सित्तैमा पाएको जग्गाले ऋणमा डुबायो

म्याग्दी-ठगहरूको एउटा गिरोहले म्याग्दीका चार दर्जनभन्दा बढी व्यक्तिलाई सित्तैमा घडेरी दिएर करोडौं ऋणमा डुबाएका छन् ।सर्वसाधारण नागरिकलाई आफ्नो नामको जग्गा दिएर बैंकमा धितो राख्न लगाई ऋण निकालेर आफूले प्रयोग गरी ऋणमा डुबाएका हुन् ।
सो गिरोहले मिलेमतो गरेर धितोमा राखेको कमसल घडेरी र जग्गालाई बढी मूल्यांकन गराई ऋण निकालेर कर्जा प्रवाह गर्ने वित्तीय संस्थालाई समेत हानी नोक्सानी पुर्याएको अभियोगमा बैंकिङ कसुरको मुद्दा परेको छ । आफ्नो नामको जग्गा धितो राखेर अरूलाई नै पैसा प्रयोग गर्न दिएका सर्वसाधारण अहिले बैंकिङ कसुरको मुद्दामा अदालतले पत्र काटेपछि छाँगाबाट खसेजस्तै भएका छन् ।
“भाइको साथीले पोखराको घडेरी पास गर्नुहोस्, पैसा तिर्नुपर्दैन भनेर भाइ र मेरो नाममा घडेरी पास गराइदिए, जग्गा कस्तो छ देखेको पनि छैन्, लालपुर्जा पनि उनीहरूले नै राखे,” बेनपा–२ की शोभा घिमिरेले भनिन्, “पोखराको मालपोतमा जग्गा पास गरेको भोलिपल्टै बेनीको पश्चिमाञ्चल फाइनान्समा बोलाएर कागजमा सहीछाप गरीदिए मात्र हुन्छ भने, त्यसै गरेर घर गए । अहिले अदालतले घरमा पत्र पठाएपछि मात्रै हामीलाई प्रयोग गरेर फसाएको थाहा भयो ।”
हाल कुमारी बैंकसँग गाभिएको तत्कालीन पश्चिमापञ्चल फाइनान्सको बेनी शाखाबाट घिमिरेलाई जस्तै गरी गिरोहले ४९ जनाको नाममा जग्गा धितो राख्न लगाएर उनीहरूको नाममा ऋण निकालेर प्रयोग गरेको पीडितले गुनासो गरेका छन् । पोखराको हेम्जा, लेखनाथलगायतका ठाउँमा घरजग्गा कारोबार गर्ने सो गिरोहले एक जनाको नाममा ८ देखि ९ लाख रुपैयाँसम्म ऋण निकालेको छ ।पश्चिमाञ्चल फाइनान्सका तत्कालीन कामु कार्यकारी अधिकृत दीपक खनालले उच्च अदालत तुलसीपुरअन्तर्गतको वाणिज्य इजलास बुटवलमा दर्ता गरेको अभियोगपत्रमा ३ करोड ६० लाख १७ हजार १२२ रुपैयाँ हानी नोक्सानी गरेको उल्लेख छ ।
अभियोगपत्रमा फाइनान्सका तत्कालीन बेनी शाखा प्रबन्धक गणेश पौडेलले विभिन्न ऋणीको नाममा कमसल धितो राखि शसी खड्का, चुडामणी जैसी र टीकाराम निउरेसमेतसँगको मिलेमतोमा कर्जा लगानी गरी सो कर्जाको रकम एक आपसमा मिली व्यक्तिगत प्रयोजनमा खर्च गरेको उल्लेख छ ।
बैंकिङ कसुरमा मुद्दा परेपछि पौडेल हिरासतमा छन् । खड्का, जैसी र निउरे विरुद्धको मुद्दा पनि अदालतमा विचाराधीन अवस्थामा छन् । पीडित देवेन्द्र फगामीका अनुसार उनीहरूले पहिलो किस्ता र एक वर्षसम्मको ब्याज तिरेको देखिएको छ । चार वर्षे किस्तामध्ये दोस्रो किस्तादेखि साँवा र ब्याज भुक्तानी गरेका छैनन् ।
४९ जना मध्य १ जनाले साँवा र ब्याज चुक्ता गरेका छन् । तीन जनाले साँवा ब्याज चुक्ता गरे पनि चुक्ता नगरेको भनी फाइल नवीकरण गरेर पौडेलले प्रयोग गरेको पीडितले बताएका छन् ।
आफ्नो नाममा ऋण निकालेर अर्केले प्रयोग गरेको, प्रयोग गर्नेले समयमै किस्ता, ब्याज नतिरेको र पर्ने मूल्य भन्दा बढी धितो मूल्यांकन गराई ऋण निकाली बैंकिङ कसुर गरेको अभियोगमा ऋणीहरूलाई अदालतले हाजिर हुन पत्र काटेपछि अप्ठ्यारोमा परेको पीडित फगामीले गुनासो गरे । “सहयोग गर्नुपर्यो भनेर आग्रह गरेपछि विश्वास गरेर उनीहरूले जे–जे भने त्यही गरियो, न जग्गा देखेका छौं, नत एक सुको पैसानै लियौं तर अहिले बैंकमा किस्ता, ब्याज तिर्ने मात्र होइन उल्टै मुद्दासमेत खेप्नु परेको छ,” फगामीले भने, “हामीलाई नराम्ररी फसाए ।”
०७२ साल भदौमा यसरी कर्जा लगानी भएको थियो । यो घटनाका बारेमा बैंकले छानबिन गर्दा ०७३ भदौमा गडवडी गरेको फेला परेको थियो । ऋणमा डुब्ने र अदालतको मुद्दा खेप्नेमा पौडेल, खड्का, जैसी र न्युरेका आफन्त, साथीभाइ र उनीहरूसँग आर्थिक लेनदेनमा नजिक भएका व्यक्तिहरू छन् ।
क्याम्पस पढ्ने विद्यार्थीले समेत कास्कीको जग्गा धितोमा राखेर ऋण निकालेको देखिएको छ । यो समूहले पोखरा र आसपासका क्षेत्रमा जग्गा प्लटिङ गरी घडेरीको कारोबार गर्दै आएको छ ।
राष्ट्र बैंकले घरजग्गामा लगानी गर्न कडाइ र सरकारले जग्गा प्लटिङ गर्न रोक लगाएपछि कारोबार ठप्प भयो । पीडितहरूका अनुसार खोलाको किनार, पाखो, खरबारी, डाँडामा प्लटिङ गर्न किनेको जग्गा बिक्री नभएपछि उनीहरूले सित्तैमा जग्गा दिने प्रलोभनमा पारेर बैंकमा धितो राख्ने र उनीहरूकै नाममा ऋण निकालेर आफूहरूले प्रयोग गर्ने योजना बनाएको देखिन्छ ।
४ लाख रुपैयाँ पर्ने जग्गालाई अठार लाखको धितो मूल्यांकन गराई ९ लाख रुपैयाँ ऋण निकालि दिएको पीडित रञ्जन खत्रीले बताए । “हाम्रो नाममा ऋण निकालेर मोजमस्ती र बिलासीतामा खर्च गरेर पैसा सकेका रहेछन्,” खत्रीले भने । महँगो गाडी चढ्ने र उच्च जीवनशैली अपनाएका उनीहरूले समाजको विश्वास जित्न विभिन्न मेला महोत्सव र कार्यक्रम आयोजकलाई मागे जति चन्दा दिने, दोहोरी साँझ गएर पैसा उडाउने गरेको पीडितहरू बताउँछन् ।
यसैगरी महँगो ब्याजदरमा लिएको ऋण तिर्ने र मिटर ब्याजमा लगाउनेलाई पैसा दिएर पनि उनीहरू फसेको एकाथरीको भनाइ छ । अदालतबाट हाजिर हुन र बयान दिन आउनका लागि तारन्तार पत्र आउन थालेपछि पीडितहरू सामुदायीक प्रहरी, बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाललगायतसँग हार गुहार र कानुनी परामर्शका लागि धाइरहेका छन् ।
“नखाएको बिष कसरी लाग्ला भनेर सहारा खोजिरहेका छौं” एक पीडितले भनिन्, “यसकै कारणले घर झगडा हुन थालेको छ । घरबाट निकाल्ने धम्की दिएका छन् ।” यसैबीच सो गिरोहकी सदस्य शसी खड्काले यस विषयमा समाचार सार्वजनिक गरे जे पनि हुन सक्ने धम्की दिएकी छन् । उनले पीडितलाई पत्रकारलाई सूचना नदिन धम्की दिनुका साथै बेनीस्थित एक सञ्चारमाध्यमको कार्यालयमै पुगेर पत्रकारलाई कडा चेतावनी दिएकी छन् ।
सन्तोष गौतम