चिल ठोक्किएको तारा एयर मर्मत

तारा एयरको (9N-AKL) ट्वीनअटर जहाज मर्मत गरिएको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाको मने लेक पुग्नै लाग्दा जहाजमा चिल ठोकिँदा जहाजको अगाडिको भाग नोजमा क्षति भएको थियो । चिल जहाजमा ठोकिएपछि जहाजको नोज प्वाल परेको र चिल जहाज भित्र नै रहेको थियो ।
चिल ठोकिँदा हुम्लाको सिमकोट विमानस्थलमा आपतकालीन अवतरण गरिएको थियो । दिउँसो १ बजे आसपासमा नेपालगञ्जबाट सिमकोटको लागि नेपाल खाद्य संस्थानको चामल कार्गोसहित हुम्ला उडेको जहाजमा जहाजका क्रु सदस्य क्याप्टेन, कोपाईलट र एयर होस्टेजसहित ३ जना सदस्य सवार रहेका थिए ।
जहाज आपत्कालीन अवतरण गर्नुभन्दा १ मिनेट अगाडि सिमकोट विमानस्थल अवतरण गर्न लागेको समिट एयरको जहाजलाई आकाशमा ओभरसुट गर्न लगाइएको थियो । जहाजको मर्मतको लागि नेपालगञ्जबाट ७ सदस्यीय टोली सिमकोट आएको हो ।
जहाजभित्र रहेको चिललाई बाहिर झिकिएको छ । जहाज चिलसँग ठोकिएपछि सिमकोट विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो । जहाज सकुशल रुपमा विमानस्थल अवतरण गरेको थियो ।