Logo

विद्यालयमा आगलागी हुँदा २० लाखको क्षति

पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयमा आगलागी भएको छ । आगलागीबाट विद्यालयको मुख्य कार्यालयमा रहेका सामाग्री जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मंसिर २१ गते साँझ विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं आर्थरडाँडाखर्कका वडाध्यक्ष रुद्रमोहन रिमालले जानकारी दिए ।

मंसिर २१ गते विद्यालय खुलेको दिन सामान्य अवस्थामा रहेको भएपनि आइतबार बिहान विद्यालय खुल्दा आगलागी भएको पाइएको हो । मंसिर २२, २३ र २४ गते भने विद्यालयमा विदा रहेको थियो । मंसिर २१ गते साँझ केही घरमा हाईभोल्टेज आएर बिजुलीका वल्वहरु फुटेको हुनाले विद्यालयमा पनि विद्युत सर्ट भएको अनुमान गरिएको रिमालले बताए ।

रिमालका अनुसार विद्यालयको कार्यलयमा रहेका सम्पूर्ण पुराना अभिलेखहरु, महत्वपूर्ण कागजात, दराज, कम्प्युटर, ल्यापटप, विद्युतीय हाजिरी मेसिन लगायत करिब २० लाख रुपैयाँ बराबरको सामानको क्षति भएको छ । रातीको समयमा भएकाले मानविय दुर्घटना भने हुन नपाएको हो । घटनाको बारेमा ठूलीपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सोमबहादुर थापा नेतृत्वको टोलि आएर स्थलगत अनुगमन र क्षतीको विवरण संकलन गरेको छ ।

क्षतिको प्रारम्भिक विवरण हेर्दा २० लाख रुपैयाँको क्षति पुगेको अनुमान गरिएको गरिएको छ । भौतिक क्षति भन्दा पनि विद्यालय स्थापना कालदेखि अहिलेसम्मका अभिलेखहरु पुरै नष्ट भएका छन् । कार्यालयको पुनर्निर्माण तथा मर्मतका लागि विद्यालयले कुश्मा नगरपालिका शिक्षा तथा युवा शाखा, जिल्ला प्रशासन कार्यलय लगायत सम्बन्धित सबै स्थानमा अपिल गरिएको विद्यालयका प्रधानाध्यापक प्रकाश सापकोटाले जानकारी दिए ।

गरिब तथा विपन्न परिवारले अध्ययन गर्ने सामुदायिक विद्यालयमा यति ठूलो क्षति पुगेपछि शिक्षक तथा विद्यार्थी चिन्तित बनेका छन् । विद्यालयले आगलागीबाट ठूलो सम्पत्ति र अत्यावश्यक कागजात जलेर नष्ट भएकोले भौतिक अवस्था सुधारका लागि सबैलाई सहयोगका लागि आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्