‘जलविद्युत र पर्यटनको विकासमा निजी क्षेत्रको लगानी जुटाऔं’
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पूर्वाधार विकासमा निजी क्षेत्रका व्यवसायीले लगानी गर्नुपर्ने बताएका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघको २९औं साधारणसभालाई बेनीमा सम्बोधन गर्दै ढकालले जिल्लामा व्यवसायी सम्भावना रहेका जलविद्युत र पर्यटन पूर्वाधारमा निजी व्यवसायी, स्थानीय तह र प्रदेश र संघ सरकार मिलेर लगानीमैत्री वातावरण तयार गर्न आग्रह गरे ।
जिल्लाको आर्थिक विकास लागि सम्भावना भएको प्राकृतिक स्रोतसाधनमा पर्यटन विकासका लागि स्थानीय र बाह्य लगानी गरेरमात्र सम्भव हुने बताउँदै जिल्लाका स्थानीय तह, म्याग्दी उद्योग वाणिज्य संघ र निजी व्यवसायी सहकार्य गरेर अघि बढेमा लगानीमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
तीन तहको सरकारले नीति निर्माणमा सकारात्मक रूपमा अघि बढ्दा व्यवसायी क्रियाकलाप बढ्नुका साथै राज्यको आयस्रोत बढ्ने विश्वास ब्यक्त गरे । उनले भने, “नेपालमा साना व्यवसायीलाई लगानी अभाव छ, व्यवसायीमा भएको समस्यालाई महासंघले समाधानका लागि नेपालका सरकारी नेतृत्वलाई जानकारी गराएको छ ।” व्यवसायीका समस्या छिट्टै समाधान हुने उनले विश्वास व्यक्त गरे ।
पर्यटनसँगै कृषि, जलविद्युतलगायतका क्षेत्रमा म्याग्दी अब्वल छ । उचित नीति र लगानीमैत्री वातावरण तयार भए यहाँको सम्भावनालाई अघि बढाउन सकिने बताए । छरिएर रहेको पुँजीलाई संकलन गरेर हाइड्रो, केबुलकार र पर्यटन पूर्वाधार निर्माणमा लगानी गरेर सफल भएको उदाहरण म्याग्दी व्यवसायीमाझ राखेका थिए ।
ढकालले नेपाल सरकारले करिब एक हजार पाँच सय मेगावाटको जलविद्युत पीपीए गर्दा कालिगण्डकी नदीमा सम्भावना रहेको १ सय ५० मेगावाटको जलविद्युत आयोजनाको पीपीए पास हुनेबित्तिकै आयोजना अघि बढ्ने जानकारी गराए ।
ढकालले म्याग्दीले पर्यटन लक्षित गरेर केबुलकार लगायतको अन्य कुनै एक योजनाको प्रस्ताव महासंघमा ल्याएमा सहकार्यमार्फत लगानी जुटाउने प्रतिबद्धता व्यक्त गरे । म्याग्दी उद्योगा वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बैंकको बढ्दो ब्याजदरले साना उद्योगी व्यवसायी समस्यामा परेको जानकारी गराउँदै यसप्रति महासंघले ध्यान दिन आग्रह गरेको छ ।