Logo

‘मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ हुन्’

फाइल तस्बिर ।

मह शिकारी एड्भेन्चरका ‘रियल हिरो’ भएको क्याप्टेन विजय लामाले बताएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा सम्पन्न स्पार्क एड्भेन्चर २०२२ अन्तर्गत अहिलेसम्मकै ठूलो समूहले हनि हन्टिङ (मह शिकार) अवलोकन गरेको कार्यक्रमको समापनमा लामाले यस्तो बताएका हुन् ।

पहिलोपटक होमस्टेको अनुभव लिन पाएको र भुजुङ गाउँको होमस्टे बसाइले मोहित बनाएको महानायक राजेश हमालले बताए । जिन्दगीकै अभुतपूर्व अनुभव गरेको नायिका वर्षा सिवाकोटीले बताइन् । त्यस्तै कलाकार विपिन कार्कीले आफैं गएर भीरमा मह काढौं, काढौं जस्तो उत्साह भएको बताए ।

नेपाली ख्यातिप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनि हन्टिङका लागि लमजुङ पुगेका थिए । बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भीरमा मह काढेको अवलोकन गरेको हो । बिहीबार साँझ क्व्होलासोंथार गाउँपालिका–४, भुजुङ पुगेका उनीहरू आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हनि हन्टिङ अवलोकनको आयोजना गरिएको आयोजक संस्था स्पार्क ग्रुपका सीईओ रोशन घिमिरेले बताए ।

कार्यक्रममा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार वीपिन कार्की, वर्षा सिवाकोटी, मधुसूदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. लोचन कार्कीसहितको टिम भुजुङ पुगेको स्पार्क समूहका इभेन्ट म्यानेजर अमरदीप भट्टराईले जानकारी दिए ।

काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन, भीर मह सिकार स्थलमा पुगेर अवलोकन र होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्केको भट्टराईले बताए । शुक्रबार साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकालको एकल साँझसमेत गरी २४ गते टोली काठमाडौं फर्केको भट्टराईले बताए ।

लमजुङको भुजुङमा करिब चार सय घर एकैठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि एक हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्