समानुपातिक सूची आजसम्म सच्याउन सकिने

निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आइतबार पत्राचार गरेको छ । ती दलहरूले यही मंसिर २६ गते सोमबार अपराह्न ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ ।
प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मंसिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए । पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको छ । नामावली सच्चिएर प्रतिनिधित्व भई आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने उक्त प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मंसिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।
निर्वाचन आचारसंहिता फुकुवा
निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागू रहेको निर्वाचन आचारसंहिता यही मंसिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागू गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।