Logo

हेटौंडाको तरकारी बजार राप्ती किनारमा

हेटौंडा-१० बसपार्कमा रहेको तरकारी तथा फलफूल बजार हेटौंडा-१ स्थित राप्ती किनारमा स्थानान्तरण गरिने भएको छ । राप्ती किनारको नदी उकास जमिनमा एक सय ६ वटा सटर निर्माण गरी तरकारीको थोक तथा खुद्रा बजार स्थानान्तरण गर्न लागिएको हो ।

आइतबार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले तरकारी बजारको उद्घाटन गरे पनि आगामी २८ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउनेछ । तरकारी तथा फलफूल व्यवसायी संघ मकवानपुरको अगुवाइमा निर्माण भएको तरकारी बजारको संरचना निर्माणमा करिब ३ करोड रुपैयाँ खर्च भएको छ ।

प्रति व्यवसायी २ लाख ५० हजारका दरले रकम संकलन गरी संघको संयोजनमा तरकारी बजारको संरचना निर्माण गरिएको हो । त्यसमा हेटौंडा उपमहानगरपालिकाले पनि ३३ लाख ३६ हजार रुपैयाँ लगानी गरेको छ । संरचना निर्माणमा १० प्रतिशत काम बाँकी रहेकाले आइतबार बजार उद्घाटन कार्यक्रम गरिए पनि २८ गतेबाट मात्र सञ्चालनमा ल्याइने संघका अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिए ।

गत २०७८ मंसिर महिनादेखि तरकारी बजारको संरचना निर्माण सुरु भएको थियो । तरकारी बजारको उदघाटन गर्दै मेयर लामाले तरकारी बजारलाई व्यवस्थित गर्नको लागि राप्ती किनारमा सारिएको बताइन् । थानाभर्याङमा प्रदेश स्तरीय तरकारी थोक बजार निर्माणको अन्तिम चरणमा रहेको बताउँदै उनले राप्ती किनारको तरकारी बजारमा थप व्यवस्थित गर्न उपमहानगर तत्पर रहेको बताइन् ।

उपमेयर राजेश बानियाँले व्यवस्थित तरकारी बजार निर्माण भएपछि रोजगारीमा समेत टेवा पुग्ने विश्वास लिए । बजार व्यवस्थापनमा उपमहानगरले आगामी दिनमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, तरकारी व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्गबहादुर मोक्तान, राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर अध्यक्ष राजकुमार न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्