कर्णालीको उत्पादनले बजार पाउन थाल्यो

कर्णाली प्रदेशको जाजरकोट, जुम्ला र डोल्पालगायतका क्षेत्रमा उत्पादन वस्तुले देशका ठूला सहरमा स्थान पाउन थालेका छन् । जाजरकोटका गाउँमा उत्पादन गरिएको मकै, सिमी, गावा, सुन्तला, भट्ट, अदुवा, लसुन, जुम्लामा उत्पादन हुने जुम्ली मार्सी, सिमी र कोदो, डोल्पामा उत्पादन हुने जिम्बु, दाँते ओखर, सिमी, फापर, चिनो र स्याउको ठूला सहरमा अत्यधिक माग बढेको छ ।
जाजरकोटबाट एक हजार ६ सय क्विन्टलभन्दा बढी मकै नेपालगन्ज लैजाने गरिएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले बताए । सुन्तलामात्र पाँच टन बाहिर लगिएको र अझै बिक्री हुन बाँकी रहेको उनले बताए । २ सय ५० क्विन्टल लसुनको माग भएकाले बिक्रीका लागि बाहिर पठाएको उनले बताए । उनले भने, “अदुवा बिक्री हुन बाँकी छ । चार सय क्विन्टल भट्ट पनि बाहिर पठाइएको छ ।”
त्यस्तै जुम्लामा उत्पादित खाद्यान्न स्वदेशमा मात्र होइन, विदेशमा पनि पुग्ने गरेको छ । जुम्ला घर अग्र्यानिक एन्ड सुपर फुड्स प्रालिमार्फत् स्थानीयस्तरमा उत्पादित समान विदेशमा समेत बिक्री हुने गरेको छ । अघिल्लो वर्षमात्र जुम्ली मार्सी, सिमी र कोदो गरी झन्डै ३० टन खाद्यान्न क्यानडा पुगेको कम्पनीका सञ्चालक राज शाहीले बताए । कम्पनीले यस वर्ष एक टन सिमीको दाल र एक टन मासको दाल जापान पठाएको उनको भनाइ छ । १० किलो स्याउको चाना पनि जापान गइसकेको शाहीले जानकारी दिए ।
गत वर्ष अस्ट्रेलियामा झन्डै २५ टन मार्सी चामल र सिमी पनि निर्यात भएको थियो । कम्पनीले स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो, टिमुरलगायत सामग्री विश्वका विभिन्न बजारमा पठाइरहेको छ । जुम्ला घर अर्गानिक्सले अमेरिकामा दुई वर्षदेखि मार्सी चामल पठाइरहेको छ । गत वर्ष पनि ४० क्विन्टल जुम्ली मार्सी चामल अमेरिका पठाएको शाहीले बताए ।
मार्सी चामल, ओखर, सिमी, स्याउको चाना, चिनो र कागुनो ती देशमा गइरहेको छ । खलंगास्थित चन्दननाथ सहकारीले पनि स्थानीय उत्पादन संकलन गरेर काठमाडौंसम्म पठाइरहेको छ । गत वर्ष हिमालयन बहुउद्देश्यीय सहकारीले करिब ३० टन स्याउ बंगलादेश पठाएको थियो । बाहिरबाट आउने खाद्यान्नका कारण रैथाने बाली उत्पादनमा कमी आइरहेको स्थानीय किसान जीवनबहादुर बुढाले बताए ।
जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा मार्सी धान लगाइन्छ भने उत्पादन बर्सेनि ६ हजार १ सय २७ टन हुने गरेको छ । त्यस्तै यो वर्ष चिनो ६५, कागुनो १५, सिमी ४ सय ७१ टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । जुम्लाको ३४ हजार ४ सय ८६ हेक्टर क्षेत्रफलमा कृषिखेती हुन्छ । डोल्पामा उत्पादन गरिएको वस्तुहरू विदेशमा जाने गरेको छ ।
जाजरकोटको चिउरी घ्यू, बेसारसमेत क्यानडा जाने गरेको छ । कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाका अनुसार डोल्पा चिनो, काकुनो, जिम्बु, स्याउ, फापर, ओखर र सिमी बाहिर जिल्लामा जाने गरेको छ । यो आर्थिक वर्षमा पनि विभिन्न व्यक्ति खाद्यान्न खरिदका लागि डोल्पामा पुगेको उनले बताए ।
अघिल्लो वर्ष डोल्पाबाट पाँच मेट्रिक टन फापर सुर्खेत तथा नेपालगन्ज र काठमाडौं पठाएको थियो । सिमी २० मेट्रिक टन, ओखर र स्याउँ २० मेट्रिक टन बाहिर जिल्लामा लगेर बिक्री वितरण गरिएको थियो । यो आर्थिक वर्षमा समेत खरिदको काम चलिरहेको छ, अघिल्लो वर्षभन्दा मात्रा बढ्ने कार्यालयका सन्तोष बस्नेतले जानकारी दिए ।