Logo

सुदूरपश्चिम महोत्सव सुरु

‘पश्चिमसेती निर्माणसँगै सुदूरपश्चिमको समृद्धि’

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका दुई ठूला जलविद्युत आयोजना यथाशीघ्र निर्माण हुने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव बिहीबार उद्घाटन गर्दैै प्रधानमन्त्री देउवाले पश्चिमसेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनीसँंग सम्झौता भइसकेको बताएका हुन् ।

उनले छिट्टै पञ्चेश्वर जलविद्युत आयोजना निर्माणको कामसमेत अगाडि बढ्ने बताए । प्रधानमन्त्री देउवाले भारतीय कम्पनीले नै पश्चिमसेती निर्माण सम्पन्न गर्ने बताउँदै त्यसबाट सुदूरपश्चिमको समृद्धिमा योगदान पुग्ने बताए । कैलाली उद्योग वाणिज्य संघको १५ बुँदे मागसहितको १५ किलोको माला पहिरेका प्रधानमन्त्री देउवाले कैलालीको गौरीफन्टा नाकाको स्तरोन्नतिको विषयमा समेत भारतसँग कुरा गरेर प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले संघले गरेको मागप्रति नेपाल सरकार सकारात्मक रहेको बताउँदै सुदूरपश्चिमका सम्भावनाको पहिचान गरेर विकास गर्नुपर्ने बताए । उनले सरकारले ठूला आयोजना र मझौला आयोजनालाई प्राथमिकता दिएर काम गरिरहेको समेत दाबी गरे । उनले दुवै छिमेकी मुलुकसँग सम्बन्ध जोडिएको प्रदेश भएकाले आर्थिक हबको रूपमा विकास गर्ने सम्भावना रहेको बताउँदै प्रदेश सरकार र स्थानीय सरकारसँग सुदूरपश्चिमको विकासका लागि समन्वय गरेर संघ सरकारले काम गर्ने बताए ।

आयोजक संघले २१ बुँदे मागसहित महोत्सवमा सोही बराबरको माला प्रमुख अतिथिलाई पहि¥याउने गरेकोमा यस पटक १५ किलोको मालासहित १५ बुँदे माग राखेको छ । संघले गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास गरिनुपर्ने, सुदूरपश्चिममा उद्योग स्थापनार्थ १० वर्ष ट्याक्स फ्रि जोन घोषणा गरिनुपर्ने, विशेष औद्योगिक क्षेत्र स्थापना र विशेष औद्योगिक प्योकज घोषणा गरिनुपर्ने माग राखेको छ ।

यसैगरी प्रदर्शनीस्थल निर्माण गरिनुपर्ने, सुदूरपश्चिमलाई चिनसँग जोड्ने नाका खुलाउनु पर्ने, पश्चिमसेती जलविद्युत आयोजना यथाशीघ्र कार्यान्वयन गरी सुदूरपश्चिम प्रदेशलाई लोडसेडिङ मुक्त गरिनुपर्ने, कृषि विश्वविद्यालय स्थापना गरिनुपर्ने, प्रदेश सांस्कृतिक संग्रहालय निर्माण गरिनुपर्ने मागमा उल्लेख गरिएको छ ।

त्यस्तै चिसापानदेखि गड्डा चौकीसम्मको पुराना बजारको जग्गा दर्ता गरिनुपर्ने, सूचना प्रविधि (आईटी) पार्क स्थापना गरिनुपर्ने, जडिबुटी प्रशोधन केन्द्र सञ्चालन गरिनुपर्ने, शीतगृह बनाउनुपर्ने, दुग्ध प्रशोधन सञ्चालन गरिनुपर्ने, चिनी मिल सञ्चालन गरिनुपर्ने, नेपाल टेलिभिजनको प्रशारण केन्द्र स्थापना गरिनुपर्ने, क्षेत्रीय सभा/सम्मेलन गृह सञ्चालन गरिनुपर्ने माग गरेको छ । संघका अध्यक्ष पुष्प कुँवरले सरकारले हालसम्म ६ वटा मागमात्रै पूरा गरेको बताए ।

महोत्सव उद्घाटनमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले व्याजदरले गर्दा व्यवसायी हतोत्साहित हुँदै गएको बताउँदै संघ सरकारले त्यसलाई रोक्नुपर्ने बताए । उनले प्रदेश सरकारले व्यवसायीका लागि गर्ने कार्य गरिरहेको दाबी गर्दै संघको तर्फबाट गर्नुपर्ने कार्य संघ सरकारले तत्काल अगाडि बढाउन जरुरी रहेको बताए ।

उनले सुदूरपश्चिममा लगानी भित्र्याउन केन्द्र सरकारले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिनुपर्ने बताए । उनले व्यवसायका लागि जग्गा उपलब्ध गराउने, ऋणमा सहुलियत दिने, विद्युत व्यवस्था गर्ने कार्यमा केन्द्रले सहयोग गर्नुपर्ने बताए । महोत्सवमा सुदूरपश्चिम प्रदेशका घरेलु उत्पादन, हस्तकला, कृषि, पर्यटन, व्यापार मेला, मनोरञ्जन मेला, परिकारलगायत स्थानीय तथा राष्ट्रिय कलाकारको प्रदर्शनी राखिएको छ । महोत्सव २ पुससम्म सञ्चालन हुने आयोजक संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्