बाँकेका चार सोरुम बन्द

बाँकेमा ७ अर्ब भन्दा बढी लगानी अटोमोवाइल व्यवसायमा भएपनि पछिल्लो समय व्याजदर बृद्धिलगायत विभिन्न कारणले सवारीसाधनका सोरुम बन्द हुन थालेका छन् । पश्चिम तराईको आर्थिक केन्द्रको रुपमा विकसित हुँदै गएको बाँकेको नेपालगञ्जमा अटोमोवाइल व्यवसायको राम्रो सम्भावना भएपनि संकटमा पर्दै गएको व्यवसायीको गुनासो छ ।
बाँके अटोमोबाइल डिलर्स एसोसिएसनका सदस्य विवेक श्रेष्ठले सरकारको पछिल्लो नीतिका कारण व्यवसाय धरापमा परेको बताए । लामो समयदेखि सवारीसाधन आयात प्रतिबन्ध, तरलता संकट, ब्याजदर वृद्धिलगायतका कारणले कारोबार नहुँदा बाँकेमा चार वटा सवारीसाधनका सोरुम बन्द भइसकेको उनको भनाइ छ ।
“चार सोरुम बन्द हुनुका साथै यो व्यवसायमा काम गर्ने धेरैले रोजगारी गुमाईसकेका छन्” उनले भने, “सञ्चालन खर्चसमेत धेरै हुँदा बढेको बैंक ब्याजलगायत कारणले व्यवसायी पलायन हुने अवस्थामा छन् ।” अटोमोवाइल व्यवसायीको झण्डै ७ अर्ब लगानी जोखिममा परेको बाँके अटोमोबाइल डिलर्स एशोसिएसनले जनाएको छ ।
विगतमा ७ प्रतिशत व्याजदर तिर्नेगरी कर्जा लिएका व्यवसायीले अहिले १८ प्रतिशतसम्म तिर्नुपर्ने अवस्था आएकाले आन्दोलनमा उत्रिनु परेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ । अब बन्ने सरकारले व्यवसायीका माग सम्बोधन गर्ने आशा राखेको बताउँदै उनले माग पूरा नभए तालाचाबी सरकारलाई बुझाएर आन्दोलनमा उत्रिने चेतावनी दिए ।