Logo

सूर्य नेपाल काठमाडौं ओपनको उपाधि भुवनलाई

दिनेश प्रजापतिलाई नौ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् । भुवनले ४–अन्डर ६४ को स्कोरसहित समग्रमा १४-अन्डर २ सय ५८ को नतिजामा उपाधि जित्न सफल भएका हुन् ।

उपाधिसहित भुवनले १ लाख १६ हजार प्राप्त गरे । उनको यो खेल करियरको दशौं उपाधि हो । ६-अन्डर ६२ को कार्ड बनाउन सफल दिनेश प्रजापति ५–अन्डर २ सय ६७ सहित दोस्रो भए । उनले ७८ हजार प्राप्त गरे । इभन–पार ६८ स्कोर जोडेका शुक्रबहादुर राईले समग्रमा १–अन्डर २ सय ७१ को नतिजामा तेस्रो स्थानमा चित्त बुझाए ।

पहिलो दुई दिनका लिडर रबि खड्काले ४–ओभर ७२ स्कोरमा खेल सक्दै समग्रमा ३–ओभर २ सय ७५ मा चौथो स्थान प्राप्त गरे। तेस्रो र चौथो भएका शुक्र र रबिले क्रमशः ६३ हजार र ५० हजार प्राप्त गरे । समग्रमा ५–ओभर २ सय ७७ सहित रमेश अधिकारी पाँचौ, ६–ओभर २ सय ७८ मा कृष्णमान राजबाहक छैटौं र ७–ओभर २ सय ७९ को स्कोरमा सूर्यप्रसाद शर्मा सातौं भए । अन्तिम दिन रमेशले १–ओभर ६९, कृष्णमानले ५–ओभर ७३ र सूर्यले ३–ओभर ७१ स्कोर बनाए ।

अन्तिम १८ होलको सुरुवात गर्दा भुवनसँग नौ स्ट्रोकको अग्रता थियो । बिना दबाब सहजै अन्तिम दिनको खेल ४–अन्डर ६४ मा सकाउने क्रममा फ्रन्ट नाइन १–अन्डर ३३ मा पूरा गरे । दोश्रो होलमा बोगी प्रहार गरेपनि तेस्रो र पाँचौ होलमा एक–एक सट बचाए । यसपछि ११औं, १३औं र १४औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३–अन्डर ३३ मा पूरा गरे ।

सहजै भुवनले उपाधि जित्दा दोस्रो स्थानका लागि शुक्र र दिनेशको प्रतिस्पर्धा चल्यो । अन्तिम दिनको खेल सुरू गर्दा शुक्र २ स्ट्रोकले अगाडि थिए । तर शुक्रलाई चार स्ट्रोकले माथ दिँदै दिनेश दोस्रो भए । दिनेशले ६–अन्डरको सानदार नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन २–अन्डर ३२ मा खेल सकियो । दोस्रो, तेस्रो र छैटौ होलमा बर्डी प्रहार गर्दा नवौ होलमा एक सट गुमाए । यसपछि १०औं, ११औं, १३औं र १४औं होलमा बर्डीको सफलता प्राप्त गर्दै ब्याक नाइन ४–अन्डर ३० मा पूरा गरे ।

प्रतिक्रिया दिनुहोस्