Logo

कोहलपुरका नगर प्रहरीलाई आधारभुत तालिम प्रदान

बाँकेको कोहलपुर नगरपालिकाले नगरको शान्तिसुरक्षा कायम गर्न संघीय प्रहरी सरह सेवा सुविधा उपलब्ध गराउने गरी नगर प्रहरी भर्ती गरेको छ । नेपालगन्जको कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रलाई नगर प्रहरी भर्ना छनौटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी दिएर नगर प्रहरीलाई दिक्षित गरी दर्जेनी चिन्ह प्रदान गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर प्रहरी ऐन बनाएर नगर प्रहरी स्थापना गरेको बताउँदै नगरप्रमुख पुर्णप्रसाद आचार्यले नगरप्रहरी व्यवस्थित तरिकाले गठन गरी अघि बढनुपर्छ भनेर नेपाल प्रहरी भर्ना छनौटको विधि प्रकृया अनुसार पारदर्शी तरीकाले भर्ना गरिएको बताए ।

प्रमुख आचार्यले लगनशिल, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दिक्षित भइ जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए । उनले विधी, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनौट गरिएको पनि स्पष्ट पारे । ‘कसैको दबाव र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन’ उनले भने ‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनौटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई सुम्पेका थियौं ।’

दिक्षान्त समारोहमा उपप्रमुख संगिता सुवेदीले संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै कोहलपुर नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगर प्रहरी स्थापना गरेको बताइन् । यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले नगर पालिकाले आवासिय सुविधासहित नगर प्रहरीलाई यसखालको तालिम दिनु नमुना योग्य भएको भन्दै प्रंशसा व्यक्त गरे ।

नगरपालिकाको नीति नियमलाई कार्यान्वयन गर्ने निकायको रुपमा कोहलपुर नगर प्रहरी रहने नगरप्रहरी प्रमुख वीरबहादुर थापाले बताए । कार्यपालिकाबाट भएका निर्णय पालनाका लागि नेपाल प्रहरी, प्रशासनसँग आवश्यक समन्वय गरी काम गर्ने उनको भनाइ छ । २५ दिन आवासीय र २० दिन व्यवहारिक ज्ञान सम्बन्धी फिल्डस्तरमा तालिम पाएसँगै दिक्षित भएर जान लाग्दा खुसी लागेको नगरप्रहरी जवानहरुले बताएका छन् ।

नेपाल प्रहरी सरह तहगत अनुसार सुविधा उपलब्ध गराउने गरी नगर प्रहरी निरीक्षक वीरबहादुर थापाको कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवलदार र १९ प्रहरी जवान गरी २४ जनाको टोली रहने छ । कोहलपुर नगरपालिकाले २४ सै घण्टा डिउटीमा खटाउने गरी नगर प्रहरीलाई छुट्टै ब्यारेक नै बनाएको छ । उनीहरुलाई फुटपाथ खाली गराउने, अतिक्रमित संरचना हटाउनुका साथै नगरभित्र शान्तिसुरक्षा र नगरपालिकाको नीति नियमलाई कार्यान्वयन गराउन परिचालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्