Logo

चार महिनामा करिब २० लाख राजस्व संकलन

फाइल तस्बिर ।

जिल्लामा रहेको एक मात्र नाका कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म १९ लाख ७२ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयले कात्तिक मसान्तसम्म १९ लाख ७२ हजार ५ सय ३५ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका प्रमुख बसन्त रजौरेले जानकारी दिए ।

जुन लक्ष्य भन्दा बढी भएको उनको भनाइ छ । कार्यालयले चालु आर्थिक वर्षमा २१ लाख ३९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पहिलो चौमासिकमै लक्ष्यको नजिक पुगेको रहेको प्रमुख रजौरे बताउँछन् । कार्यालयले साउनमा ३ लाख ७९ हजार ३ सय ८९ रुपैयाँ, भदौमा ५ लाख ९० हजार १ सय ९१ रुपैयाँ, असोजमा ३ लाख ७० हजार ७ सय, कात्तिकमा ६ लाख ३२ हजार २ सय ५४ रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै मंसिरको २० गतेसम्म ३ लाख १६ हजार राजस्व संकलन गरेको प्रमुख रजौरेले बताए । कोइलाबास नाका सञ्चालनमा आएपछि राजस्वसमेत वृद्धि हुँदै गएको छ । नाका खुलेपछि सामग्री आयात निर्यात तथा नागरिक एवम सवारी साधनको आवत जावत गर्न थालेपछि राजस्व वृद्धि हो । नेपाल आउने यात्रुले प्रयोग गर्न सवारीका साधनबाट लिने राजस्व धेरै रहेको कार्यालय प्रमुख रजौरे बताउँछन् ।

“अस्थायी पैठारीबाट धेरै राजस्व संकलन हुने गरेको छ” प्रमुख रजौरेले भने । नागरिकले भारतबाट ल्याउने सामग्रीबाट लिने राजस्व रहेको छ । कोइलाबास नाकाबाट धार्मिक पर्यटक धेरै आउने गरेको भन्सार कार्यालयका प्रमुख रजौरेले बताए । स्वर्गद्धारी मन्दिरमा जाने धेरै यही बाटो भएर आउने गरेको उनको भनाइ छ ।

दाङको एक मात्र नाकामा रहेको कोइलाबास भन्सार कार्यालयमा अनलाइन गर्नेे तयारी गरिए पनि यसले सार्थकता पाउन सकेको छैन । जसले गर्दा अहिले भन्सार कार्यालयले लिखित रुपमा नै काम हुँदै आएकोे छ । इन्टरनेटको समस्याका कारण अनलाइनबाट काम नसकेको भन्सार कार्यालयले जनाएको छ ।

लिखित रुपमा भारु ३० हजारसम्मको मात्र विल काट्ने गरिएको छ । जसले गर्दा धेरै सामग्री ल्याउनेलाई समस्या पर्ने गरेको छ । सहज रुपमा ल्याउन नपाएपछि अन्य बाटो भएर ल्याउने गर्दछन् । भन्सारबाट अहिले व्यक्तिगत रुपमा घरायसी सामग्री ल्याउने गरेका छन् । व्यवसायीहरुले पनि थोरै मात्रामा सामान ल्याउने गरेको उनको भनाइ रहेको छ ।

नाका सञ्चालनमा आए पनि व्यावसायीहरुले पहिले ल्याइ रहेको स्थान परिवर्तन गर्न समय लाग्ने रजौरेले बताए । नेपालमा भन्सार भए पनि भारतले कस्टम नहुँदा नाका सञ्चालन हुन सकेको थिएन् । साउनको दोस्रो सातापछि भारततर्फ कस्टम स्थापना गरेसँगै नाका सञ्चालनका आएको थियो । नाका खुलेसँगै अहिले कोइलाबासबाट नै आयात तथा निर्यात समेत सुरु भएको छ । अहिले नेपालबाट तरकारी जान थालेको भन्सार प्रमुख रजौरे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्