१५ वस्तु आयात गर्न ३४ अर्ब खर्च «

१५ वस्तु आयात गर्न ३४ अर्ब खर्च

वीरगन्जः नेपालले वीरगन्ज भन्सारबाट १५ वस्तुको आयातको लागमिात्र चालु आवको ३ महिनामा ३४ अर्ब रूपैया तिरेको छ । राजस्वको प्रमुख स्रोतको रूपमा रहेका सवारीसाधन, इन्धन, साना सवारी साधन, तयारी कपडा तथा सिमेण्ट उत्पादन गर्ने कच्चा पदार्थ (क्लिंकर) आयातबाट चालू आवको तीन महिना अवधिमा ३४ अर्ब ९ करोड ७२ लाख रूपैंया बाहिरिएको वीरगन्ज भन्सारले जनाएको छ । 

गत आवको यही अवधिको तुलनामा चालू आवमा ८ अर्ब रूपैयाँ बढी आयात भएको हो ।  गत आवको साउनदेखि असोज सम्मको सोही अवधिमा २६ अर्ब ८७ करोड ८६ लाख ३९ हजार रूपैैयाँ बराबरको मुख्य १५ वस्तु आयात भएको थियो । ती वस्तु आयातबाट भन्सारले गत आवको सोही अवधिमा १६ अर्ब २५ करोड ३९ लाख १४ हजार रूपैयाँ राजस्व संकलन गरेकोमा चालू आवमा १८ अर्ब ८० करोड ९६ लाख ९ हजार रूपैंया राजस्व संकलन भएको छ । 

चालू आर्थिक वर्षको तीन महिनामा सबैभन्दा बढी सात अर्ब ४१ करोड ९२ लाख ६५ हजार रूपैंया मूल्य बराबरको हाइस्पिड डिजल आयात भएको छ । त्यस्तै दोस्रो नम्बरमा मोटरसाईकल आयातबाट रकम बाहिरिएको छ । साउनदेखि असोजसम्ममा ४ अर्ब २८ करोड ६२ लाख ८२ हजार मूल्य बराबरको मोटरसाइकल आयात भएको छ । आयातबाट नेपाली मुद्रा बाहिरिने १५ वस्तुहरूमा पेट्रोल तेस्रो नम्बरमा रहेको छ । वीरगन्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको तीन महिनामा तीन अर्ब ३१ करोड ७२ लाख ३८ हजार मूल्य बराबरको पेट्रोल आयात भएको छ । 

त्यस्तै चौथो नम्बरमा खाना पकाउन प्रयोग गरिने एलपी ग्यास रहेको छ । तीन महिनाको अवधिमा आयात गरिएको एलपी ग्याँसबाट दुई अर्ब ९५ करोड एकलाख २८ हजार रुपैंया बाहिरिएको छ । त्यस्तै नेपालबाट रकम विदेशिने १५ वस्तुहरूमध्य कार, जीप भ्यान पाँचौ नम्बरमा परेको छ ।

कार, जिप, भ्यान आयातबाट मात्रै तीन महिनामा २ अर्ब ९४ करोड ५३ लाख २५ हजार रकम विदेशिएको छ । भन्सार राजस्वमा योगदान दिने वस्तुहरूमा इन्धन र सवारी साधन नै भएकोले पनि यी वस्तु आयात गर्दा राजस्व वृद्धि हुने भएपनि बार्षिक अर्बौ रकम बाहिरिँदा नेपालको व्यापार घाटामा वृद्धि हँुदै गएको हो । 

व्यापार घाटा कम गर्नका लागि नेपालबाट निर्यातमा वृद्धि गर्नुपर्ने भएपनि आयातको तुलनामा निर्यात एकदमै न्यून रहेको छ । चालू आर्थिक वर्षको तीन महिनामा जम्मा १६ लाख २० हजारको मात्रै नेपाली वस्तु निर्यात भएको छ । यसमा सबैभन्दा बढी पिना अन्य उल्लेख गरिएको वस्तु निर्यात भएको छ । चालू आर्थिक वर्षको तीन महिनामा पिना अन्य वस्तु ११ लाख ९२ हजारको निर्यात भएको छ ।

निर्यात हुने वस्तुमध्ये दोस्रो नम्बरमा अन्य वनस्पति उत्पादनहरू रहेको छ । वीरगन्ज भन्सारबाट तीन महिनामा दुईलाख ६५ हजारको अन्य वनस्पति उत्पादन निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गतवर्ष भन्दा यो वर्ष निर्यात पनि घटेको हो । गत आर्थिक वर्षको साउनदेखि असोज सम्मको तीन महिनामा १७ लाख ३५ हजारको निर्यात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्