प्रदेशसभाका प्रारम्भिक बैठक औपचारिकतामा सीमित «

प्रदेशसभाका प्रारम्भिक बैठक औपचारिकतामा सीमित

ऐतिहासिक प्रदेशसभा बैठकहरू औपचारिकतामा मात्रै सीमित भएको देखिन्छ । हालसम्म प्रदेशको गतिविधि सञ्चालन गर्नेलगायतका बिन्दूमा मात्रै प्रदेश सभा केन्द्रित छ भने सांसदहरू चाहिँ पहिलो बैठकमा सहिदका तस्बिर नराखिएकोमा विरोध जनाउने, राजधानी आफूले भनेका स्थानमा नभएकोमा विरोध गरिरहेका छन् ।
आइतबार प्रदेश नं २, ५, ६ र ७ को प्रदेश सभा सम्पन्न भएको छ भने यसअघि प्रदेश नं ३ को सभा सम्पन्न भइसकेको छ । प्रदेश सरकार बनाउने हैसियतका राजनीतिक दलका सांसद मुख्यमन्त्री, मन्त्री, सभामुखलगायत जिम्मेवारीका आकांक्षी देखिएका छन् भने प्रतिपक्षमा रहने दल र तिनका सांसद प्रतिपक्षी दलको नेतालगायत चयनमा ध्यानाकृष्ट भएको देखिन्छ ।
उता प्रदेश प्रमुख पनि ढिलो गरी नियुक्त हुँदा प्रादेशिक कर्मचारीदेखि प्रादेशिक संसदसम्मका कर्मचारी प्रदेश सभा बस्ने केही समयअघि मात्रै पठाइएको हो ।
त्यसो त प्रदेशका हालका राजधानी नै अस्थायी प्रकृतिका, त्यहाँका कार्यालयहरू पनि अस्थायी प्रकृतिका हुन् । तर, हाल राजधानी तोकिएका केही प्रदेशका राजधानी भने स्थायी नै बन्ने निश्चितप्राय छ ।
बुटवल संवाददाता टोपराज शर्मा लेख्छन्, संघीय संरचना अनुसार प्रदेश नंं ५ को पहिलो प्रदेश सभा वैठक आइतबार बसेको छ । बैठकले फागुन २ गते सभामुखको निर्वाचन गर्ने कार्यसूचि सर्वसम्मत पारित गरेको छ । यस्तै प्रदेश सभा संचालन अन्तरिम कार्यविधि पनि सर्वसम्मत पारित गरेको छ । यस्तै पहिलो वैठकबाट सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्नका लागि पांच सदस्यीय कार्य परामर्श समिति बनाइएको छ । सभामुख बलदेव शर्मा पोखरेलले एमालेका कमलराज श्रेष्ठ, माओवादी केन्द्रका दधिराम न्यौपाने, कांग्रेसका अष्टभुजा पाठक, संघीय समाजवादी फोरमका सन्तोष पाण्डे र राष्ट्रिय जनमोर्चाकी तारा जीसीको नाम प्रस्ताव गरेकामा संसद बैठकले सर्वसम्मत पारित गरेको थियो । पहिलो वैठकलाई सम्बोधन गर्दै भावी मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेलले पाँच नम्बर प्रदेशमा आर्थिक विकास र समृद्धिका थुप्रै आधारहरू रहेकाले योजनावद्ध ढंगले लाग्नुपर्ने बताए । विश्वलाई शान्तिको सन्देश दिने लुम्बिनी र बुद्धसँग सम्बन्धित कपिलवस्तु, सिस्ने हिमालदेखि मर्चवारको समथर फाँट, एशियाकै ठूलो उपत्यका दाङ, आदि मानव रामापिथेकसको बंगारा भेटिएको स्थल लगायत थुप्रै पर्यटकीय, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा पाँच नंं प्रदेशमा रहेकाले यो प्रदेशलाई समृद्ध , सुखी र नमूना प्रदेश बनाउन सबैले साझा संकल्प बनाएर जानुपर्ने बताए । संविधानका विषयमा उठेका प्रश्न र असन्तुष्टीबारे वहस हुन सक्ने भन्दै पोखरेलले संघीयतालाई सफल बनाउन जनतालाई सुशासन दिनुपर्नेमा जोड दिए । प्रदेश सरकारका सबै संरचनाहरू शून्य तहबाट गर्नुपर्ने र धेरै कानुनहरू बनाउन बाँकी रहेकाले दलहरूबीच आपसी सहमति र सहकार्य आवश्यक रहेको उनले बताए ।
माओवादी केन्द्रका कुलबहादुर केसीले प्रदेश नंं. पाँच शान्ति र क्रान्ति दुबैको संगमस्थल भएको भन्दै सबै विविधतालाई सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । उनले प्रदेशको अस्थायी मुकाम बुटवलमा तोकिएको विषयले आक्रोश जन्माएको उल्लेख गर्दै आक्रोशलाई साम्य पारेर र असन्तुष्टलाई चित्त बुझाएर जानुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका वीरबहादुर रानाले सामाजिक न्यायसहितको समृद्धि जनताको आकांक्षा रहेको औंल्याउंदै कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए । राष्ट्रिय जनमोर्चाकी तारा जीसीले प्रदेशको राजधानी बुटवल तोकिएकोप्रति असहमति जनाउंदै उच्चस्तरीय आयोग बनाएर त्यसको सुझावका आधारमा राजधानी तोक्नुपर्ने माग गरिन् ।
संघीय समाजवादी फोरमका सहर्षराम यादवले संघीयताको अभ्यास पहिलो अनुभव भएकाले सबै दलबीच सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिए । जेष्ठ प्रदेश सभा सदस्य बलदेव शर्मा पोखरेलले वैठकको अध्यक्षता गरेका थिए । वैठक एकघण्टा बसेको थियो ।
सुर्खेत संवाददाता गोविन्द खत्रीका अनुसार ६ नम्वर प्रदेशको पहिलो प्रदेशसभा बैठक आइतबार सम्पन्न भएको छ । प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा ६ नंम्बर प्रदेशको अस्थायी मुकाम सुर्खेतमा पहिलो बैठक सम्पन्न भएको हो । बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि–२०७४ पारित गरेको छ भने सभामुख चयनका लागि माघ २९ गतेका लागि बैठकको मिति तय गरेको छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस, र राप्रपाका सांसदहरूले आ–आफ्नो धारणा व्यक्त गरे । बैठकमा वोल्ने अधिंकाश सासदहरूले समृद्धि र विकासका लागि एक हुने वताएका छन् । नेकपा एमालेका सांसद यमलाल कँडेलले प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नभएर अघि बढ्ने बताए । “राजनीतिक आस्थाका हिसावले जहाँ भएपनि केन्द्र सरकारको स्थायी प्रतिपक्षका रुपमा हामी रहन्छौं,” कँडेलले भने ।
नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले मुलुककै कान्छो प्रदेशको विकास र समृद्धिका लागि एक भएर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले विभिन्न परिर्वतन पार गर्दै आजदेखि शुरु भएको प्रदेशसभा बैठकपछि काँधमा ठूलो जिम्मेवारी थपिएको बताउँदै नेपाली जनताले चाहे अनुसारको शान्ति सुशासन, विकास र समृद्धिलाई अगाडि बढाउनुपर्नेमा बताए ।
नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले १२ लाख जनसंख्या र सबैभन्दा धेरै भूगोल भएको कर्णाली प्रदेशमा रहेको अभावलाई चिर्दै समृद्ध प्रदेश बनाउने अभियानमा लाग्ने बताए ।
कैलाली संवाददाता हिमेश बि.क. लेख्छन्, ७ नं. प्रदेशलाई समृद्ध बनाउन एकजुट भएर लाग्नुपर्नेमा जोड दिइएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा बसेको बैठकमा नेकपा एमालेका प्रकाश शाहले ७ नं. प्रदेश सम्भावनाको खानी भएकोले यहाँको स्रोतसाधनको उच्चतम सदुपयोग गर्न सके समृद्ध बन्नबाट कसैले रोक्न नसक्ने बताए ।
उनले ७ नं. प्रदेशलाई समृद्ध बनाउने आधारको खोजी गरेर अघि बढ्न सके देशकै नमूना प्रदेशका रुपा दर्ज हुने बताए । ७ नं. प्रदेश प्राकृतिक स्रोतसाधनमा अब्बल भएकोले यी स्रोतसाधनको सदुपयोग गर्न सके समृद्ध प्रदेशका रुपलाई चिनिने बताए ।
सबैको साझा पहलबाट ७ नं. प्रदेशलाई समृद्ध बनाउन सकिन्छ सांसद शाहले भने, “विकासका लागि दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्छ ।”
नेपाली कांग्रेसका भरत खड्काले प्रदेश नम्बर ७ सम्भावनाको खानी रहेको भन्दै यहाँको पर्यटकीय स्थल, जलविद्युत, कृषि नेपाल–भारत सीमा नाका लगायतका विषयमा अब बन्ने प्रदेश सरकारले विशेष ध्यान दिनसके समृद्ध प्रदेश बन्न समय नलाग्ने बताए ।
यसैगरी आइतबार बसेको प्रदेश सभाको पहिलो बैठकले सभामुख र उपसभामुख चयन नहुँदासम्म संसद सञ्चालनका लागि ५ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिमा माया भट्ट, देवराज पाठक, वीरमान चौधरी, पूर्णा जोशी र कृष्ण बहादुर चौधरी रहेका छन् । माघ २९ गते सभामुखको निर्वाचन गर्ने निर्णय बैंठकले गरेको छ ।
बैठकले प्रदेशसभाको अन्तरिम कार्य सञ्चालन कार्यविधि २०७४ बहुमतले पारित गरेको छ । आइतबार प्रदेशसभाका जेष्ठ सदस्य दिब्यश्वरी शाहले सभामुखको हैसियतमा बैठक सञ्चालन गरेकी थिइन् । प्रदेश ७ का ९ जिल्लाका ५३ सांसदको सहभागिता रहेको थियो ।
धनुषा संवाददाता किरण कर्णका अनुसार प्रदेश २ मा प्रदेशसभा पहिलो बैठकबाट सभामुखको निर्वाचन आगामी २ फागुनमा हुने भएको छ । आइतबार जनकपुरधामस्थित शैक्षिक तालिम केन्द्रमा भएको प्रदेश २ को पहिलो सम्पन्न प्रदेशसभाको बैठकले आगामी २ फागुनमा सभामुखको निर्वाचनको मिति तोकेको हो । आइतबारको बैठकमा ज्येष्ठ सदस्यका आधारमा एमालेका सांसद लगन लाल चौधरीले सभामुखको भूमिकामा आगामी २९ माघमा बस्ने प्रदेशसभाको बैठकबाट आकांक्षी दलका नेताहरूले प्रदेश अधिवेशनको विस्तृत खाका र निर्वाचन सम्बन्धमा प्रत्येक दलबाट सभामुखको निर्वाचन सम्बन्धमा सूची जारी हुने भएको जानकारी गराए। पहिलो प्रदेशसभाको बैठकमा संघीय समाजवादी फोरम नेपालका विजय राउत, राष्ट्रिय जनता पार्टी नेपालका महासचिव तथा सांसद जितेन्द्र सोनल, नेकपा एमालेका सत्यनारायण मण्डल, शत्रुधन महतो, नेकपा माओवादी केन्द्रका भरत प्रसाद साह, संघीय फोरम नेपालका सावित्री देवी र स्तन्त्रबाट जितेका शेख अब्दुल कलाम अजादले प्रदेशसभालाई शान्त, समृद्ध, विकसित, अधिकार सम्प्नन बनाउनु पर्नेमा जोड दिएका थिए ।
पहिलो संसदसभा सम्बोधनको क्रममा नेताहरूले प्रदेश नं. २ लाई सम्बृद्ध बनाउन मधेसमा रहेको अशिक्षा, गरिबी जस्ता समस्यालाई अन्त्य गर्दै कृषिको देशमै ठुलो सम्भावना बोकेको प्रदेशलाई कृषि उन्नति बढाएर समृद्ध बनाउनु पर्नेमा जोड दिए । मधेस आन्दोलनका शहीदको फोटो नराखिएकोमा आपत्ति आइतबार प्रदेश २ को प्रदेशसभाको पहिलो बैठक सुरु हुनासाथ मधेसकेन्द्रित दलले संसद नियमापत्ति जनाउँदै संसद् अवरुद्ध गरेका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरूले पहिलो मधेश, दोश्रो र तेस्रो मधेस आन्दोलनका सहिदका फोटो भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । पहिलो बैठक सुरु भएको ५ मिनेट नबित्दै राजपा नेपालका सांसदरु मनीषकुमार सुमन, जितेन्द्र सोनल, डिम्पल झा, परमेश्वर साहसहितका सांसदहरूले मधेस आन्दोलनका सहिदहरूको फोटो राख्न माग गर्दै विरोध गर्दै उभिएर संसद् रोकेका थिए । पछि ज्येष्ठ सदस्य लगनलाल चौधरीले आगामी बैठकमा सम्पूर्ण सहिदहरूको फोटो राख्ने प्रतिबद्धता गरेपछि पुनः संसद सुचारु भएको थियो ।

जिल्ला ब्युरो

प्रतिक्रिया दिनुहोस्