Logo

वैदेशिक रोजगारी ठगीमा निजी फर्म र कन्सल्टेन्सी पनि

वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा मेनपावर एजेन्सी र एजेन्ट संलग्न हुँदै आएकामा अहिले अन्य व्यक्ति र संस्था पनि जोडिन थालेका छन् । लामो समयदेखि आकर्षक रोजगारीको लोभ देखाएर सोझा युवालाई एजेन्सी र एजेन्टले ठगी गर्दै आएका थिए ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै ठगी गर्नेहरुको दायरा पनि फराकिलो बनेको हो । वैदेशिक रोजगारीमा हुने ठगी र जालसाजीको गुनासो सुन्ने र ऊजुरी दर्ता गर्ने निकाय वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय मेनपावर र व्यक्तिगत ठगीभन्दा अन्य संस्थाले ठगी गरेका उजुरी बढ्न थालेका छन् ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले शैक्षिक परामर्श दिन खोलिएका संस्था र अन्य व्यावसायिक संघसंस्थाले पनि युवा विदेश पठाउने भन्दै लाखौं रुपैयाँ र पासपोर्ट संकलन गर्ने गरेको उजुरी आएको जानकारी दिए । “पछिल्लो समय वैदेशिक रोजगारीमा पठाउने नाममा मेनपावर कम्पनीले मात्र नभई शैक्षिक परामर्श दिने संस्था र अन्य प्रयोजनका लागि स्थापना भएका संघसंस्थाले युवालाई ठग्ने गरेको पाइएको छ,” आचार्यले कारोबारसँग भने, “युवाका गुनासा आएपछि अनुगमन तीव्र पारिएको छ ।”

महानिर्देशक आचार्यका अनुसार वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भनी डिल्लीबजारस्थित सूर्य कर्पोरेसन प्रालिले तीन वर्ष अगाडिदेखि केही युवाका पासपोर्ट र पैसा लिएको फेला परेको छ । विभागले शुक्रबार गरेको आकस्मिक अनुगमनमा सूर्य कर्पोरेसनले जापान, क्यानडा, अमेरिका लगायतका मुलुकमा पठाइदिने भनी करिब ८० थान पासपोर्ट र अन्य महत्वपूर्ण कागजात संकलन गरेको फेला परेको हो । यस्तै, विभिन्न शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारको काम गरेर करोडौं ठगी गरेको विभागमा दर्जनौं उजुरी परेका छन् । यी उजुरीपछि विभागले कारवाहीलाई तीव्र बनाएको जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा २५ करोड रुपैयाँभन्दा धेरै ठगी भएको उजुरी परेको छ । वैदेशिक रोजगारीका नाममा शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सीसहितले ठगी गर्न थालेपछि यसको कुल रकम समेत बढेको हो । चालू आवको ४ महिनामध्ये सबैभन्दा बढी साउनमा ठगी दाबी रकम बढेको छ । यो आवको कात्तिकसम्म ३ सय ५ वटा ठगीको उजुरीबाट औषत मासिक ७ करोड रुपैयाँ ठगी गरिएको छ । कोरोना संक्रमणका कारण २ वर्ष ठप्प रहेको वैदेशिक रोजगारीले गति लिएसँगै ठगीका उजुरी समेत वृद्धि भएको विभागले जनाएको छ ।

मेनपावर कम्पनीको तुलनामा व्यक्तिगत र कानुनअनुसार खडा भएका अन्य संस्थाबाट हुने ठगी बढेको छ । सरकारले अधिकतम १० हजार रुपैयाँ मात्र सेवा शुल्क लिन पाउने नियम बनाएपछि अधिकांश मेनपावर कम्पनीले नक्कली एजेन्ट खडा गरेर पैसा असुल्दै आएका छन् । यसले गर्दा व्यक्तिगत ठगी बढेको हो । नक्कली एजेन्ट खडा गरेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गर्ने प्रवृत्तिका कारण ठगी रकम र उजुरी संख्या बढेको विज्ञको भनाइ छ । श्रमिकबाट पैसा लिने स्थान मेनपावरको परिसरलाई बनाउँदै व्यक्तिगत रुपमा युवासँग पैसा असुल्ने र मेनपावर कम्पनी पन्छिने गरेका घटना बढ्न थालेको विभागले जनाएको छ ।

विभागका अनुसार व्यक्तिगत ठगी मेनपावरको आडमा र समूह बनाएर गिरोहको रुपमा हुन थालेको छ । व्यक्तिगत ठगीका उजुरीमा मेनपावर कम्पनीभित्रै पैसा लेनदेन हुने गरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारमा एजेन्टको संलग्नतालाई गैरकानुनी मान्दै व्यक्तिगत प्रक्रियामा रोक लगाएको वर्षौं भए पनि व्यक्तिगत ठगी कमी आएको छैन । संस्थागत रुपमा भने वैदेशिक रोजगारीमा जाने कामदारबाट तोकिएको भन्दा बढी शुल्क लिएको, सम्झौतामा उल्लेख भएको भन्दा फरक काम दिएको, सम्झौतामा उल्लेख भएको भन्दा कम पारिश्रमिक दिएको लगायतका उजुरी पर्ने गरेका छन् ।

सम्झौतामा खान र बस्नको लागि व्यवस्था भएको भनिएकोमा सोको लागि तलबबाट रकम कट्टा गरेको लगायतट ठगी हुने गरेको छ । ठगीको उजुरीका सम्बन्धमा विभागले क्षतिपूर्तिको कारबाही गर्ने गरेको भए पनि उजुरीका घटनामा भने कमी आएको छैन । वैदेशिक रोजगारीको ठगीमा वृद्धि भएकोले नियन्त्रणात्मक उपाय खोजी गर्ने र समयमा जाहेरी फरफारक गर्नुपर्ने विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्