पर्वतको दोविल्ला पुल पुनर्निर्माण गरिँदै

जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ र ११ जोड्ने दोविल्ला पुल पुनर्निर्माण हुने भएको छ । लामो समयदेखि मर्मतको अभावमा अत्यन्तै जीर्ण यो पुल पुनर्निर्माण हुने भएको हो ।
२०७४ मा प्रतिनिधिसभा सदस्यमा पहिलो पटक निर्वाचित नेकपा एमालेका पदम गिरीले पहिलो पाँचवर्षे कार्यकालमा समेत पुलको मर्मतमा चासो नदेखाएको भन्दै पर्वतवासीले सामाजिक सञ्जालमा गिरीको तस्बिरसहित पोस्ट गरेर आलोचना भैरहेका बेला पुलको पुनर्निर्माणका लागि सर्भेक्षण गरिएको छ ।
सडक विभागले लामो दबाबपछि नयाँ मोटरेबल पुल निर्माण गर्नेबारे सम्भाव्यता अध्ययन सुरु गरेको हो । विभागले चालु वर्षमै विस्तृत परियोजना प्रतिवेदन पेस गर्नेगरी योजना पेस गर्न एपेक्स इन्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मेवारी दिएको छ । कन्सल्टेन्सीका इन्जिनियर चन्द्रदेव बोहोराले सोमबार दोबिल्ला पुलको स्थलगत निरीक्षणसहित सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिए ।
एक साताभित्र सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएपछि लगत्तै पुलको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने उनले बताए । ‘जीर्ण पुलको विषयमा गम्भीरतासाथ कुरा राखिएको थियो,’ फलेबास नगरप्रमुख गंगाधर तिवारीले भने, ‘सम्भाव्यता अध्ययन भएको छ । चालु वर्षमै ठेक्का खुलाउने गरी कुरा अघि बढेको छ ।’
पुरानो पुलको उत्तरतर्फ सँगै जोडेर नयाँ पुल निर्माण गर्नेबारे प्राविधिकसँग कुराकानी भएको तिवारीले बताए । यो पुलले कुश्मा नगरपालिका मात्र नभइ फलेबास नगरपालिका, विहादी, महाशिला र पैँयु गाउँपालिकाका सबै वडा र छिमेकी स्याङ्जासमेत समेट्छ । २०५६ मा ट्रयाक खुलेको दोबिल्ला–फलेबास सडकमा यो अस्थायी बेलिब्रिज शैलीको पुल २०६३ मा डिजाइन गरिएको थियो ।
सुरुमा पक्की पुल नै राख्न सरोकारवाला र उपभोक्ताले दबाब दिएको भए पनि केही समयका लागि भन्दै तत्कालीन जिल्ला विकास समितिले कमजोर पुल डिजाइन गरेको स्थानीयको आरोप छ । यस्ता पुलमा बिछ्याइएका फलामे पाताको बढीमा ५ वर्ष आयु हुने भए पनि लामो समयसम्म पाता नफेर्दा अहिले पुल धराप बनेको स्थानीय चित्रसागर श्रेष्ठले बताए ।
उनका अनुसार दैनिक सयभन्दा धेरै सवारी ओहोरदोहोर गर्ने पुलमा दैनिकजसो सवारी फस्ने र दुर्घटना हुने जस्ता जोखिम बढेका छन् । दुवैतर्फ फलामका लठ्ठा तानेर बनाइएको पुलको भुइँमा फलामका पाता राखिएको छ । क्षमताभन्दा बढी भार भएका सवारीका कारण पाता धस्सिएका छन । साँघुरो पुलमा धस्सिएको भागबाटै सवारी गुडाउनुपर्ने बाध्यता रहेको छ ।
गण्डकी प्रदेशको चालु आ.वको बजेट सार्वजनिक लगत्तै सामाजिक सञ्जालमा गण्डकी सरकारको आलोचना भएपछि पर्वतका कांग्रेस नेता अर्जुनप्रसाद जोशीले बाबु अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठानको नामबाट करिब ५ लाख रुपैयाँ खर्चेर पुल मर्मत गरे ।
अमृत जोशी स्मृति पार्कका नाममा समेत प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको आलोचना खेपेका अर्जुनप्रसाद जोशीले उक्त बजेट फिर्ता गर्दै स्मृति कोषकै रकमबाट पुलको मर्मत गरेका थिए । त्यसपछि पनि पुल झनै जोखिमा परेपछि अहिले पुलको मर्मत र पुनर्निर्माणका लागि चौतर्फि चासो बढ्दै गएको छ ।