लुम्बिनी केबलकार सञ्चालनको तयारीमा

लुम्बिनी प्रदेशमा पर्यटकीय गन्तव्य विकास गर्ने गरी लुम्बिनी केबलकार निर्माणको अन्तिम चरणमा पुगेको छ । पाँच अर्ब रुपैयाँको लगानीमा केबलकार, पाँच तारे होटलसहित निर्माण हुने पर्यटकीय गन्तव्यले लुम्बिनी प्रदेशमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि लम्ब्याउने अनुमान गरिएको छ ।
बटम स्टेसन बुटवल बमघाटबाट केबलकारले पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरको टपस्टेसनलाई जोड्ने छ । १० मिनेटमा २.५ किलोमिटरको केबलकार रोपले बटम स्टेसनबाट टपस्टेसनमा पुर्याउने छ । वसन्तपुर क्षेत्रमा होटल रेस्टुराँ, मनोरञ्जनका लागि मन्दिरसहित निर्माणको क्रममा रहेको पर्यटकीय गन्तव्यमा आकर्षकको केन्द्र बन्ने छ ।
आईएमई समूह, शर्मा एन्ड कम्पनी, अम्बिकाप्रसाद पौडेलसहित स्थानीयको लगानीमा निर्माण हुने क्रममा रहेको पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हुने लगानीकर्ताहरूको भनाइ छ । व्यापारिक र पर्यटकीय केन्द्रको रूपमा विकास हुँदै गएको लुम्बिनी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई केबलकारसहित हिमालको अवलोकन गराउँदै होटलको सुविधा दिने गरी पर्यटकीय गन्तव्य विकास गर्न लागिएको आईएमई समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
उनले भने, “स्थानीयसहितको लगानीमा पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो । यसरी निर्माण हुने पर्यटकीय गन्तव्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित र रोजगारी सिर्जना गर्नेछ ।” गर्मी छल्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई २.५ किलोमिटरको केबलकारले चिसो पर्यटकीय गन्तव्यमा पुर्याउने लगानीकर्ता ढकालको भनाइ छ । उनले भने, “आन्तरिक तथा बाह्य गर्मी छल्न नेपाल आउने भारतीय पर्यटकका लागि केबलकारसहित निर्माण हुने पूर्वाधार उपयुक्त पर्यटकीय गन्तव्य हुनेछ ।”
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बौद्ध धर्मालम्बीहरूका लागि हब बन्ने क्रममा रहेको लुम्बिनीमा थप पर्यटकीय गन्तव्य विकास गर्ने गरी केबलकार तथा पाँच तारे होटल निर्माणको अन्तिम चरणमा रहेको ढकालले बताए । पहिलो चरणमा केबलकारसहित मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
ढकालका अनुसार भारतको आसाममा रहेको कामाक्ष मन्दिरको आकृतिलाई हाल जीर्ण अवस्थामा रहेको वसन्तपुरको दुर्गा मन्दिरलाई नेपाली कलाकौशलको स्वरूपमा निर्माण गर्न लागिएको छ । चिल्ड्रेन पार्क, शाकाहारी, मांशहारी रेस्टुराँ, भ्यू प्वान्इटसहितका पूर्वाधार निर्माण हुनेछ । दोस्रो चरणमा भने पाँच तारेसहितको होटल निर्माण गर्ने योजना छ ।
रुपन्देही र पाल्पाको सिमानामा निर्माण हुने केबलकार, मन्दिर, होटल तथा रेस्टुराँले तराईको गर्मी खाएर आएका आन्तरिक तथा बाह्य पर्यटकलाई शीतलताका साथै हिमालको अवलोकनले मनोरञ्जन दिने लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले बताए । उनले भने, “बौद्धधर्मालम्बीहरूको केन्द्र रहेको लुम्बिनीमा आउने आन्तिरक तथा बाह्य पर्यटकलाई केबलकार तथा होटलसहितको पर्यटकीय गन्तव्यले आकर्षित गर्नेछ र बसाइ अवधि लम्ब्याउने छ ।”
निर्माणको अन्तिम चरणमा रहेको लुम्बिनी केबलकारले पाँच नम्बर प्रदेशमा थप एक दिनको पर्यटकीय गन्तव्यको विकास गर्ने लगानीकर्ताले दाबी गरेका छन् । आर्थिक सर्वेक्षण २०७८/०७९ का अनुसार सन् २०२१ मा आन्तरिकमा चार लाख ६४ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । बाह्य तथा आन्तरिक पर्यटकमध्ये अधिकांश पर्यटकको भ्रमण गन्तव्य गौतमबुद्धको जन्मस्थल लुम्बिनी हुने गरेको छ । यसले गर्दा पनि नयाँ पर्यटकीय गन्तव्यले पर्यटकको आगमन वृद्धि गर्ने लगानीकर्ताहरूको भनाइ छ ।
कोभिड–१९ मा पनि लुम्बिनी आउने भारतीय पर्यटकको संख्या सन् २०२१ मा ४४ हजार रहेको थियो । सामान्य अवस्थामा भारतीय पर्यटकको संख्या बढी छ । नयाँ गन्तव्यले थप पर्यटक भित्र्याउनेमा लगानीकर्ता विश्वस्त छन् । निर्माणको अन्तिम चरणमा रहेको केबलकारको नौमध्ये सातवटा टावरको जडानको काम पूरा भएको केबलकारको यो वर्षभित्रै सञ्चालनमा ल्याउन हाल बटम स्टेसन र टप स्टेसनसहित रोप जडानको काम भइरहेको लगानीकर्ता रमेश शर्माले बताए ।
उनले भने, “प्रतिगोण्डुला आठ यात्रु सवार गर्न सकिने केबलकारमा कुल २५ गोण्डुला रहने छ ।” होटल, रेस्टुराँ ड्रोइङ तथा डिजाइनको काम पूरा गरेर निर्माण हुने क्रममा रहेको जनाइएको छ । आर्थिक सर्वेक्षण २०७८/०७९ का अनुसार सन् २०२१ मा लुम्बिनी भ्रमण गर्नेमा नेपाली चार लाख ६३ हजार ९ सय ६३, भारतीय ४३ हजार ७ सय ३२ (स्थल मार्ग र हवाई मार्ग) समेत गरी र अन्य मुलुकका एक हजार १ सय ९७ जना रहेका छन् ।
नयाँ पर्यटकीय गन्तव्य विकास हुँदै गएसँगै नेपालको पर्यटक आगमनमा थप टेवा पुग्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी बताउँछन् । उनले भने, “पछिल्लो समय लुम्बिनी केबलकार र होटलसहितका पूर्वाधारले भारतीय पर्यटकको बसाइ अवधि लम्ब्याउने छ ।”