कात्तिकमा साढे तीन अर्बको वैदेशिक लगानी प्रतिबद्धता

स्वदेशी लगानीकर्ताले मुलुकमा व्यवसाय गर्ने वातावरण नभएको र थप लगानी गर्न नसक्ने बताइरहेका बेला गत महिना वैदेशिक लगानी प्रतिबद्धता आश्चर्यजनक रुपमा बढेको छ ।
उद्योग विभागका अनुसार कात्तिकमा २४ विदेशी लगानीका परियोजना स्वीकृत भएका छन् । यी उद्योगमा लगानी प्रतिबद्धता ३ अर्ब ६५ करोड रुपैयाँ बराबर आएको छ । असोजसम्म मन्दी रहेको वैदेशिक लगानीमा कात्तिकको तथ्यांकले आशा जगाएको छ । विभागका अनुसार कात्तिकमा ठूला उद्योग १, मझौला १० र साना उद्योगको दर्ता संख्या १९ छ । कुल दर्ता भएका उद्योगमध्ये आधा पर्यटनमूलक उद्योग छन् । पर्यटनमूलक १२, सेवामूलक १० तथा पूर्वाधार र सूचना प्रविधिमूलक उद्योग एक/एकवटा दर्ता भएको विभागले जनाएको छ ।
यी उद्योगबाट १ हजार ७ सय ९१ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले यो प्रतिबद्धताले केही आशा जगाएको र सुधारको संकेत गरेको बताए । वैदेशिक लगानी प्रतिवद्धताको लगत राख्ने विभागमा चालू आवको असोजसम्म भने जम्मा १९ वटा विदेशी लगानीका आयोजना तथा उद्योगहरु स्वीकृत भएका थिए । स्वीकृत उद्योगहरुमा कुल २ अर्ब २४ करोड विदेशी लगानी र १ हजार ४३ रोजगारी सिर्जना हुने प्रस्ताव गरिएको थियो । असोजसम्म वैदेशिक लगानी प्रतिवद्धतामा अघिल्लो आवको तुलनामा ९०.६६ प्रतिशतले गिरावट आएको देखिए पनि कात्तिकमा भने प्रतिवद्धता ह्वात्तै बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानीबापत ८ करोड रुपैयाँमात्र प्राप्त भएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार विदेशी लगानीबापत भित्रने रकममा यो गिरावट अघिल्लो वर्षको तुलनामा ९८.४२ प्रतिशतले कम हो ।
राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिनामा वैदेशिक लगानी उच्च दरले घटेको छ । अघिल्लो आवमा वैदेशिक लगानीमा गिरावट आउने क्रम सुरु भए पनि यसको दर सामान्यमात्र थियो । गत आर्थिक वर्ष (२०७८/०७९) मा खुद प्रत्यक्ष वैदेशिक लगानीमा ४.९ प्रतिशतले कमी आई १८ अर्ब ५६ करोड कायम भएको थियो भने अघिल्लो वर्ष (२०७७/०७८) मा खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।
यता, वैदेशिक लगानी प्रतिवद्धताको स्थिति भने उत्साहजनक रहेको देखिन्छ । आर्थिक वर्ष (२०७७/०७८) मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ३२ अर्ब ७ करोड रहेकोमा गत आवमा यसको झन्डै दोब्बर अर्थात ५४ अर्ब १५ करोड रुपैयाँ पुगेको थियो । यसरी वैदेशिक लगानीका उद्योग दर्ता पनि अघिल्लो वर्ष १८४ रहेकोमा गत वर्ष २९५ पुगेको देखिन्छ ।
विभागको अभिलेखअनुसार हालसम्म नेपालमा विदेशी लगानीका ५ हजार ६ सय २८ औद्योगिक परियोजना स्वीकृत भएका छन् । जसमा ठूला ३ सय २३, मझौला ६ सय २२ र साना उद्योगको संख्या ४ हजार ६ सय ८३ रहेको छ । यसमध्ये सबैभन्दा बढी सेवामूलक क्षेत्रमा १ हजार ८ सय ६७, पर्यटनमूलक १ हजार ८ सय ५५, उत्पादनमूलक १ हजार २ सय ६९, कृषिमूलक २ सय ९५, सूचना प्रविधिमूलक १ सय २४, ऊर्जामूलक ९१, खनिजमूलक ७२ र पूर्वाधारजन्य उद्योगको संख्या ५५ रहेको छ ।
विभागमा हालसम्म ४ खर्ब ३० अर्ब ८६ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको तथा यो लगानीबाट २ लाख ९७ हजार ९३५ रोजगारी सिर्जना हुने उल्लेख छ । हालसम्म ५ हजार ६ सय २५ परियोजनाका लागि यो प्रतिवद्धता आएको छ । जसमध्ये ठूला उद्योग ३ सय २३, मझौला ६ सय २२, साना ४ हजार ६ सय ८३ छन् ।
विभागका महानिर्देशक तिवारीले चालू आर्थिक वर्षको सुरुवाती महिनामा वैदेशिक लगानी प्रतिवद्धताको स्थिति कमजोर रहे पनि कात्तिक महिनामा भने केही सुधार देखिएको बताए । उनका अनुसार आन्तरिकभन्दा पनि बाह्य कारणले लगानीमा निराशा देखिएको हो । यद्यपि, आउँदा दिनमा वैदेशिक लगानीको क्षेत्र लयमा फर्कने र नेपालले नीतिगत सुधारका क्षेत्रमा धेरै काम गरिरहेकाले थप सुधार हुने अपेक्षा लिइएको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विदेशी लगानी आकर्षित गर्न बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्ने बताए । यसबारे तत्काल कार्यविधि बनाई विदेशी लगानी बढाउन पहल गर्नुपर्ने उनको भनाइ थयो । अहिलेको अवस्थामा विदेशी लगानीको आवश्यकता धेरै भएकोले प्रतिवद्धता बमोजिम लगानी भित्रउन पनि पहल गर्नुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल पनि विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत रुपमा सहजीकरण गर्ने र अन्तर्राष्ट्रिय रुपमा नेपालको बारेमा जानकारी दिन आवश्यक रहेको बताउँछन् । काम गर्न, प्रतिफल लिन नेपाल सहज छ भन्ने सन्देश अन्तर्राष्ट्रिय जगतलाई बुझाउन नसकिएको उनको भनाइ थियो ।
४६१ व्यावसायिक भिसा सिफारिस
उद्योग विभागले एकै महिनामा ४६१ व्यावसायिक भिसा पनि सिफारिस गरेको छ । विभागका अनुसार यसमा ३३७ लगानीकर्ता तथा ३३ प्रतिनिधि रहेका छन् । लगानीकर्तासँग आश्रित ८९ जनाका लागि व्यावसायिक भिसा सिफारिस गरिएको छ । यस्तै, विज्ञापन तथा प्रविधि हस्तान्तरण सम्झौताका लागि पनि थप दुईवटा भिसा सिफारिस गरिएको छ ।
व्यावसायिक भिसा लिने विदेशी नागरिकहरु उद्देश्य विपरीतका गतिविधिमा संलग्न रहेको पाइएपछि सरकारले भिसासम्बन्धी नीतिमा कडाइ सुरु गरेकै महिना भिसा लिनेको संख्या भने बढेको पाइएको छ । व्यावसायिक भिसाका सम्बन्धमा कात्तिक १८ गतेबाट लागू हुनेगरी केही व्यवस्था परिवर्तन गरिएको थियो । जसअनुसार अब व्यावसायिक भिसा पहिलोपटक तीन महिनाको मात्र उपलब्ध गराउने प्रावधान छ ।