद दिए । सडक स्तरवृद्धिको कार्य हिमा गाउँपालिका १ आचार्यलिहीको जिरो प्वाइन्टदेखि धिताललिही, नराकोट जाँच गाउँ, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्मको सडक स्तरवृद्धी हुने अध्यक्ष धितालले उल्लेख गरे । उनले थपे, “अब छिट्टै सिंजाका भत्किएका सडक पुनर्निर्माण हुनेछन् । यहाँका नागरिकको आवश्यकता र माग अनुसार राहत महशुस हुने गरी काम गर्दैछौं । जनताको नजिकको सरकार भएकोले पनि साना साना समस्या प्रति केन्द्रित हुनुपर्ने देखिन्छ ।”
ग्रामीण भेगका विकासे कामलाई तीव्र गतिमा अघि बढाउन सिंजा गाउँपालिकाले रोलर र जेसिवी मेसिन खरिद गरेको छ । कार्यविधी बनाइ सञ्चालनमा ल्याइने तयारी भइरहेको छ । निजी मेसिन प्रयोग गर्दा कामभन्दा खर्च बढी हुने भएकोले पालिकाका आफ्नै मेसिन विकास निर्माणका कामलाई प्रभावकारी रुपमा अघि बढाउने अपेक्षा गरिएको छ । बाढी पहिरोले दिएको आला घाउ सम्हालि बसेका सिंजाबासीहरु पुनर्निर्माण तथा राहतको पर्खाइमा छन् । तत्कालीन राहत गैससहरुले दिएपनि सिंजाका बाढीपीडित दीर्घकालीन समस्या समधानको आशामा छन् ।