कुमारी र एनसीसी बैंक मर्ज प्रस्ताव पारित, मर्जरपछि २६ अर्ब चुक्ता पूँजी

कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न साधारणसभाले एनसीसी बैंकसँग मर्ज हुने प्रस्ताव पारित गरेको छ ।
सभाले विशेष प्रस्तावको रुपमा पेश गरिएको कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रकृयाहरु पूरा गरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने, मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने, एक आपसमा गाभ्ने/गाभिने (मर्ज) प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति तथा कारोबारको मूल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै एक आपसमा गाभिए पछि बन्ने संस्था कुमारी बैंक लिमिटेडको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही अनुसार पूँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी अनुसार प्रवन्धपत्रको दफा ५ (क), ५ (ख) र ५ (ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा सञ्चालक संख्या ७ जना हुने गरी र नियम २९ मा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारीत गरेको छ।
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी २६ अर्ब रुपैयाँभन्दा बढी हुने छ भने शाखा संख्या ३५५, ए. टी. एम. संख्या २४४, एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) ३ खर्ब १ अर्बभन्दा बढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ ।