आँखाको विशिष्टिकृत सेवा सुरु

राप्ती आँखा अस्पतालमा पहिलो पटक घोराही–१० का डिल्लीबहादुर डाँगीको आँखाको पर्दामा रगत जमेको शल्यक्रिया भयो । मलेसिया रोजगारीका लागि जानलागेका डाँगीको आँखाको पर्दामा रगत जमेर दृष्टि कम भएका कारण समस्यामा परेको थियो ।
त्यस्तै अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी–१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गर्यो । आँखाको नानीमा फुलो परेको र औषधीले हाल्दा पनि ठिक नभएर फुट्न लागेको अवस्था भएपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएको थियो । त्यस्तै अकुलोप्लाष्टिक तथा (आँखाको क्यान्सर) सम्बन्धी पनि केही समय पहिले आँखाको क्यान्सरको सफल शल्यक्रिया भयो ।
अस्पतालमा बाल नेत्ररोग विशेज्ञद्धारा डेढो आँखाको उपचार तथा शल्यक्रीया, अल्छी आँखाको जाँच तथा उपचार, बालबालिको आँखाको दृष्टि दोषको चेकजाँच उपचार र बालबालीको मोतियाविन्दुको बल्यक्रिया तथा न्यून दृष्टिसम्बन्धी चेकजाँच तथा परामर्श सेवा गरि ४ वटा विशिष्टकृत डाक्टरद्वारा विशेषज्ञ सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको आयोजना तथा एनएवीपी नर्वेको सहयोगमा सञ्चालन भएको अस्पतालले घर आगन मै आँखासम्बन्धी विशिष्टकृत सेवा सुरु भएसँगै यहीबाट सबै सेवा प्रवाह गरेको अस्पतालमा मेसु डा. सन्तोष सुवेदीले जानकारी दिए ।
राप्ती आँखा अस्पतालमा विशिष्टकृत डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सुरु गरेसँगै आँखाको पर्दासम्बन्धी विभिन्न प्रकारका शल्यक्रिया सेवा सुरु गरिएको बताए । अस्पतालले भेट्रेकटोमी शल्यक्रियामार्फत आँखाको पर्दासम्बन्धी जटिल शल्यक्रिया नियमित रूपमा सञ्चालन भइरहेको, आँखाको पर्दाका मधुमेह, उच्चरक्तचाप र शरीरका कुनै पनि रोगहरूले गर्दा आँखाको पर्दामा गरेका असरको पूरा जाँच र आधुनिकस्तरको शल्यक्रियासहितका उपचार सेवा दिइरहेको मेसु सुवेदीले जानकारी दिए ।
त्यस्तै अस्पतालमा आँखाको पर्दाको विभिन्न प्रकारका लेजर प्रविधिद्वारा उपचार, आँखाको पर्दामा भएका आँखाका समस्या इन्जेक्सनमार्फत आँखाभित्रै औषधि दिने व्यवस्था, फाटेको पर्दा जोड्ने शल्यक्रिया, आँखाभित्र तेल राख्ने र निकाल्ने उपचार, पर्दाको प्वाल पर्दामा लागेको जालीको शल्यक्रिया, आँखाभित्र जमेको रगत निकाल्ने शल्यक्रिया सेवासमेत यहींबाट दिन सुरु गरेको डा. सुवेदीले बताए ।
अस्पतालले अकुलोप्लाष्ट्रिक तथा आँखाको क्यान्सरको शल्यक्रियादेखि आँखाको नानीको प्रत्यारोपन सेवासमेत प्रदान गरेको थियो । रेटिना कोर्निण तथा अन्य विशिष्टकृत सेवासम्बन्धी विभिन्न उपचार तथा शल्यक्रिया सेवा दाङमै सुरु भएको भन्दै अब विरामीलाई जिल्लाबाहिर जानुपर्ने बाध्यता नहुने सुवेदीको भनाइ छ ।
रेटिना तथा पर्दाका बिरामी जिल्लाबाहिर गएर लामो समयसम्म आँखाको शल्यक्रियाका लागि पर्खनुपर्ने बाध्यता हटेको उनले बताए । “हामीहरूले विशेषज्ञ सेवा त्यो पनि रेटिना अकुलोप्लाष्ट्रिक र कोर्निया (आँखाको नानी) र बाल नेत्ररोगसम्बन्धी शल्यक्रिया र उपचार सेवा सुरु गरेका छौं,” उनले भने, “यसअघि यो सेवा लिन बिरामीहरू जिल्लाबाहिर जानुपर्ने र खर्च पनि धेरै लाग्ने गरेको थियो अब भने हामीले यहीं शल्यक्रिया र उपचार सेवा दिन थालेका छौं यसले बिरामीलाई पनि निकै राहत मिल्ने छ,” डा. सुवेदीले भने ।
त्यस्तै अस्पतालका अकुलोप्लाष्टिक विशेषज्ञ डा. सुरेश रसाइलीको टिमले पहिलो पटक केही महिनाअघि आँखाको क्यान्सरको सफल शल्यक्रिया गरेका थिए भने कर्निया विशेषज्ञ डा. ज्योति सापकोटाले करिब २२ जनाको आँखाको नानीको प्रत्यारोपण गरेकी थिइन् । पछिल्लो समयमा राप्ती आँखा अस्पतालमा विशेषज्ञ सेवा लिने बिरामीको संख्या बढदै गएको छ ।
यसअघि यो सेवा यहाँ नहुँदा विरामीहरू जिल्लाबाहिर जानुपर्ने अवस्था भए पनि अब सबै सेवा यहीबाट सुरु गरेको नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले बताए । “रेटिना कर्निया र अकुलोप्लाष्ट्रिक र बाल नेत्ररोगसम्बन्धी सेवा लिनेहरूको संख्या दिनप्रतिदिन बढदै गएको छ, यो यस क्षेत्रका जनता र हाम्रो लागि पनि खुसीको कुरा हो यहीं सबै सेवा पाउन सफल हुनु भएको छ,” खड्काले भने ।
उनले पछिल्लो समयमा अस्पतालले विभिन्न मेसिन औजार खरिदसँंगै शल्यक्रिया सुरु गर्नुका साथै विभिन्न निकायको सहयोगबाट भौतिक निर्माण पनि भएको उनले बताए । त्यस्तै प्रशासनिक समितिका संयोजक चिरञ्जीवी रिजालले अस्पतालले उपचार सेवा तथा विभिन्न सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको बताए ।
अस्पतालका प्रशासक किरण पौडेलले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थापना कालदेखि हालसम्म १० लाख बढीको आँखा उपचार सेवा र ३२ हजार बढीको शल्यक्रिया सेवा दिएको बताए । उनले आँखासँंगै कान सेवा पनि दिएको बताएका थिए ।